धनगढीका दुई स्थानमा स्थानीय फूल विक्री केन्द्र स्थापना

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले फूल उत्पादक किसानका लागि छुट्टाछुट्टै दुई स्थानमा विक्री केन्द्र स्थापना गरिदिएको छ । आज (आइतबार) देखि किसानले उत्पादन गरेका फूल विक्रीवितरण गर्न उपमहानगरले स्थान छनोट गरेर विक्री केन्द्र स्थापना गरिदिएको हो । फूल खेती गर्ने किसानका लागि उत्पादित फूल विक्री गर्न बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केट र उपमहानगरपालिका कार्यालय परिसर अगाडी विक्री केन्द्र स्थापना गरिएको छ ।

उपमहानगरले स्थापना गरिदिएको फूल विक्री केन्द्रबाट सेवाग्राहीले सहज रुपमा फुल पाउने गरी विक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख गोपाल हमालले बताए । यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन्। उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा विक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल विक्रीवितरणमा उपमहानगरले सहयोग गरेको हो ।

धनगढीमा करिब एक वर्षदेखि प्लास्टिकका फूलमाला आयात र विक्रीवितरणमा प्रतिबन्ध लगाइएको छ । यसबाट फूल उत्पादक किसान झनै उत्साहित भएका छन् । धनगढीका फूल उत्पादक किसानले पर्याप्त मात्रामा फूल उत्पादन गरेकाले आयातित फूलमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उपमहानगरले किसानलाई फूल उत्पादनमा लाग्न प्रेरित गर्नुका साथै बजार खोजिदिने काममा समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया