भ्रष्टाचारका अरु पनि केही फाइलहरु छिट्टै खुल्दै छन् : प्रधानमन्त्री दाहाल

धनगढी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका अरु पनि केही फाइलहरु छिट्टै खुल्ने बताएका छन् ।

सोमबार चार दलिय समाजवादी मोर्चाको धनगढी सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो सरकार सुशासनको पक्षमा अगाडि बढ्ने कमिटमेन्टका साथ बनेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले ललिता निवास जग्गा प्रकरणको पनि नयाँ सिराबाट अध्ययन गर्यौँ, दोषी कारबाहीमा परुन्, निर्दोषलाई झुटा आरोप नलागोस् भनेर अगाडि बढ्यौँ, अहिले जो दोषी हुन् ति पर्दैछन्, सुन तस्करीमा पनि देख्नुभएकै छ ।’

‘सरकार सुशासनको पक्षमा छ, मैले यहाँ धेरै भन्न मिल्दैन्,’ उनले भने, ‘अरु पनि केही फाइलहरु छिट्टै खुल्दै छन् ।’ ‘सरकार सुशासनतिर जान खोजेको छ, सामाजिक न्याय गर्न खोजेको छ, यो कुरा केही तत्वहरुलाई मन परेको छैन, ’उनले थपे, ‘त्यसकारण गठबन्धन भत्काउनै पर्छ भन्नेमा छन् ।’

प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचार गर्ने त्यही एमालेमा छन्, ७० करोडको कुरा सबैलाई थाहा नै छ, यति ओम्नी सबैलाई थाहा छ ।’ ‘अहिले भ्रष्टाचारको काण्डको कुरा गर्न कसैले हिम्मत गरेको छ त ? किनकी त्यो असम्भव छ’, उनले भने, ‘मैले यति भनेर सन्तुष्ट छु भन्न खोजेको छैन, गर्नुपर्ने धेरै छ ।’

प्रधानमन्त्री दाहालले आफूहरुले लडेर नयाँ व्यवस्था ल्याएको भए पनि कर्मचारीतन्त्र, राज्यका काम गर्ने तरिका पुरानै भएको बताए । ‘अहिले कर्मचारी जोखिम उठाउन तयार छैनन्, कस्को जागिर जाने हो, को गिरफ्तार पर्ने हो भनेर आतंक नै छ’, उनले भने, ‘मैले कर्मचारीहरुलाई भन्ने गरेको छु, तपाईहरु अगाडि बढ्नुस् सरकार तपाईहरुको साथमा छ ।’

प्रतिक्रिया