उद्योगीले महसुल नतिर्दा मारमा मजदुर

अशोक स्टिल र जगदम्बा स्टिलको विद्युत् कटौती

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका केही उद्योगले विद्युत् खपत गरे बापतको महसुल नतिरेका कारण विद्युत् प्राधिकरणले लाइन काटेको छ ।
प्राधिकरणले लाइन काटेका कारण उद्योग बन्द हुँदा यहाँ काम गरी खाने मर्कामा परेका छन् । विद्युत् कटौतीको कारण देखाउँदै मजदुर कटौती गरिरहेको विरोधमा बाराको सिमरामा विभिन्न उद्योगमा कार्यरत मजदुरले प्रदर्शन गरेका छन् ।

जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलले खपत गरेको महसुल नतिरेका कारण विद्युत् प्राधिकरणले विद्युत् काटेपछि त्यसमा कार्यरत मजदुरले विरोध प्रदर्शन गरेका हुन् । उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी संकटमा परेको भन्दै उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा मजदुरहरूले आफूहरू परेको गुनासो गरेका छन् । विद्युत् कटौती भएको उद्योगका मजदुरले इलाका प्रहरी कार्यालय सिमरा र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमरामा ज्ञापन पत्र बुझाएका छन् ।

इलाका प्रशासन कार्यालय र विद्युत् प्राधिकरणको माध्यमबाट नेपाल विद्युत् प्राधिकरण र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । विद्युत् प्राधिकरणले एक्कासि लाइन काटेपछि रोजगार दाताहरूबाट उद्योगमा श्रमिकहरू कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराइएको ज्ञापन पत्रमा उल्लेख छ ।

यसबाट ६ हजारभन्दा बढी श्रमिकहरूको रोजगारीमा असर परेको मजदुरहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । यो समस्या तत्काल समाधान नभए आफूहरू सशक्त संघर्षमा जान बाध्य हुने विज्ञप्तीमा जनाइएको छ ।

प्रदर्शनमा आधिकारिक ट्रेड युनियन, जगदम्बा स्टिल मजदुर युनियन सिमरा, अखिल नेपाल मजदुर संघ आधिकारिक ट्रेड युनियन हुलास स्टिल र अखिल नेपाल औद्योगिक मजदुर संघ त्रिवेणी स्पेनिङ मिल्स छातापिपराका मजदुरको सहभागिता रहेको थियो ।

यता नेपाल विद्युत् प्राधिकरण सिमराका प्रमुख रमेश रुपाखेतीले सिमरा वितरण केन्द्रको मातहत रहेका पाँच उद्योगबाट ५ सय ५० करोड विद्युत् महसुल उठ्न बाँकी रहेको बताए । प्राधिकरणले पत्राचार गरेअनुसार नै आफूहरूले महसुल तिर्न नसकेका केही उद्योगको लाइन काटेको उनले बताए ।

सिमरा विद्युत् प्राधिकरणअन्तर्गत रहेका जगदम्बा स्टिलको ४ सय १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिलको ४३ करोड, सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ विद्युत् महसुल बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया