लमजुङमा अनुगमन गर्दा भेटिए अधिकांश पसल मापदण्ड विपरीत

बेसीशहर । जिल्लाको सदरमुकामसँगै जिल्लाभर चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले जिल्लाभरका विभिन्न पसलमा दिनहुँजसो अनुगमन गर्न थालेको हो ।

बजार अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरु अनुगमन गरेको थियो । बेसीशहर ७ पुरानो बैंक चोकदेखि भिमसेन स्थानसम्मका यटीका पसलमध्य ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनगुमन गरिएको थियो । सो क्रममा अधिकांश पसल मापदण्ड विपरीत भेटिएको छ ।

अनुगमनका क्रममा दर्ताविना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामग्री र लेभलिङ नम्बर मेटिएको, ईजाजत पत्र नलिई बिक्री वितरण गरिएको ४ वटा किराना तथा फलफूल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरुप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयकी प्रमुख मिताकुमारी थापाले बताइन् । उनका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैया जरिवाना गरिएको छ ।

अनुगमनमा अधिकांश पसलहरुमा मूल्य सूची नराखेको पाइएकाले मूल्य सूची राख्न निर्देशन दिइएको प्रमुख थापाले बताइन् । उपभोग्य मिति भएको मात्र खाद्य सामग्री बिक्री वितरण गर्न तथा मूल्य सूची अपडेट गर्न सुझाव दिइएको छ ।

यस्तै लेभलिङ भएका खाद्य सामग्री मात्र बिक्री वितरण गर्न, दर्ताविना सञ्चालन नगर्न, व्यवस्थीतरुपमा खाद्य र अखाद्य समग्रीहरु छुट्टाछुटै राख्न, म्याद गुज्रेका खाद्य सामग्री बिक्रि वितरण नगर्न, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट बिक्री वितरण गर्न, सरसफाईमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पुजीँ मिलाउन सुझाव दिइएको छ । उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयकी प्रमुख थापाको नेतृत्वमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया