नेम्वाङकाे सम्झनामा सातै प्रदेशमा गाेष्ठी गर्दै एमाले

काठमाडाैं । नेकपा एमालेले आज दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ । एमालेले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नेछन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतलाई वक्ताका रूपमा बोलाइएको छ ।

साथै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेश, उपाध्यक्ष रामबहादुर थापा ‘बादलले कोशी तथा उपाध्यक्ष युवराज ज्ञवालीले लुम्बिनी प्रदेशमा आयोजना हुने गोष्ठीलाई सम्बोधन गर्नेछन् ।

यस्तै गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल तथा कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा दिवंगत एमाले उपाध्यक्ष नेम्वाङले संविधान निर्माणमा गरेको योगदानका बारेमा चर्चा गर्नेछन् । नेम्वाङको अघिल्लो मंगलबार हृदयाघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया