समाजका कुरूपतामाथिको घोत्लाइ : अनुभूतिको अवतरण

हाम्रो परिवेशमा जीवन्त देखिन्छन् रञ्जनाका निबन्धहरू । लाग्छ रञ्जना समाज र समाज वरिपरिका बेथितिमा घोत्लिरहेकी छिन् । आफू बाँचेको समाजप्रति चिन्तन र चिन्ता गर्नुलाई निबन्धकारले आफ्नो धर्म मानेकी छिन् । कतै कतै गन्थन अलिक बेसी हो कि जस्तो भान पर्न सक्छ । तर असंगत समाज, असंगत राजनीति, असंगत संस्कार र संस्कृतिप्रति विनाहिचकिचाहट विद्रोह ओकल्न सक्नु निबन्धकारको खुबी लाग्छ । आफ्ना विचार र भावलाई कलात्मक रूपले अभिव्यक्त गर्न सक्ने उनको निबन्धकारिता हो । यसमा समावेश निबन्धहरूले भावनात्मक र विचारात्मक दुवै पक्ष समेटेको देखिन्छ

प्रदीप सापकोटा

नेपाली निबन्धको इतिहास करिब साढे दुई सय वर्ष पुरानो छ । आफूले भोगेको, देखेको वा आफ्ना मनमा लागेका कुरा शब्दहरूको मिठासपूर्ण विन्यासबाट अभिव्यक्त गर्ने निबन्ध विधामा मनसँग जोडिएका कुराहरूको मनैदेखि अभिव्यक्ति दिँदा आत्मपरक निबन्ध जन्मिदा रहेछन् । कुनै पनि श्रष्टाको आफ्नो अनुभूतिको प्रकटीकरणले मीठा मीठा निबन्धको रूप धारण गर्दाेरहेछ । आत्मपरक निबन्धमा आफ्नो सिर्जनामार्फत निबन्धकार प्रकट हुन्छ । व्यक्तिका समाजका विभिन्न तहमा उपस्थिति र तिनमा रहेको निकटताबाट हुने अनुभूतिहरू जब अक्षरको माध्यमबाट सम्प्रेषण गरिन्छ त्यतिबेला राम्रो निबन्ध आउँछ भन्ने उदाहरण हो ‘अनुभूतिको अवतरण’ । जब निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ । यस्तै छन् रञ्जनाका निबन्धहरू ।

आत्मपरक निबन्धको जगमा उभिएको मैले पढेको पछिल्लो कृति ‘अनुभूतिको अवतरण’ निबन्ध संग्रहमा विषयगत विविधताका निबन्धहरू परेका छन् । २०५४ देखि २०७७ सालको समयभित्र सिर्जना भएका, प्रथमपुरुषशैली वा दृष्टिबिन्दुमा लेखिएका निबन्धकार रञ्जना पौडेलका १५ वटा निबन्धहरूको माला ‘अनुभूतिको अवतरण’ हो । यसमा निबन्धकारका भावात्मक अनुभूतिहरू लछप्पै भिजिएका देखिन्छन् । आत्मपरकता तथा स्वानुभूतिको अत्यन्तै आत्मप्रस्फुटनले भरिएका निबन्धहरू साँच्चै पठनीय लाग्छन् । मनका कल्पनाका विविध रङहरूमा रंगिएका निबन्धहरू सुन्दर लाग्छन् । रञ्जनाका मनका उत्ताल तरंगहरूले तरंगित भएर कवितात्मक भावमा बहेका निबन्धहरूमा मीठासपूर्ण बिम्बप्रयुक्त गरिएको पाइन्छ । कुनै कुनै निबन्धमा उनका विचारहरू पनि बडो गजबले प्रस्तुत भएका छन् । कोमल हृदयबाट उब्जिएको कोमलता, भावुकता र संवेदनशीलतासमेत निबन्धहरूमा देख्न पाइन्छन् । यस कृतिमा स्वतन्त्र र निर्वाध रूपमा तर कवितात्मक भावमा उस्तै कलात्मक भाषाशैलीमा निबन्धकार प्रस्तुत भएकी छिन् । सुस्वादु शब्दचयन, सरल भाषाका अक्षरहरू कुँदेर बनाइएका निबन्धहरूले निश्चय नै पाठकको मन जित्न सक्नेछन् । उस्तै खँदिला छन् र सबल छन् । यसैले त उनको निबन्धकारिता राम्रो देखिएको छ ।

पहिलो निबन्ध शिरीषसँग शब्द–संवादमा वरिष्ठ साहित्यकार पारिजातको ‘शिरीषको फूल’ पढेर पुलकित भएकी निबन्धकार पारिजातलाई सशरीर भेट्न नपाएको दुःखेसो गर्छिन् । फूलको काम फुलिदिने र सुवास छरिदिने हो । दुःखेसो र गुनासो गर्ने होइन । सबै मौसम फूलको लागि प्यारो हुन्छ । पारिजातको कृति ‘शिरीषको फूल’ निबन्धकारभन्दा जेठो छ । तर प्यारो छ । उनी फूलसँगै रमाउँछिन् । फूलका सौन्दर्यभित्रको कामूकता चर्चा गर्छिन् । पारिजातको सकम्बरीको प्रेमले जसरी सुयोगवीरलाई छुन्छ त्यसरी नै सुयोगवीरको कामुकताले कसैलाई छोएको छ । मन लागेको कुरा गर्नैपर्ने कुरामा निबन्धकारले जोड दिएकी छिन् । पारिजातको उपन्यासलाई कालजयीको संज्ञा दिएकी रञ्जनाले पितृसत्तामा महिलाको विवशतासमेत चर्चा गरेकी छिन् ।

फेसबुकका प्रणेता मार्क जुकरबर्गसँग जोडिएको छ निबन्ध ‘फेसबुकमा सम्मोहित समय’ । विज्ञानका अनेकानेन आविष्कार र तिनको समुचित प्रयोग नै वर्तमान समयको यथार्थ हो । पुरानो पात झर्दै जाने नयाँ पालुवा हाल्दै जाने, पुराना कुरा विस्थापित हुँदै जाने नयाँ नयाँ खोज अनुसन्धानले नविन कुरा स्थापित हुँदै जाने दुनियाँको साश्वत सत्य हो भन्ने लाग्छ रञ्जनालाई । रोबर्ट ओपनले गरेको परमाणु बमको आविष्कार होस् या ब्लाइस पास्कलको बसको आविष्कार, मार्टिन कुपरको मोबाइल नै किन नहोस् । या त राइट दाजुभाइको प्लेन, अलेक्ज्यान्डर ग्राहामबेलको टेलिफोन अथवा भनौँ गुगलका आविष्कारकद्वय लारी पेज र सर्जे ब्रेइनको आविष्कार होस् । यी आविष्कारकहरूसहित अरू थुपैै्र आविष्कारहरूले मान्छेको वर्तमान जिन्दगीलाई सहज बनाउन विभिन्न आविष्कारहरू गरेका छन् । यसैको पछिल्लो कडी हो फेसबुक । यदि यी आविष्कार नभएका भए आजको मान्छे के गथ्र्याे होला ? उनी आफैँलाई प्रश्न गर्छिन् र उत्तर पनि दिन्छिन् । घरपरिवार सबै फेसबुकमा रमाएको देख्दा उनी धन्यवाद दिन्छिन् जुकरबर्गलाई । फेसबुकले सूचनाको दुनियाँमा नविन क्रान्ति भएको छ । सबै कुरा जीवनउपयोगी हुने प्रकारले प्रयोग गर्न उनको सुझाव छ न कि लत बनोस् । जीवनलाई जीवनजस्तै सुन्दर बनाउन सुन्दर भावहरू आउन पर्छ भन्ने धारणा छ ।

क्यालेन्डर झैँ फेरिएका गतिशील संसारका राम्रा नराम्रा परिवर्तन र तिनले निबन्धकारको मनमा उद्देलित भएका भावहरूले भरिएको निबन्ध हो, ‘छिँँडीभरिको संसारबाट’ । विनासकारी भूकम्प, बाढीपहिरो लगायतका प्रकोपहरू तथा कोरोना कहरबाट हामी बाँचेको सभ्यता नै संकटमा पर्दैछ भन्ने संकेतप्रति यो निबन्ध लक्षित छ । ऋतु फेरिँदा समय नै रोकिएको अनुभूति उनमा छ । एकैठाउँमा थुप्रिनु पर्दा एकप्रकारको मानसिक गुम्साइको अनुभव गरेकी निबन्धकार विज्ञानले प्रकृतिलाई चुनौती दिन नसक्ने ठोकुवा गर्छिन् । मान्छेले गरेका गल्तीहरू, प्रकृतिमाथिको बलात्कार, दोहन र प्रदूषणको कारण पृथ्वीसमेत निसास्सिइसकेको सभ्यता बिरामी परेकोमा निबन्धकारलाई चिन्ता लागेको छ ।

विगतको १० वर्षे सशस्त्र द्वन्द्वको चर्चा छ ‘बंकरमाथि उभिएको मन’ मा । रोल्पा वीभत्स युद्ध, त्रासदीपूर्ण वातावरण, त्यतिवेलाको क्रान्ति र तिनका नायक अनि तिनका विचार । साहित्यिक कार्यक्रमको सन्दर्भमा पछि रोल्पा जाने अवसर मिल्दा निबन्धकारका मनमा उब्जिएको त्यो जिल्ला प्रतिको भाव, कुतूहलता, त्यहाँ पाइएको न्यानो स्वागत सत्कार आदिको चर्चा यहाँ गरिएको छ । क्रान्तिले परिवर्तन ल्याएको भनिए पनि त्यो स्थान अझै त्यस्तै ओझलमा नमीठो पीडा बोकेर बाँचिरहेको देखेर निबन्धकारको मन दुख्छ । उतिबेलाको युद्धले पारेका असरको छाप होलेरीवासीहरूमा ताजै देख्दा उनी लालीगुराँस हेर्दै मुस्कुराउने असफल प्रयास गर्छिन् । युद्धमा काख गुमाएका प्रतिनिधिमूलक पात्र मंगलेबाको आँखाहरू कहिल्यै ओभानो नभएको पीडा, सैयौँको संख्यामा शाहादत प्राप्त गरेका परिवारका व्यथा, बेपत्ता परिवारका सन्त्रास र आशावादिता, एकल महिलाहरूका उजाड सिउँदो, टुहुरा बालबालिकाका दुरावस्था यी देखेर बेचैन भएकी छन् निबन्धकार । प्राकृतिक सौन्दर्यले धनी रोल्पाको भौतिक समृद्धिको कामना गर्दै युद्धमा देखिने रंग र गुराँसको रंग एकै हुँदा आँखामा त्यहाँका सबै दृष्य मनले खिचेर फर्किएकी रञ्जनाको मनोदशा छ यहाँ ।

चार्वाकको भौतिकवादी दर्शन मनपराउने निबन्धकारलाई आफ्नाको मृत्युमा भने असाध्यै दुख्छ । हाम्रो संस्कारमा रहेका केही प्रचलनहरूमा उनको विमति मात्र होइन आक्रोश पनि छ । उनी भन्छिन्, ‘कति कुरुप छ हाम्रो संस्कार ? कति निर्दयी पनि ? दुखिरहेकालाई अझ चिमोट्ने । तिम्रा थाकेका आँखा र खुइँखुइँमा निस्केका अशक्तताले चिमोटिरह्यो मलाई ।’ मरण परेर किरियामा बसेको स्थानमा भेट्न जाँदाका अनुभूतिहरू यो निबन्धमा देखिन्छ । माया गर्नुपर्ने, हामी सबै छौँ हिम्मत नहार भनेर काखमा राखेर सुम्सुम्याउनुपर्नेमा उल्टो शोकमा परेकालाई छुन नहुने रे ! नारी हुनुको कारण समाजले हुर्मत काडेको निबन्धकारको बुझाइ यहाँ छताछुल्ल भएको छ । उनको ठम्याइ छ भोगाइ र जीवनको दार्शनिक परिभाषा र जैविक परिभाषा अलग कुरा हुन् । निबन्ध संस्कृति भित्रका विकृति र संगतिहीनतालाई उजागर गर्न सक्षम देखिएको छ ।

पुरुषको विकृत मानसिकताले कलिलैमा निमोठ्ने बालिकाको पक्षमा उनको मनको अन्तष्करणको आवाज हो ‘आर्तनाद’ निबन्ध । यसमा आर्तनाद ढंगले बलात्कार भएका निर्मलाजस्ता बालबालिकाको विक्षिप्त मानसिक अवस्थाको बारेमा बोल्ने यत्न गरेकी छिन् । छोरीहरूको असुरक्षा बढ्दै गएकोमा उनको मन गाँठिएको छ । मन नै घबराउने छ यो निबन्ध । यौन विकृत मानसिकताको उपचारको खोजीबारे प्रश्न उठाइएको छ यहाँ ।

जीवनका भोगाइ, यात्रामा कसैसँगको भेट, मायाको प्राप्तिमा हुने असहजतासँग जुझ्दाका मज्जा, जीवन जीउन माया हुँदाको सहजता, सम्बन्धको आलोकजस्ता भावनाहरू उनको मनको गहिराइबाट अभिव्यक्त भएका छन् । आफ्नो प्रेमको स्मृतिमा बस्दा जस्तै परिस्थितिमा पनि हाँसेर जीउन सकिने ठोकुवा गरेकी छिन् । प्रेम र समर्पण भावलाई ह्रदयको केन्द्रमा राखेर बसेकी एउटा प्रेमिकाको रूपमा बसेको कुरालाई ‘अनुरागको अंकुर’मा प्रष्फुटित भएकी देखिन्छिन् रञ्जना ।

आफ्नो कोही मृत्युबाट जुध्न अस्पतालको बेडमा छट्पटाइरहँदा के अवस्था हुन्छ त्यही कुराको चित्रण गरिएको छ ‘प्रार्थना’मा । दिदीको मायामा बर्खाको बेलाको साउन आँखामा पनि उर्लेको छ । जहिल्यै अरूलाई हँसाउन उद्दत दिदीको परिस्थिति देख्दा दिदीको आयु लम्बियोस् भनेर गरिएका कामनाहरूका शब्दहरू परेका छन् निबन्धमा । ‘अन्त्यारम्भ’ मा आमा र आफ्नो देश उस्तै प्रिय र सुन्दर हुने कुरामा जोड दिइएको छ । सपनाजस्तै सुन्दर छ नेपाल भनिएको छ । उनकै शब्दमा, ‘सौन्दर्यको आँखामा कलाकृतिको गाजल लगाएर मुस्कुराइरहेको मेरो देशको ओठबाट शान्तिकै मुस्कान मात्रै पोखिन्छ । वीरताकै गाथा गुञ्जिन्छन् । यसतो अद्वितीय सुन्दरतालाई विश्वले हे¥यो, चर्चा ग¥यो, लोभ ग¥यो ।’ यति सुन्दर देश अहिले बेथिति र विडम्बनामा रोइरहेछ । २०७२ सालको भूकम्पले दिएको असर र पारेको क्षतिको सन्दर्भमा यो निबन्ध लेखिएको छ ।

मातृत्व ममताको अनुभूतिले लछप्पै भिजाएर छोरीप्रतिको समर्पित भावमा लेखिएको निबन्ध ‘स्नेहको अभिलाषा’ हो । यसमा आमाको मातृत्व सुखबाट पूर्ण भएकी आमाको हृदयको स्पन्दन पोखिएको छ । छोरीलाई सकारात्मक पथमा हिँड्न सुझाइएको छ । कोशिस गरे सब कुरा सम्भव छ भनेर जीवनको सुन्दरतालाई संघर्षमा लगाउन उत्प्रेरित गर्ने यो सुन्दर निबन्ध हो । अर्काे निबन्ध ‘सर्वविद्याको राजधानीमा म’ मा आस्था, पवित्रता, ज्ञान र धर्मको केन्द्र्र काशी पुगेको कुराको स्मरण गरिएको छ । ज्ञानका लागि काशी जानु भनेर पूर्वजले भने अनुसार गल्ली नै गल्लीको ठाउँ, मन्दिरै मन्दिरको ठाउँ बनारस र काशीको यथार्थपरक वर्णन गरिएको छ । यहाँ बनारस सहरले धर्मलाई व्यापार बनाएको महसुस गरेकी रञ्जनाले कासीले हिन्दूधर्मको महिमाको स्वस्थ्य वासना दुनियाँमा छोडेको निष्कर्ष दिएकी छिन् ।

‘प्रेमको शिविरबाट’मा जीवनमा प्रेमको महत्व दर्शाउने वृन्दावन, दुःखीले भजे दुःखी बन्ने, सुखीले भजे सुखी बन्ने, सबैलाई सुखको अनुपम महत्व सिकाउने कृष्णको महिमाको कुरा छ यहाँ । भक्तिका तीन आधार सगुण, निर्गुण र पराको चर्चा छ यहाँ । यथार्थका पीडाहरू भुलेर बैरागिएको मनलाई सान्त्वना दिन अध्यात्मको संसारले सुगन्ध फैलाएको कुरा गरेको छ । दिव्य र अखण्ड मीठासका कृष्णको राधाको रूपमा निबन्धकारले आफूलाई कल्पिएकीजस्तो लाग्छ ।

‘विरोधाभासी चिन्तन’ कथाजस्तो लाग्छ । नियात्राजस्तो लाग्छ । दुबई यात्राका अनुभूतिमय कुराहरू यसमा छन् । यात्रामा भेटिएकाहरूसँगको साक्षात्कार छ यहाँ । यात्राका सुखद् र नीरसलाग्दा पलहरूको रमाइलो वर्णन छ । जीवनमा आउने विभिन्न कल्पना र यथार्थहरू, ऋतुजस्तै परिवर्तन भइरहने जिन्दगीका आरोह अवरोहहरू, जिन्दगीका सुखद् दिनहरूप्रति मान्छेले गर्ने आशावादिता अझै भनौँ जीवनको सकारात्मक सोच र चिन्तन, आशा र अपेक्षाको प्रतिक्षामा मान्छे सदैव बाँच्छ भन्ने भावको मीठो प्रस्तुति हो ‘कुमारी स्वप्न’ ।

सिद्धान्तको सुगा रटानमा जनताको आशामा तुषारापात गरेका नेताहरूप्रति लक्षित छ, ‘आस्थाको भ्रष्टीकरण’ । आम भुइँमान्छेलाई समृद्धिका गुलिया सपना देखाएर सत्तामा पुगेपछि त्यही सपनामा कालो पोत्ने वर्तमान राजनीतिक नेतृत्वप्रति निबन्धले ब्यंग गरेको छ । क्रान्तिकारी नेतृत्वमा आएको स्खलन, भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेतृत्व, देशको राजनीतिक दुर्दशा र यसले आमजनतामा पारेको असरलाई ऐना जस्तै छर्लंग पारिएको छ ।

वैयक्तिक अनुभूतिको इमानदार अभिव्यक्ति लाग्छन् निबन्धहरू । समकालीन नेपाली समाजका सबैजसोले भोग्ने, अनुभूत गर्ने कुराहरूको यथार्थहरूलाई निबन्धहरूले प्रतिबिम्बित गरेका छन् । निजात्मक अनुभूतिलाई प्रभावशाली वाक्यबनोटद्वारा आमनेपाली जनजीवनका भोगाइहरू र यिनका विविध पाटा र पक्षहरूलाई उजागर गर्नसक्ने सामथ्र्य निबन्धका विशेषता लाग्छन् । मलाई लाग्छ देवकोटीय निबन्धको प्रभाव रञ्जनामा मज्जैले देख्न सकिन्छ ।
हरेक निबन्धको थालनी एक हरफ कवितात्मक भावबाट गरिएको छ । छोटा तर सान्दर्भिक शीर्षक चयन, मझौला आकारका निबन्धहरू यसमा छन् । मीठासयुक्त बिम्बविविधाहरूले कविताको झल्को दिने निबन्धहरू छन् । पाठकका हृदयका संवेदनशीलतालाई मर्मस्पर्शी ढंगले निबन्धहरूले छुन सक्छन् ।

हाम्रो परिवेशमा जीवन्त देखिन्छन् रञ्जनाका निबन्धहरू । लाग्छ रञ्जना समाज र समाज वरिपरिका बेथितिमा घोत्लिरहेकी छिन् । आफू बाँचेको समाजप्रति चिन्तन र चिन्ता गर्नुलाई निबन्धकारले आफ्नो धर्म मानेकी छिन् । कतै कतै गन्थन अलिक बेसी हो कि जस्तो भान पर्न सक्छ । तर असंगत समाज, असंगत राजनीति, असंगत संस्कार र संस्कृतिप्रति विनाहिचकिचाहट विद्रोह ओकल्न सक्नु निबन्धकारको खुबी लाग्छ । आफ्ना विचार र भावलाई कलात्मक रूपले अभिव्यक्त गर्न सक्ने उनको निबन्धकारिता हो । यसमा समावेश निबन्धहरूले भावनात्मक र विचारात्मक दुवै पक्ष समेटेको देखिन्छ । निबन्धमा कल्पनाशीलताको मनोरम भावहरू मज्जैले आएका छन् । समयका कुरूपताहरूलाई निबन्धमार्फत चिर्न सफल निबन्धकार रञ्जना निरौलालाई हार्दिक बधाई ।

प्रतिक्रिया