गजुरमुखी धाममा धार्मिक मेलाको रमझम

इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागेको हो ।

मेलाको मुख्य दिन सोमबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरूको घुइँचो लागेको छ । धाम आसपासमा पाल टाँगेर दर्जनौँ अस्थायी टहराहरू निर्माण गरी होटल व्यवसायहरू सञ्चालनमा छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरूको भिड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुइँचो छ ।
धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरूको क्रम जारी छ ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शन, प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल र सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।

मेलाको अवसरमा आयोजित गजुरमुखी धाम गोल्डकपको फाइनल खेल सम्पन्न भएको छ । गोल्डको उपाधि देउमाई नगरपालिका जितपुरले हात पारेको छ । माङसेबुङ गाउँपालिकालाई ३–० गोलको सहज जित निकाल्दै जितपुरले उपाधि चुमेको हो । साँझ सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।

सांस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन–४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन–५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा सुरु भएको मेला मंगलबारसम्म लाग्नेछ । गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भूभागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, कालेङबुङ, आसामलगायत स्थानबाट भक्तजनहरू आउने गरेका छन् । बोलि नआएकाहरूको बोलि आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले सयाँैको संख्यामा भक्तजनहरू आउने गरेका छन् ।

गजुरमुखी धाम पुग्न इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर सडक यात्रा गनुपर्छ । मेची लोकमार्गअन्तर्गत नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ–चतुरे–इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भए पनि हिउँद याममा गाडीहरू चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरूमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरू इलाम आएका बेला प्रायः गजुरमुखी जान छुटाउँदैनन् ।

प्रतिक्रिया