कर्णालीमा चलचित्र कार्यशाला हुने

काठमाडौं । नेपाली चलचित्रलाई विस्तार गर्ने लक्ष्यका साथ कर्णालीमा कार्यशाला गरिने भएको छ । केवी इन्टरटेनमेन्ट प्रालिले आगामी मंसीर ५ देखि ११ गर्तेसम्म सुर्खेतमा दोस्रो कर्णाली चलचित्र कार्यशाला गर्न लागेको हो । गत वर्ष असारको दोस्रो साता कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी आधारभूत कोर्स सिकेका विधार्थी र अन्य नयाँ विद्यार्थीलाई यसपटक चलचित्रबारे एडभान्स कोर्सको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले बताए ।

उनले भने, ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ उनका अनुसार कार्यशालामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै, चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी विशेष क्लास लिने भएका छन् ।

चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिने छन भने छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने जनाइएको छ । सोही कार्यशालामा सञ्चारकर्मी तथा मेकअप आर्टिस्ट सरिता भारतीले चलचित्रमा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछन् । यस्तै, चलचित्र सम्पादक प्रितम पाण्डेले कार्यक्रममा सम्पादनसम्बन्धी कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विद्यार्थीले तीन वटा वृत्तचित्र र तीन वटा लघुचलचित्र निर्माण गर्नेछन् ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीले कार्यशालामा भाग लिने आयोजकले जनाएको छ । आयोजकका अनुसार चलचित्र विकास बोर्डको सहकार्यमा कार्यशालालाई नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण, आयल निगम, नविल बैंक, कृषि विकास बैंकको सहयोग रहने छ ।

प्रतिक्रिया