गैरआवासीय नेपाली नागरिकता : कार्यान्वयनमा सहज बनाऔँ

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि धेरै समस्याहरू आएका छन् । हामीले नागरिकता लिन सुरु गरेको डेढ महिनाको अवधिमा धेरै साथीहरूले उत्साहपूर्वक यो नागरिकता लिइरहनुभएको छ । तर यसको कार्यान्वयनमा केही समस्याहरू देखापरेका छन् । नेपाली नागरिकता लिइसकेपछि विदेशी पासपोर्टमा ट्राभल गर्दै गर्दा वा एयरपोर्टमा जाँदै गर्दा भिसा सिद्धियो, नेपाली नागरिक हुँ भनेर केही दिन ऊ नेपालमै बस्यो तर भिसाको अवधि सकिँदा अध्यागमनले पेनाल्टीसम्म लिएको अवस्था छ ।

कुल आचार्य

२० वर्ष पहिले गैरआवासीय नेपाली संघको स्थापना भएदेखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौँ । उक्त माग अहिले आंशिक रूपमा भए पनि पूरा भएको छ । संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता गत अक्टोबर १५ मा पर्वतबाट जारी भई गत अक्टोबर १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्राप्त गरी त्यस्तो नागरिकता पाउने पहिलो एनआरएन हुन पाउँदा स्वभाविकरूपमै म गौरवान्वित भएँ । केही भावुक भएँ । तर आफूले वंशजको आधारमा प्राप्त गरेको नेपाली नागरिकता त्याग्नुपर्दा दुःख पनि लाग्यो । गैरआवासीय नेपाली नागरिकतासँगै हाम्रा भावी सन्ततीलाई अब नेपालसँग जोड्ने बाटो खुला भएको छ । जुन गैरआवासीय नेपाली नागरिकता संविधानले व्यवस्था गरेको छ त्यो कार्यान्वयनमा आउँदा एकप्रकारले खुसीको अनुभूति पनि भएको छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि धेरै समस्याहरू आएका छन् । हामीले नागरिकता लिन सुरु गरेको डेढ महिनाको अवधिमा धेरै साथीहरूले उत्साहपूर्वक यो नागरिकता लिइरहनुभएको छ । तर यसको कार्यान्वयनमा केही समस्याहरू देखापरेका छन् । नेपाली नागरिकता लिइसकेपछि विदेशी पासपोर्टमा ट्राभल गर्दै गर्दा वा एयरपोर्टमा जाँदै गर्दा भिसा सिद्धियो, नेपाली नागरिक हुँ भनेर केही दिन ऊ नेपालमै बस्यो तर भिसाको अवधि सकिँदा अध्यागमनले पेनाल्टीसम्म लिएको अवस्था छ । यो व्यवस्था सहज बनाउनका लागि नेपाल सरकार तत्कालै गम्भीर बनेर समस्याको समाधान गर्न तयार हुनपर्छ । यी समस्याहरूलाई जतिसक्दो चाँडो सम्बोधन गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु ।

१. नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिकसरह सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ । संविधानले व्यवस्था गरेअनुसार व्यवहार गर्न नेपाल सरकारले सम्पूर्ण सरकारी निकायलाई स्पष्ट निर्देशन दिन जरुरी छ । जसअनुसार एनआरएन नागरिकता वाहकलाई अध्यागमनमा छाप मात्रै लगाएर ‘इन र आउट’ हुने व्यवस्था गर्न तथा मालपोत कार्यालय, कम्पनी हाउस लगायतलाई संविधानले प्रदत्त गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार नेपाली नागरिकसरह उपलब्ध गराउन सर्कुलर गर्न जरुरी छ ।

२.एनआरएन नागरिकता वाहकले नेपाल भ्रमण गर्दा लिएको भिसा सकिएपछि जरिवाना तिर्नुपर्नेजस्ता समस्या देखिएका छन् । त्यस्तै जिल्लाजिल्लामा एनआरएन नागरिकता प्रदान गर्दा फरक व्यवहार गरिएको पाइएको छ । त्यसैले एनआरएन नागरिकता वितरणमा समान व्यवहार गर्न एकरूपता ल्याउन निर्देशन दिन आवश्यक छ ।

३.एनआरएन नागरिकता पाएपछि पासपोर्ट पनि उपलब्ध गराउन अति आवश्यक तथा जरुरी छ । यसले गर्दा एनआरएनहरूलाई यात्रा गर्न सहज हुनेछ भने नेपाल सरकारलाई पनि राजस्व प्राप्त हुनेछ ।

एनआरएन नागरिकताको कार्यान्वयनपछि संसारभरिका नेपालीहरूले नेपालमा रहेको उनीहरूको सम्पत्ति बिक्री वितरण गरेर विदेश लग्ने प्रवृत्तिमा कमी आइरहेको छ । नेपालमा लगानी गर्न उनीहरूको रुची बढेर गएको छ । त्यस्तै विदेशमा हुर्किरहेका दोस्रो र तेस्रो पुस्ताका एनआरएनहरूले पनि नेपालको नागरिकता लिन चासो देखाइरहेका छन् । त्यसैले मुलुकको स्वतन्त्रता र सार्वभौमिकता सुदृढ हुने तथा आर्थिक समुन्नतिमा पनि मद्दत पुग्ने यो ऐतिहासिक निर्णयको कार्यान्वयन प्रक्रियालाई अरू सहज र झन्झटमुक्त बनाउन म नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछु ।

केके छन् प्रक्रिया ?

सबैभन्दा पहिले त आफूले लिएको विदेशी पासपोर्ट तथा नागरिकताको कपी, आफ्नो पुरानो नेपाली नागरिकताको कपी र त्यो छैन भने बाबुआमा वा बाजेबज्यैको नागरिकताको कपी र वडा कार्यालयको सिफारिस लिएर गई आफूले प्राप्त गरेको पुरानो नागरिकता परित्याग गरेपछि गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था छ । नियमावालीमा यदि एनआरएन कार्ड लिएको छ भने त्यो पनि पेस गर्नुपर्ने भनिएको छ । एनआरएन कार्ड लिएको छैन भने त्यो अनिवार्य होइन ।

वंशजको नेपाली नागरिकता

संविधान बन्ने बेलामा सबैभन्दा बढी छटपटाएर हाम्रो अधिकार कटौती भयो भनेर हामीले आवाज उठाएका थियौँ । संविधानमा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको कल्पना गरियो । हामी संविधानभन्दा माथि नभएकाले बाध्य भएर यस्तो व्यवस्था स्वीकारेका हौँ । तर नागरिकता निरन्तरताको मुद्दा जारी नै छ । हामी नेपालका दोस्रो दर्जाका नागरिक होइनौँ । एउटा नागरिकको एउटा अधिकार र अर्को नागरिकको अर्को अधिकार हुन सक्दैन । चाँडै संविधान नै संशोधन गरेर समान व्यवहार गरिनुपर्छ भन्ने हाम्रो माग हो । मैले नागरिकता लिँदाको दिनमै प्रधानमन्त्रीज्यूसमक्ष संविधान संशोधन ऐन, नियमावली र परिवर्तन गरेर समान अधिकारसहितको नागरिकताको व्यवस्था गर्न आग्रह गरेको थिएँ ।
बंशजको नेपाली नागरिकतामा भने केही कठिनाइ छ । सबैभन्दा राम्रो त बंशजको आधारमा प्राप्त नागरिकतालाई निरन्तरता गरेर पछि पुस्तौँपुस्तासम्म पाउने व्यवस्था भयो भने अति राम्रो हुन्छ । तर, हामी संविधानमै चुकेका छौँ । त्यसैले एकपटक नागरिकता लिइसकेका नेपालीहरूले अरू देशको नागरिक भएर पुस्तापुस्तासम्म बस्न पाउने व्यवस्था गर्नुपर्छ । अहिले पनि ६० भन्दा बढी देशहरूमा दोहोरो नागरिकताको प्रबन्ध छ । त्यसरी राख्न सकियो भने अझ समस्या समाधान गर्न सफल भइन्छ । हामीले मागेको नागरिकता बंशजको नागरिकता र नागरिकताको निरन्तरता थियो तर संविधानमा व्यवस्था गर्ने बेलामा थोरै चुकेका छौँ । तर जे व्यवस्था भयो त्यसलाई लिएर भए पनि एक स्टेप प्रगति भयो । यसमा सुरुआत भएको छ, तर यसलाई व्यवस्थित गर्नुपर्दछ ।

अहिलेको संविधानले जुन नागरिकताको कल्पना गरेको छ यसमा राजनीतिक अधिकार दिइएको छैन । त्यसैले हामीले नेपालको चुनावमा भोट हाल्न वा उम्मेदवारी दिन पाउँदैनौँ । तर मतदानको अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको पहलमा लाग्न जरुरी छ । केही अभिव्यक्तिहरू सुनिएको छ, संविधान बनाउने बेलामा चुकेको कुरा हामी चुक्यौँ भने संविधान बनाउने बेलामा चुक्यौँ, अहिले चर्को कुरा गरेर केही अर्थ छैन ।

भूतपूर्व गोर्खाहरूको हकमा चाहिँ उहाँहरू त्रि–पक्षीय सन्धिअनुसार बेलायत आउनु भएकाले उहाँहरूले ब्रिटिस पासपोर्ट पाएपछि नेपाली नागरिकता खोस्ने कुराले अन्याय हुन्छ । त्यो अन्याय गर्न हुँदैन । त्यसका लागि संविधान संशोधन गरेर भए पनि नेपाली नागरिकता व्यवस्था गर्नुपर्छ ।

देशको सेवा गर्ने अपूर्व अवसर

हामी एनआरएनहरूमाथि जहिले पनि मागिरहने भन्ने आरोप लाग्ने गरेको छ, अब हामीले मातृभूमिसँग माग्ने होइन दिने बेला आएको छ । चाहे भूकम्पको बेला होस् वा बाढीपहिरो, नेपालीलाई दुःख पीर पर्दा हामीले सधैँ हातेमालो गर्ने गरेका छौँ । एक अध्ययनका अनुसार गैरआवासीय नेपालीहरूले नेपालका विभिन्न क्षेत्रमा झन्डै एक खर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् भने अर्बाैं रुपैयाँ बराबरका कल्याणकारी कार्यहरू गरेका छन् । अब हामीसँग रहेको सीप र स्रोत नेपालको विकासमा तथा रोजगारी सिर्जना गर्न लगाउनुपर्छ । देशप्रतिको मायाको भावनाले गर्दा विदेशमा निव्र्याजी रूपमा रहेको पैसा नेपालमा ल्याउने र चाहेको बेला लैजान पाउने व्यवस्था गर्नुपर्छ । एनआरएनहरूले नेपालका बैंकहरूमा खोलेको डलर एकाउन्टमा रहेको पैसाबाट नेपालमै लगानी गर्ने र मुनाफा फिर्ता लग्न पाउने व्यवस्था गरिनुपर्छ । त्यस्तै जन्मेको माटोलाई विदेशी माटोमा लगेर नमिसाउन र यहाँको सम्पत्ति बेचेर विदेश नलगिदिन पनि सबै एनआरएन मित्रहरूप्रति मेरो सधैँ अपिल छ ।

दुःखका साथ भन्नुपर्दा गैरआवासीय नेपाली संघ जुन हिसाबले हामीले बनाउन चाहेका थियौँ, अहिलेको अवस्था रह्यो भने हामीले कल्पना गरेको जस्तो एनआरएनए बनाउन सकिँदैन । हामी जबसम्म एकै ठाउँमा बसेर काम गर्दैनौँ, तबसम्म हाम्रो उद्देश्य पूरा हुँदैन । तर संस्थामा कहिलेकाहीँ अलिकति विकृति र संस्था आफ्नो मुठ्ठीभित्र राख्न प्रयास गर्दैगर्दा र केही स्मार्ट एनआरएनए र टेक्नोलोजीको नाममा संस्थालाई दुरुपयोग गर्ने काम धेरै नै भएको छ । अब सबै एकै ठाउँमा बसेर छलफल गरेर गैरआवासीय नेपाली संघको हितमा अगाडि बढ्नुको विकल्प छैन । अहिले भएका तितामिठा कुराहरू छन्, सबैले बसेर छलफल गरेर समस्याको समाधान गरेर अघि बढ्नका लागि सबै पक्ष विनम्रताका साथ जुट्नुपर्ने जरुरी छ ।
(आचार्य एनआरएनएका निवर्तमान अध्यक्ष हुन् )

प्रतिक्रिया