नेपाल र चीनबीच १४ नाका खोल्न छलफल

१३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।

विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरे ।
नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ । त्यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयका लागि पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा.रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा पनि सहमति भएको छ । सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

सो अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
चिनियाँ प्रेस तथा प्रकाशन विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।
साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ प्रधानमन्त्रीले भने ः नेपाल र चीन भिन्न आकारका समान मित्र

चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीन फरक आकारका तर समान हैसियतका दुई छिमेकी मुलुक भएको बताएका छन् ।
सोमबार बिहान चीनको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री दाहालसँग भएको दुईपक्षीय भेटघाटमा चिनियाँ प्रधानमन्त्री छ्याङले यस्तो बताएका हुन् ।

‘नेपाल र चीन बीचको सम्बन्धको साक्षी हिमालय र खासगरी सगरमाथा छ, इतिहासदेखि हाम्रो सम्बन्ध राम्रो रही आएको छ,’ प्रधानमन्त्री छ्याङले भने ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उनले बताए ।
दुई देशका नेताबीच उच्चस्तरमा भएको सहमति कार्यान्वयन गर्न चीन तयार रहेको उनले बताए । नेपालको आर्थिक विकासमा चीनले साझेदारी गर्ने उनको भनाइ छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले विकासको पहिलो शताब्दी लक्ष्य सम्पन्न गरेकोमा बधाई दिँदै आगामी शताब्दी लक्ष्यको सफलताको कामना गरे । चीनले विकास र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिको उनले प्रशंसा गरे ।

नेपाल राजनीतिक उपलब्धि हासिल गरी अब सामाजिक तथा आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको उनले बताए । ‘हामीले हालै तीन वटै सरकारको चुनाव सम्पन्न गरेका छौँ । अब आर्थिक विकासको काम गर्दै छौँ । चीनसँगको सौहार्दपूर्ण सम्बन्धले त्यसमा सहयोग गर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
भेटवार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवलगायत मन्त्रीहरू पनि सहभागी छन् ।

द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भइरहेको छ । द्विपक्षीय भेटवार्ता यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लीले ग्रेट हल अफ दी पिपुलमा स्वागत गरेका थिए । त्यसपछि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

यसैबीच नेपाल र चीनबीचका १४ वटा नाका खुल्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालसँगका १४ वटा नाका खोल्ने सहमति भएको हो । यसरी खुल्ने नाकामा रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङचुङगोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको छ ।
१४ मध्ये दुई वटा नाका डोल्पाका परेका छन् । शे–फोक्सुण्डोको खुङला नाका र छार्काताङसोङ गाउँपालिकाको मर्युम नाका खुला गर्ने अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले पास आवश्यक पर्ने बताएकाले चालु भएको छैन । प्रशासन कार्यालयले पास जारी गर्ने विषयमा गृह मन्त्रालयमा समन्वय गरेको जनाएको छ । चीनसँगका नाकामा जारी गर्ने पासमा एकरूपता ल्याउन गृह मन्त्रालयले तयारी गरिरहेको जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

नेपाल चीनबीच सोामबार भएको १२ बुँदे समझदारी

यस्ता छन् सम्झौता र सहमतिहरू

१) राष्ट्रिय योजना आयोग र नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबीच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर

२) चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण

३) डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबीच एमओयूमा हस्ताक्षर

४) नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,

५) सिजाली विद्यालय परियोजनाबारे सम्झौता

६) कृषि, पशुपालन र मत्स्यपालनमा सहकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर

७) सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्यांकन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच एमओयूमा हस्ताक्षर

८) नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

९) चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

१०) विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

११) मानव स्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान

१२) हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता

प्रतिक्रिया