बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग केपीले मनाए जन्मदिन

स्याङ्जा । पछिल्लो समय होटेल तथा रेष्टुरेण्टमा जन्मदिन मनाउने र हजारौँ खर्च गर्ने चलन बढ्दै गएको छ, तर स्याङ्जाको वालिङ—१० भकुण्डेका केपी खनालले आफ्नो जन्मदिन बौद्धिक अपाङ्गता भएका विद्यार्थीसँग मनाएका छन् । 

वालिङ ९ स्थित भुम्रे माध्यामिक विद्यालयमा अध्यानरत १० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेर खनालले आफ्नो ४७ औँ जन्मदिन मनाएका हुन् । 

१६ गते भाई कुशल खनाल र १७ गते परेको आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई दिवा खाजा खुवाएर जन्मदिन मनाउँदा निकै आनन्द भएको बताए । 

हजारौँ खर्च गरेर होटेलमा जन्मदिन मनाउन भन्दा दुखी र फरक क्षमता भएका विद्यार्थी भाई बहिनीसँग मनाउँदा समाजमा सकरात्मक सोँचको विकास हुने खनालको भनाई छ ।

भुम्रे माध्यामिक विद्यालयमा ५८ सालदेखि बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरेर स्रोत कक्षा संचालन गरिएको छ । अहिले यहाँको स्रोत  कक्षामा १० जना विद्यार्थीहरुले अध्यान गर्दै आएका छन् । 

सरकारले फरक क्षमता भएका विद्यार्थीलाई मासिक चार हजार आवासिय छात्रवृत्ति प्रदान गर्दै आएको छ ।पछिल्लो समय खाद्यान्न सामाग्री निकै महंगो भएको कारण  आवासिय छात्रवृत्तिको रकमले खाना समेत खुवाउन नसकिएको स्रोत शिक्षक डोलराज बस्यालले बताए । 

‘विभिन्न क्लब र जन्मदिनको सहयोगले लत्ताकपडामा सहज त भएको छ तर त्यो चार हजारले खाना र औषधोपचारमा कठिन भएको छ ।’ बस्यालले भने , ‘बच्चा बच्चीलाई हेर्ने आयाको तलब पनी जम्मा १३ हजार छ । २४ घण्टा खट्ने यस्ता शिक्षकलाई यो महंगीमा घर खर्च चलाउन पनी धौ-धौ छ ।’

स्याङ्जा जिल्लामा २ वटा बौद्धिक अपाङ्गता , २ वटा श्रवण अपाङ्गता  र एक वटा दृष्टि अपाङ्गता भएका विद्यार्थीलाई अध्यायन गराउने स्रोत कक्षा संचालीत छन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया