निर्मल लामाको संस्मरणको आलोकमा रोज राणा प्रकरण

नेपाली कांग्रेसमा गाईजात्रा :

विन्दुकान्त घिमिरे

लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका सांसद २७ जना छन् । जसमध्ये डिल्लीबहादुर चौधरी मुख्य मन्त्री छन् । राजु खनाल यसअघि नै मन्त्री थिए । गत शनिबार भएको मन्त्रिपरिषद्को बिस्तारमा मुख्यमन्त्री चौधरीले आफ्नो पार्टीका सांसद सरोज थापा (रोज राणा)लाई वाणिज्य तथा आपूर्ति मन्त्री बनाए । नेपाली कांग्रेसबाट मन्त्री पदका आकांक्षी को को थिए ? मुख्यमन्त्री चौधरीको रोजाइमा रोज राणा नै किन परे ? भन्ने कुरा बुझ्न जटिल छैन । किनकी यतिबेला नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हुन् । मुख्यमन्त्री चौधरी र सांसद रोज राणा सभापति देउवाका अत्यन्त निकट सहयोगी हुन् । रोज राणालाई मन्त्री बनाइएकोमा नेपाली कांग्रेसको इतर पक्ष सन्तुष्ट नहुनु स्वभाविकै हो । मन्त्री पदका अन्य आकांक्षीहरूको पनि चित्त दुख्नु स्वभाविकै हो । तर यही प्रकरणलाई लिएर नेपाली कांग्रेसको इतर पक्षले जनाएको विरोधको शैली सामान्य छैन ।

रोज राणा मन्त्री बनेका होइनन्, बनाइएका हुन् । राजनीतिमा लागेपछि मन्त्री बन्ने चाहना सबैलाई हुन्छ । मन्त्री बन्ने जमर्को पनि सबैले गर्छन् । रोज राणाको यही जमर्कोलाई मुख्यमन्त्री चौधरी र सभापति देउवाले अनुमोदन गरेका हुन् । तर नेपाली कांग्रेसको इतर पक्षका केही नेताहरू मुख्यमन्त्री चौधरी तथा सभापति देउवाप्रति होइन नवनियुक्त मन्त्री राणामाथि जाइलागेको देखियो । राणा मन्त्री बन्नका लागि योग्य थिएनन् भन्ने ढंगबाट गरिएको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापासमेत संलग्न रहेको समाचार मिडियामा आएका छन् । सात वटा प्रदेशमध्ये एएटा प्रदेशमा एक जना मन्त्री नियुक्त हुनु भनेको राष्ट्रिय चर्चाको विषय कत्ति पनि होइन । तर कांग्रेस महामन्त्री गगन थापाको असन्तुष्टिका कारण पनि रोज राणा मन्त्री बनाइएको प्रकरण यति धेरै विवादमा आएको धेरैले ठानेका छन् । किनकी गगन थापालाई कांग्रेसको भावि सभापति तथा भावि प्रधानमन्त्रीका रूपमा देख्नेहरूको संख्या नेपाली कांग्रेसमा मात्रै होइन बाहिर पनि निकै ठूलो छ । त्यसैले गगन थापाको असन्तुष्टिका कारण रोज राणा मन्त्री बन्न लायक रहेनछन् कि ? भन्ने लाग्नु स्वभाविकै हो । किनकी कागले कान लग्यो भन्ने हल्ला सुन्नासाथ आफ्नो कान छाम्नतिर लाग्नुभन्दा कागको पछि दौडनेहरूको जमात नेपालमा अहिले पनि छ । रोज राणा प्रकरणले यो कथनलाई थप उजागर गरेको छ ।

को हुन् रोज राणा ?

मन्त्री बन्नुभन्दा केही मिनेट अघिसम्मको रोज राणाको परिचय भनेको सांसद हो । पहिलो कुरा त कुनै पनि सांसद मन्त्री बन्नका लागि योग्य हुन्छ । अर्थात जो सांसद बन्न योग्य हुन्छ, उही मन्त्री बन्छ । रोज राणा जननिर्वाचित सांसद हुन्, समानुपातिक कोटामा ल्याइएका होइनन् । यसैगरी रोज राणालाई नेपाली कांग्रेसले टीका लगाएर दक्षिणा स्वरूप प्युठान जिल्ला क्षेत्र नं ‘ख’ बाट टिकट दिएको होइन । उमेर कम भए पनि रोज राणाको नेपाली कांग्रेसमा लामो लगानी छ । ४१ वर्षीय राणा नेपाली कांग्रेसमा विगत २६ वर्षदेखि क्रियाशील छन् । नेविसंघमा सक्रीय भएका राणालाई २०५४ सालमा क्रियाशील सदस्यता दिएको हो । तर उनी जान्ने बुझ्ने उमेरदेखि नै नेपाली कांग्रेसमा सक्रीय भएका हुन् । किनकी उनका बाजेले नेपाली कांग्रेसको तर्फबाट २००७ सालको क्रान्तिमा बन्दुक बोकेका थिए । उनका बाबु खड्गबहादुर थापा ट्रेड युनियन कांग्रेस प्युठानको संस्थापक अध्यक्ष हुन् ।

रोज राणा स्वयं नेपाली कांग्रेसको महासमिति सदस्य हुन्, त्यो पनि दोस्रो कार्यकालका लागि । यसैगरी उनी प्युठान क्षेत्र नं ‘ख’ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुन् । यसअघि पनि उनी क्षेत्रीय सभापति थिए । लगातार दुई कार्यकाल क्षेत्रीय सभापति भएको, लगातार दुई कार्यकाल महासमिति सदस्य भएको युवालाई प्रदेशसभा सदस्यका लागि उम्मेद्वार बनाउनु भनेको अरूमाथि अन्याय गर्नु होइन । त्यसमाथि पनि राजनीतिभन्दा बाहिरको फिल्मी क्षेत्रमा योगदान पु¥याएका कारण राष्ट्रिय चर्चा बटुलेका युवा हुन् रोज राणा । नेपालको फिल्मी क्षेत्रका १० जना हस्तीहरूको नाम लिनुपर्दा रोज राणाको नाम छुट्दैन, त्यो पनि यति सानो उमेरमा । फिल्म निर्माण तथा निर्देशन गरी २० वर्षको उमेरमै राष्ट्रिय पुरस्कारसमेत पाएका युवा हुन् रोज राणा । उनी अब्बल प्रतिभा भएका युवा हुन् भन्ने कुरा स्वयंसिद्ध छ ।

नेपाली कांग्रेस भनेको संघर्षले खारिएका र पढेलेखेका विद्वानहरूले भरिएको पार्टी हो । मुख्यमन्त्री, मन्त्री र सचेतकबाहेक लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका बाँकी २४ जना सांसदमध्ये रोज राणाभन्दा सिनियर अरू सांसद पनि थिए होलान्, मन्त्री पदका लागि विषयबस्तुमा उनीभन्दा काविल अरू सांसद पनि थिए होलान्, किनकी नेपाली कांग्रेस भनेको अहिलेसम्मको सबैभन्दा रोज्जाको पार्टी हो । तर रोजाइमा रोज राणा पर्नु अरू माथिको अन्याय हो कि होइन ? भन्ने प्रश्नको उत्तर भने नेपाली कांग्रेसको ठूलो पार्टी पंक्तिलाई समेत थाहा नहुन सक्छ । किनकी महामन्त्री गगन थापासमेत यस मामिलामा अन्योलमा परेको देखियो ।

नेपाली कांग्रेसका जो जो नेता तथा कार्यकताले प्युठान जिल्लाको नेपाली कांग्रेसको इतिहास तथा मूर्धन्य कम्युनिस्ट नेताहरू निर्मल लामा र मोहन विक्रम सिंहको पृष्ठभूमि बुझेका छैनन्, उनीहरूका लागि रोज राणालाई मन्त्री बनाइनु कांग्रेस सभापति देउवा र मुख्यमन्त्री चौधरीको अर्गेल्याइँ हो कि ? जस्तो लाग्नु स्वभाविकै हो ।

आफ्नो पृष्ठभूमि आफैँले उल्लेख गर्दै निर्मल लामाले यस पंक्तिकारसँगको कुराकानीमा ( २०५४ भदौ ७ गते प्रकाशित तरुण सप्ताहिक) भनेका छन्, ‘२००७ सालको जनक्रान्ति सम्पन्न भएपछि मलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्यमन्त्री बनाइयो । कांग्रेसमा आवद्ध भएर क्रान्तिमा भाग लिए पनि मेरो झुकाव कम्युनिस्ट दर्शनप्रति थियो, नेपालमा कम्युनिस्ट शासन व्यवस्था आवश्यक छ भन्ने ठहर मैले गरिसकेको थिएँ । तर कांग्रेस छाड्ने मेसो मिलिरहेको थिएन । कांग्रेसका केही साथीहरूसहित कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने योजना बनाएको थिएँ । त्यतिबेला कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला थिए । आफ्नो योजनाअनुसार सभापति कोइरालाका छोरा कमल कोइराला लगायतलाई कम्युनिस्ट बनाइसकेको थिएँ ।
त्यसै बेला प्युठानमा प्रतिक्रान्ति भयो । राजनीति पनि मिसिएका कारण प्रतिक्रान्तिलाई नियन्त्रणमा ल्याउन अरूको ताकत पुग्दैन भन्दै बिपी कोइरालाले मलाई नै बडाहाकिम बनाएर प्युठान पठाउनुभयो । त्यही मौकामा मैले प्युठानका धेरै कांग्रेस नेता तथा कार्यकर्तालाई कम्युनिस्ट बनाएँ । कांग्रेसको संगठन प्युठानमा लगभग समाप्त भयो । प्युठान जिल्ला कम्युनिस्टहरूको उर्वरभूमि बन्यो ।

यसैगरी पाका कम्युनिस्ट नेता मोहनविक्रम सिंहले आफ्नो बारेमा भनेका छन्, ‘हुन त मलाई २०११ सालमा कांग्रेसको कोटाबाट सल्लाहकारसभा (त्यतिबेलाको अन्तरिम संसद्) को सदस्य बनाइएको थियो, त्यतिबेला म वैचारिक हिसाबले कम्युनिस्ट बनिसकेको थिएँ, धेरैलाई कम्युनिस्ट बनाइसकेको थिएँ ।’

नेपालका ७७ जिल्ला मध्ये प्युठानमा नेपाली कांग्रेसको अवस्था सबैभन्दा कमजोर हुनुको कारण के हो ? भन्ने कुरा बुझ्न निर्मल लामा र मोहन विक्रम सिंहका यी संस्मरणहरू नै काफी छन् । आजभन्दा ३२ वर्षअघि २०४८ सालको आमनिर्वाचनमा मोहनविक्रम सिंहको पार्टीले बहिष्कार गरेकै कारण नेपाली कांग्रेसले चुनाव जितेको थियो । त्यस यताको ३१ वर्षमा ६ वटा आमनिर्वाचन भए तर प्युठानमा नेपाली कांग्रेसले चुनाव जितेको भनेकै गत आमनिर्वाचनमा हो । त्यसमा पनि संघीय संसद् र प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेस, माओवादी राष्ट्रिय जनमोर्चालगायत पाँच दलीय गठबन्धनका उम्मेद्वारले चुनाव हारे । रोज राणाले मात्रै जिते । प्युठान जिल्लामा ३१ वर्षपछि नेपाली कांग्रेसको साख फिर्ता गराउन सक्षम युवा नेता हुन् रोज राणा ।

विवादको जड

नेपाली कांग्रेसका युवा नेता रोज राणा मन्त्री हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नेपाल प्रहरीका डिआइजी रमेश खरेलले सामाजिक सञ्जालमा स्टाटस लेखेर विरोध जनाए । उनले उल्लेख गरे, ‘रोज राणालाई भेटन सेन्ट्रल जेल जाऊ भनेको त उनी त मन्त्री पो भएछन् ।’ खरेलको यो स्टाटसलाई राष्ट्रिय स्वतन्त्र पार्टीको साइबर सेनाले यति भाइरल बनाइदियो कि, सर्वसाधारण जनतामा पनि सांसद राण मन्त्री बन्नका लागि अयोग्य नै हुन् कि ? भन्ने भ्रम सिर्जना भयो । केही मिडियाकर्मीले त, गुण्डा, डन भन्दै नवनियुक्त मन्त्री राणाको हुर्मत लिन थाले । सत्य तथ्य खोतल्ने प्रयास धेरैले गरेनन । रमेश खरेल र राणको द्वन्द्व के हो ? भन्नेतर्फ कसैले खोजी गरेको देखिएन ।

हुन त रमेश खरेल प्रहरी सेवामा रहँदा मात्रै होइन त्यसपछि पनि अराजक गतिविधिमा संलग्न भएका थुप्रै प्रमाणहरू छन् । उदाहरणका लागि केही वर्षअघि वरिष्ठ नेता बामदेव गौतमप्रति कटाक्ष गर्दै खरेलले फेसबुकमा लेखेका थिए, ‘विज्ञको कोटामा अर्थमा विशेष ज्ञान भएका प्रत्यक्ष निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस । अब देशले विकासमा फडको मार्ने पक्का । अब विदेश जाँदा डलर र स्वदेश आउँदा सुनको विमानमा आवतजावत गर्न पाइने । मन्त्रिपरिषद्लाई बधाई ।’ बामदेव गौतम गृहमन्त्री हुँदा खरेल बढुवा सूचीमा परेका थिएनन् । त्यसैले उनले बामदेव गौतमप्रति पूर्वाग्रह राख्दै आएका छन् ।

तर, आफ्नो छोराको उमेरका रोज राणाप्रति रमेश खरेलले यतिविधि पूर्वाग्रह किन राखे ? कुन जुनीको कुण्ठा पोखे ? भन्ने कुरा सबैका लागि चासोको विषय हो । २०५८ सालमा माओवादीले घर जलाएर प्युठानबाट परिवारसहित लखेटिँदा सरोज थापा १८ वर्षका लक्का जवान थिए । उनी त्यही बेलादेखि काठमाडौं आएर दिदी सोफिया राणाको घरमा भूमिगत भएर बस्न थाले । उनले नाम बदले सरोजको पहिलो अक्षर हटाएर रोज राखे थरमा थापा हटाएर भिनाजुको थर राणा राखे । यसरी माओवादी बाट बच्न उनी सरोज थापाबाट रोज राणा बने । रोज राणाकै नाममा उनले फिल्म निर्माण, फिल्म अभिनय तथा निर्देशन विधामा हात हाले । उनले निर्माण गरेका ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निकै सुपरहिट बने । उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’ को निर्देशनसमेत गरे । उनले बनाएका, निर्देशन गरेका तथा अभिनय गरेका प्रायः सबै फिल्म तथा ती फिल्मका कलाकारहरूले राष्ट्रिय पुरस्कार जितेका छन् ।

२०६६ सालमा खरेल प्रहरी उपरीक्षक (एसपी)का रूपमा कास्की प्रहरी प्रमुख थिए । रोज फिल्म स्टार । रोजका एकाध साधारण विवादबारे सुनेका थिए । रोज त्यसबेला चर्चित थिए । पोखरामा उनी अभिनीत फिल्म ‘टक्कर दुई मुटुको’ हाउसफूल चलेको थियो । उनको नाम र चर्चा कम थिएन । खरेलले त्यसबेलै नियत बनाए, काठमाडौं गएपछि यत्तिको चर्चा कमाएका व्यक्तिमाथि हात हाले, आफू चर्चाको अर्को शिखरमा पुगिनेछ । उनको यो पूर्वयोजनाले गति पाउने ठाउँ आयो, खरेल महानगरीय प्रहरी परिसर हनुमानढोका आइपुगे ।

रोजले फिल्मबाट कमाएको रकम रेस्टुरेन्ट लगायतमा लगानी गरेका थिए । तर उनको लगानी नै नहरेको सदासयता रहेका दुई वटा (एउटा बागबजार र अर्को गोंगबु)को रेस्टुरेन्टमा खरेलले छापा हान्न लगाई मानव बेचबिखनको मुद्दा रोजको टाउकोमा लगाइदिए । खरेलले उनलाई एउटा, दुईटा होइन, मानव बेचबिखनको तीन वटा मुद्दा थोपरिदिए ।

राणालाई पूर्पक्षका लागि थुनामा पारियो । तोकिएको जेलमा समेत बस्न दिइएन । काठमाडौंमा मुद्दा चलेपछि डिल्लीबजारमा राख्ने भनिएको थियो, नियतबस खरेलले नख्खुमा पठाइदिए जबकि भोलिपल्ट फेरि जिल्ला अदालत आउनुपर्ने थियो । यसबीच सुरुका दिनदेखि नै रोजलाई दुःख दिन थालियो । परिसरको हिरासतमा राखिएका उनलाई राती १२ बजे खरेलले आफ्नो कार्यकक्षमा उपस्थित गराउन आदेश दिए । राणालाई जुन रेस्टुरेन्टमा मानव बेचविखनको मुद्दा चलाइएको थियो, त्यहाँ त्यसबेला उनको उपस्थिति त थिएन नै, उनी पुगेका पनि थिएनन् । जति पनि युवतीलाई नियन्त्रणमा लिइएको थियो दबाबमा राखेर रोज राणको नाम मुछ्नका निम्ति हस्ताक्षर गराइएको थियो । खरेलले गोंगबु, बानेश्वर र परिसर तीन ठाउँबाट एउटै मुद्दा दर्ता गराएर तीन वटा बनाएर थुन्ने नियत राखिदिए ।

तर प्रहरीमा छँदा पदको दुरुपयोग गरेका रमेश खरेललाई जनअदालतले दण्डित गरिसकेको छ । गत आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं १ र गत वैशाखमा भएको उपनिर्वाचनमा खरेल बारा क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । यी दुवै निर्वाचनमा खरेलको जमानत जफथ भयो । उता रोज राणाले शानदार मत ल्याएर प्युठानबाट चुनाव जिते । हुन त उदाउँदा रोज राणा र अस्ताउँदा खरेलबीच तुलना गर्नु उचित हुँदैन, तर गलत नियत बोकेको व्यक्ति प्रहरीजस्तो अर्ध न्यायिक संगठनमा पुग्यो भने देशका भावी कर्णधारहरूको मुन्टा कसरी निमोठिँदो रहेछ ? भन्ने शिक्षा नयाँ पुस्ताले लिनेछन् ।

प्रतिक्रिया