यस्तो छ प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । मंगलबार आफूले प्रधानमन्त्री सम्हालेको एक वर्ष पुगेको अवसरमा वार्षिक उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ ।’

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । यसैगरी प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरे । उनले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’ अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए ।

प्रधानमन्त्री दाहालले त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने भनेर घोषणा गरिसकेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । सञ्चारको कुनै पनि कुनामा रहेका नेपालीले विश्वविद्यालय सुधारका लागि उपकुलपतिमा दाबी गर्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने पनि बताएका छन् । प्रधानमन्त्री प्रचण्डले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताए ।

‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ’– उनले भने– ‘बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ। यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ।’

भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको स्पष्ट गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजी बजार र बिमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए ।

यस्तो छ प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन पूर्णपाठ

प्रतिक्रिया