गुल्मीको इन्द्रेगौंडामा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ले गरेका थिए ।​

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै वामी शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार एक्सटेन्सन काउन्टरमार्फत निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।

सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नं ५ वरपरका बासीन्दालाई लक्षित गरी डिजिटल बैंकिङ्ग र रेमिट्यान्ससम्बन्धी वित्तीय साक्षारता कार्यक्रमसमेत आयोजना गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​

बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।​

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया