धनगढीमा रानाथारु भाषा साहित्य सम्मेलन हुने

धनगढी । कैलालीको धनगढीमा रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । राना कला, संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन २०८०’ हुने भएको हो ।

आयोजक मञ्चले शनिबार पत्रकार सम्मेलन गर्दै यही मंसिर २३ गते साहित्य सम्मेलन हुने तथा सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

संरक्षण अभावमा रानाथारु भाषा लोप हुने अवस्थामा पुग्न लागेका बेला यसको संरक्षण,जगेर्नाका लागि रानाथारु भाषा साहित्य सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक पदमबहादुर रानाले बताए ।

उनले भने ‘संरक्षण गर्ने बाटो,स्थान नपाएको अवस्थामा यो भाषा नै लोप हुँदै जाने डर भएको छ’ । रानाथारु भाषालाई परिस्कृत गर्दै लैजानु पर्ने भन्दै उनले यसमा भएका शब्द, साहित्य,मौलिकता बचाइ राख्न दुईचार वटा गीत,कविता लेखेर गाएर मात्रै नहुने बताए ।

उनले भने, ‘यो भाषा साहित्य संरक्षणका लागि नेपाल र भारतमा रहेका रानाथारु भाषा बोल्ने सबैलाई बोलाएर सम्मेलनमा बृहत रुपमा छलफल हुने छ ।’

सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष सहकार्यमा हुने तथा सम्मेलनमा अन्य भाषाभाषीका साहित्यकारहरुलाई समेत बोलाइने उनले बताए ।

सम्मेलनमा नेपाल र भारतबाट समेत रानाथारू बुद्धिजीवी, रानाथारू भाषाका ज्ञाता, लोक साहित्यकार, रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषाविद्हरुलाई समेत बोलाइएको उनले रानाले बताए ।

साहित्य सम्मेलनमा अन्य भाषाको रानाथारु मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्युनिकरण लगायत बिषयमा छलफल हुने आयोजकले जनाएको छ । मौलिक शब्द रक्षाको लागि विभिन्न लेखोट, सिलालेख, पुस्तक प्रकाशन तथा अनुसन्धान, लोकगीत संगीतको संरक्षणलाई समेत जोड दिइ रानाथारू भाषाको मौलिकता एवं एकरुपतामा विशेष जोड रहने आयोजकले जनाएको छ ।

रानाथारू भाषाका गीत, कविता, साहित्यिक रचना वाचनलगायत रानाथारू भाषा लेखन पद्धति र व्याकरणको बारेमा कार्यक्रममा गहन छलफल विश्लेषण गरिने मञ्चले जनाएको छ ।
त्यस्तै कार्यक्रममा विविध लोक साँस्कृतिक प्रस्तुति एवं लोक स्रस्टाहरूको सम्मान गरिने जनाइएको छ ।

एक दिने सम्मेलनमा ३ वटा कार्यपत्र प्रस्तुत गरिने तथा प्यानल डिसकशन गरिने जनाइएको छ । सम्मेलनमा नेपाल र भारतबाट गरि १ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया