
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेकी छन् । २०७९ वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठाँै पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन् । ‘अझै पनि फार्मबाट करिब छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु,’ उनले भनिन् । अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको समेत जानकारी दिइन् । उनले भनिन्, ‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।’ १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा छ ।
उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले सुनाइन् । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’, उनले भनिन्, ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’ उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि छ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन् ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छन् । गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब १० हजार रुपैयाँका दरले खर्च भएको उनले सुनाइन् ।
त्यसैगरी कृषक गौलीले यस वर्ष तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी थिइन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरू आउने गरेका छन् । उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।
त्यसैगरी कृषक गौलीले नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको गुनासो गरिन् । चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनले जानकारी दिइन् । निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उनले बताइन् ।
सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी छन् । व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छन् उनी । स्थानीयस्तरमा उत्पादित अग्र्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् ।
प्रतिक्रिया