गण्डकी । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको संग्रहालयमा विभिन्न ९ सय ३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।
‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रूपमा रहेको यो संग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालयका रूपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को सञ्चालनमा रहेको यस संग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व.डोरोथी मिरोले स्थापना गरेका हुन् । तत्कालीन समयमा हाल रहेको संग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिएका हुन् ।
संग्रहालय परिसरमा पुुग्नासाथ संग्रहालय भवनका बाहिर ठिंग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरूपमा कुँदिएका खाँवाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । उक्त संग्रहालय २०४३ सालमा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ ।
मिरोले स्थापना गरेकोे संग्रहालयमा पुतलीहरूको संकलन भने बेलायतको लन्डन जन्मस्थान भएका स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू संकलन गरी ल्याएको जानकारी दिए । उनका अनुसार संग्रहालयमा नेपालभित्र पाइने ५ सय ८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३ सय ५० प्रजातिका पुतली रहेका छन् ।
मूल प्रवेशद्वारबाट छिर्नासाथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृतिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रूपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूूभागमा पाइने जीवजन्तुुबारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुुनामा नेपालमा पाइने हिमाली जीवजन्तुुबारे जानकारी लिन सकिन्छ । उक्त कक्षको पश्चिममा लोपोन्मुख जनावर र दक्षिणतर्फ रातको सहयमा सक्रिय हुने जीवजन्तुुुहरू राखिएको छ । कर्णाली र नारायणी नदीमा पाइने डल्फिन आदिबारे हेर्न र जान्न पाउँदा आउने दर्शकहरू खुसी हुुने गरेका छन् । संग्रहालयको प्रवेशसँगै दर्शकहरूले छुुट्टै रोमाञ्चक अनुुभूति गर्दछन् ।
त्यस्तै यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । विभिन्न चट्टान, नेपालको काली गण्डकी नदीमा पाइने शालिग्राम तथा खनिजहरू सो कक्षमा राखिएको छ । त्यस कक्षमा राखिएको विभिन्न ७० प्रजातिका चरा, किङ क्रोब्रा, सिंगारे सर्प, धामन सर्प, हिमाली गिद्ध, डाँफे आदिले त्यसबारे जान्न र बुुझ्न चाहनेलाई फाइदा पुुगेको परियारले जानकारी दिए ।
यहाँको मुख्य आकर्षण पुतली कक्ष हो । नेपालमा सबैभन्दा ठूलो संख्यामा पुतलीहरू संग्रह गरिएको संग्रहालय भएका कारण पुतलीको अध्ययन अनुुसन्धान गर्न आउनेका लागि यो विशेष महत्वपूर्ण रहेको परियारले बताए । पुतलीकै कारण यसलाई पुतली संग्रहालयका रूपमा चिनिन्छ । नेपालमा पाइने ५ सय ८७ प्रजातिका र अन्य विभिन्न देशबाट ल्याइएका ३ सय ५० प्रजातिका पुुतली संग्रहालयमा अवलोकन गर्न सकिन्छ ।
विश्वकै सबैभन्दा ठूूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूूभागमा पाइने पुतली संग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिए । अध्ययनले पुतलीहरू थोराङ्पास गरेको पाइएको उनको भनाइ छ । ठाउँ र परिवेशअनुुसार पुतलीहरूमा फरकपन पाउन सकिने उनले बताए ।
पुतलीबारे जान्न र बुुझ्न चाहनेका लागि संग्रहालय पुुग्नैपर्ने गन्तव्यजस्तै बनेको बताउँदै परियारले यसको श्रेय बेलायती नागरिक कलिन फिलिप स्मिथलाई नै जाने बताए । आफ्नो जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा विताएका स्मिथ पुतली बाजेका रूपमा चिनिन्थे । उनी ८७ वर्षको उमेरमा पोखरामा दिवंगत भएका थिए । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, संकलन र संरक्षणमा बिताएका उनी नेपालमा पाइने पुतलीहरूको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका नामले प्रसिद्ध बनेको संग्रहालयका प्रमुख रमेश श्रेष्ठले बताए ।
जीवनको करिब ६ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा बिताएका स्मिथलाई नेपाल सरकारले सम्मानार्थ नागरिकतासमेत प्रदान गरेको थियो । उनी पहिलोपटक २०२२ सालमा बेलायतबाट नेपाल आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएससी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उनी ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि नेपाल आएका थिए । तत्कालीन समयमा उनले गोरखाको विद्यालयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, बरिष्ठ चिकित्सक स्व.उपेन्द्र देवकोटालगायत विभिन्न उच्चपदस्थ व्यक्तिहरूलाई अध्यापन गराएका थिए ।
३० वर्षे उमेरमा नेपालमा आएका स्मिथले ५८ वर्षको नेपाल बसाईका क्रममा पाँच दशक पुतलीकै अध्ययन अनुसन्धान एवं अभिलेखीकरणमा विताएका थिए । २०२३ सालमा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर उनले करिब २५ हजार पुतली संकलन गरेका थिए । तत्कालीन सयमा उनले नेपालका लगभग ४० जिल्लामा पुुगेर पुतली संकलन गरेका हुन् । पेसाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उनको ठूलो मोह थियो । उनले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट संकलन गरिएका पुतली संग्रहालयमा छन् ।
सन् १९६६ सालमा नेपाल आएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । उनको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवं संकलनमा जीवन व्यतित गरेका उनको सम्मानमा संग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उनको नेपाल बसाईका विभिन्न स्मरण सजाइएको छ । उक्त बोर्डमा राखिएका नागरिकताको खोजीमा जिल्ला प्रशासन कार्यालय पुुगेको, नेपाली नागरिकतासँगै लिएर पढ्दै गरेका तस्बिरसहित सम्मान ग्रहण गर्दाका क्षण आदिलाई त्यहाँ पुुग्ने जो कोहीले नियालेर हेर्ने गरेका छन् ।
विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा मात्रै करिब ६ सय ६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व रहेको छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पुर्याउने भएकोले किसानको साथीका रूपमा पनि यसलाई लिने गरिन्छ ।
संग्रहालयको अर्को कक्षमा विभिन्न देशमा त्यहाँका मानिसले विशेष समारोहमा लगाउने पोसाकमा सजिएका गुडियाहरू सजाइएको छ । त्यहाँ पुुग्नेले कुन देशमा कस्तो पहिरन छ भन्ने राम्रोसँग बुुझ्न पाउँछन् । सोही कक्षमा विभिन्न जातजातिले प्रयोग गर्दै आएका प्राचीन घरहरू राखिएका कारण हाम्रो पुरानो संस्कार र संस्कृति बुुझ्न मद्दत पुुगेको छ ।
संग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुुझ्ने व्यवस्था मिलाइएको छ । एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुुगेर जान्न र बुुझ्न सकिन्छ ।
संग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुराहरू एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताए । ‘पुतली मात्रै नभएर हाम्रो समाज र परिवेशको पनि संग्रहालयमा चित्रण गर्न खोजिएको छ’, उनले भने, ‘यस्ता संकलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुुझ्न योगदान गर्दछ ।’ संग्रह गरिएका पुतली एवं अन्य सामग्रीलाई वर्षौंसम्म जोगाउने किसिमले संरक्षण गर्न पनि जरुरी रहेको उनले बताए ।
संग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुंरुगी, जनावर, सर्प आदिले वनस्पति एवं पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुुग्ने गरेको संग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउँछन् । ‘हामी संग्रहित सामग्रीलाई कसरी जोगाउने भन्नेमा छौँ’, उनले भने, ‘संग्रहित हरेक सामग्री अति नै संवेदनशील छन्, यी सामग्रीलाई वर्षौंसम्म जोगाउनुु ठूलै चुनौतीका रूपमा रहेको छ ।’
संग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू पुग्ने गरेका छन् । अघिल्लो वर्ष कुल ६ हजार ५ सय ३५ जनाले संग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये ३ हजार ५ सय १९ जना नेपाली, ५ सय २२ जना विदेशी र २ हजार ४ सय ९४ जना विद्यार्थी रहेको संग्रहालयले जनाएको छ । संग्रहालयमा पुुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एकपटक पुुग्नैपर्ने गन्तव्यका रूपमा चित्रण गर्ने गर्दछन् ।
प्रतिक्रिया