काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउँछन् ।
‘संघीय संसद जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानून र नीति–निर्माण गर्ने छ, तर संसदमा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन, जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन, सांसदको भूमिका प्रभावकारी हुन सकेको छैन’, उनले भने ।
विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसदमा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसदमा सुनुवाइ हुन नसक्दा सोही अनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ ।
संसदीय अभ्यासमा सरकारको काम–कारबाहीको मूल्यांकन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमी–कमजोरीको आलोचना गरी सरकारका काम–कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम–कारबाहीउपर निगरानी राख्नेलगायतका भूमिका प्रतिपक्षको हुने उनले बताए ।
रापप्रपा संसदीय दलको उपनेतासमेत रहेका तामाङले संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताए ।
‘बहुदलीय व्यवस्थामा मुख्यतः संसद प्रतिपक्षको हो, सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिँडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन’, सांसद तामाङले बताए ।
पञ्चायतकालदेखि राजनीतिक अनुभव लिनुभएका सांसद तामाङले अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गरे । गरिमामय संसदलाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ ।
सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठीक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ ।
पछिल्लो समय भड्किलो चुनावी प्रसार–प्रचारलगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए ।
‘पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ, यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ, सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन’, उनले भने ।
मुलुकुको सार्वभौम सत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङले जोड दिए ।
‘समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिर्वतन गर्नुपर्छ, अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ’, सांसद तामाङले भने । पञ्चायकालदेखि हालसम्म उनी ६ पटक चुनाव लडेकोमा चार पटक निर्वाचित भए । तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन् ।– रासस
प्रतिक्रिया