काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब कम्युनिस्ट पार्टीसँग एकता नगर्ने प्रस्तावपछि पार्टीभित्रको विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ छलफल गर्ने क्रममा सो कुरा उनले स्पष्ट पारेका हुन् ।
नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्र पार्टीको नाम परिवर्तन गर्न तयार भए पनि अध्यक्ष भट्टराई एकताको विपक्षमा गएको प्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हिजो बाबुरामजी र प्रचण्डजीको छलफल भएको थियो । सो छलफलमा बाबुरामजीले कम्युनिस्ट पार्टीसँग एकता नगर्ने भन्नु भएको कुरा मैले सुनेको छु ।’
पार्टी एकताका लागि दुवैतर्फ वार्ता समिति गठन भएको र एकताको बारेमा ठोस निर्णय लिन मंसिर ७ गते केन्द्रीय समितिको बैठक बोलाएको हुँदा त्यसअघि नै एकताको बारेमा टुंगो लगाउन नहुने उनको जिकिर गरे ।
पार्टीको केन्द्रीय समितिको बैठकका माओवादी केन्द्रसँग एकताका लागि छलफल हुने बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले एकताका लागि इमान्दारीपूर्वक पहल गर्नुभएको छ, पार्टीको नाम परिवर्तन गर्न पनि तयार हुनुभएको छ । यो बेलामा हामी एकताबाट पछाडि हट्नु भनेको बेइमानी हुन्छ ।’
केन्द्रीय समितिको बहुमतबाट एकताका लागि निर्णय हुने र माओवादीसँग एकता हुने अध्यक्ष यादवले दाबी गरे । ‘नेसपामा अधिकांश नेता एकताका पक्षमा रहेका छन्,’ उनले भने । उनका अनुसार नेसपा विभाजनको संघारमा पुगिसकेको छ । बाबुराम भट्टराई एकताको पक्षमा छैनन् भने महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठलगायतका नेताहरू एकताका लागि प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया