माओवादी सुदूरपश्चिमका उपाध्यक्ष कृष्ण बडुवालको निधन

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । बडुवालको निमोनियाका कारण बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

बडुवाललाई उपचारको लागि भारतको लखनउ लैजादै गर्दा बाटोमै निधन भएको जनाइएको छ । माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने रुपान्तरण अभियानका क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या देखिएपछि कैलाली फर्किएर उपचारमा लागेको र यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउमा लैजादै गर्दा बाटोमै निधन भएको माओवादी केन्द्रका प्रदेश पार्टी कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।

बडुवालको आजै कर्णाली चिसापानीमा अन्त्यष्टि गरिने उनले जानकारी दिए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा बडुवाल डोटीको जोरायल गापा र बडीकेदार गापाको कमाण्डर भएर अभियानमा लागेका थिए ।

कैलालीको लम्कीचुहा नगरपालिका–५ निवासी बडुवाल पाँच भाइमध्ये काइला हुन् । उनी संविधानसभा सदस्य भगत बडुवालका सहोदर भाइ हुन् ।

प्रतिक्रिया