दृश्यात्मक डायरीमा युगबोध

‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ (Mundane Friction to Self-Flow) मेरोे नितान्त व्यक्तिगत कला यात्राको भिजुअल डायरी (दृश्यात्मक डायरी) हो । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको ‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ मा मेरो तीन दशकको कला यात्राको अनुभवलाई उधिन्ने काम गरेको छु । यसको सुरूवात राजधानीभन्दा पर एउटा दुर्गम गाउँमा जन्मीको अन्तर्मुखी स्वभावको बालकको बाल्यावस्था आफ्नो दौँतरीहरूसँग भन्दा हजुरबुबासँगको सङ्गतमा बित्यो । सदाझैँ त्यो दिन पनि हजुरबुबाको छेउमा बसेर उहाँले गर्ने दैनिक कार्यमध्ये चिना बनाएर एक प्रकारको मोहनी भाकामा रामायणको श्लोक वाचन गर्दैगर्दा त्यसको बिच भागमा छापिएको चित्रमा मेरो आँखा पर्यो ।


मैले त्यो पन्नामाथि हातराखी धेरैबेरसम्म त्यस चित्र हेरिरहेँ । त्यही घटनाले मभित्र अन्तर्निहित कला चेतनाको दियोको सलेदोमा झिल्कारूपी आभाले जन्म लियो । त्यो घटनाले नै यो दृश्यात्मक डायरीको यात्रामा सौभाग्य जुराएको छ । त्यस घटनाले सुम्पिएको सौभाग्यले मेरो बाल–मस्तिष्कमा दृश्यात्मक अनुभवको तरङ्गहरूले लहराउँदै गति पैदा ग¥यो । फलस्वरूप मलाई आकार र त्यसको सौन्दर्यप्रति चाख बढ्दै जाँदा कलाको प्रारम्भिक तत्व ‘रेखा’ को अभ्यास गर्न थालेँ । हाम्रो पुर्खाले विकास गरेको परम्परागत शैलीले बनाइएका कमेरो पोतिएको सेतो भित्तामा आमाले चुलोचौका र मझेरी पोतेर उप्रिएको रातो माटोको झोलमा औँला चोबेर अनगिन्ती रेखाहरू कोर्दै कलानुरागको दीपमा तेल थप्ने प्रयास गर्दैगर्दा हजुरबुबाको सङ्गतबाट स्कुले विद्यार्थी भएँ ।

दृश्यात्मक अनुभवको दायरा बढेसँगै भित्ता कोर्दै गएको रेखाकृतिहरूको कपीमा पनि दायरा बढेकाले घरको भित्ताबाट कपी, बाटोको भित्ता, विद्यालयको झ्याल, ढुङ्गा, कालो पाटी आदिमा रेखा अभ्यासले बसाएको मधुरो क्षितिजलाई कक्षा ९ र १० को नेपाली पाठ्यपुस्तकमा लियोनार्डो डा भिन्सीको जीवनी पढिसकेपछि रेखा र रङ्गले कलाकारलाई समाज र राज्यले दिन सक्ने पहिचान, हैसियत र इज्जतको बारेमा जानकारी भयो । त्यही बेलाबाट अनायास बालमस्तिष्कको कला बीजलाई जगेर्ना गर्दै कलाकार हुने सपना बुनेँ । औपचारिक रूपमा कलाकार हुनेमा दृढइच्छा मभित्र प्रगाढ थियो तापनि सामाजिक मूल्य र मान्यतालाई मध्यनजर गर्दै घरको सपना बोकेर सन् १९९१ म राजधानी आएँ । घरप्रतिको अघात स्नेह र प्रेम हुँदाहुँदै पनि मेरो अन्तरहृदयमा नमेटिने गरी कुँदिएको कलाकार बन्ने सपनाले घरको सपना छोड्न बाध्य तुल्यायो ।

ललितकलामा भर्ना भइ पढाई सुरू गरेपछि घर र मेरो सपनाको टकरावले सम्बन्ध दुई किनारजस्तै भयो । आउटसाइड आर्ट स्टुडेन्टको रूपमा कलामा एमएफए हासिल गरी त्यसैमा जीवन समर्पण गर्दै यहाँसम्म आइपुग्दा कलाकारले भोगेका बाह्य र आन्तरिक असहज, अन्यौल, अस्पष्टता नै मेरो निम्ति सांसारिक घर्षण हुन् पुग्यो भने त्यही घर्षणलाई निरन्तर दृढतापूर्वक चैतन्यपूर्ण अभ्यास खोज र मनन् गर्दै गर्दा प्राप्त स्पष्टता र पहिचानले मेरो यात्रामा कला सिर्जना गर्दा आन्तरिक रूपमा हुने द्वन्द्व, स्पष्टता कम भई त्यसभित्र म हुनुको भाव दिलाउने आन्तरिक खुसी चाहिँ आत्मप्रवाह हो । यो ‘संसारिक घर्षणदेखि आत्म प्रवाह’ मेरो कला यात्राको लगभग सुरूवातदेखि आजसम्मका कलाकृतिहरू सङ्गालिएका पोकाको अनावरण गर्दै मनाउने कला उत्सव हो । यो उत्सवमय कला प्रदर्शनीभित्र मैले इमान्दारिताका साथ उजागर गरेको यात्रा, अनुभूति, दृष्टि, दर्शन र विश्वासलाई सत्यनिष्ठ यथार्थपरक ढङ्गले अनावरण गराउने चेष्टा गरेको छु । जहाँ रेखा चित्रको स्वरूपलाई देख्दा आहा ! भन्दै सुरू भएको चेतनालाई हुर्काउँदै आम भिडको साझा दृष्टि र चैतन्यभन्दा परको आयामले मेरो कला अनुरागसँग हृदयभित्र कुँदिएको कलाकार बन्ने सपनालाई साकार पार्न मभित्रको ‘स्व’ लाई साधनामार्फत उत्खनन् गरी देखिनेबाट ‘स्वयम्’ हुने चेतनाको आभामा मेरो कृति रचना गर्ने आफ्नै डबलीमा उभिएको छु ।

यसरी उभिएर कला निर्माण गर्दैगर्दा मैले प्रकृति, संस्कृति, दैनिक भोगाई, निजी भोगाई, मानवीय दैनिक भोगाई, भावना र संवेग, अध्यात्म, दर्शन आदिलाई मेरो क्यानभासमा वस्तुगत सूक्ष्म चित्रण गर्दै विषयगत (थिम्याटिक) बनाएर कलाकृतिलाई जीवन्त बनाउने यत्न गरेको छु । चित्रमा मेरो विश्वास, सपना, सङ्घर्ष, प्रकृति, सम्पदा, संस्कृति र तिनको अभ्यासद्वारा खडा गरिएका साझा बिम्ब प्रतीक, चिन्हलाई यथार्थवादी, अमूर्त, प्रतीकात्मक शैलीलाई अङ्गीकार गर्दै इतिहास, राजनीति, दैनिक भोगाई एवं मेरो व्यक्तिगत भोगाईबाट जन्मिएको विचारलाई सूक्ष्म चित्रण गरेको छु ।

बाल्यवस्थामा रेखा चित्रसँग भएको जम्का भेटबाट आहा ! भावना उत्पन्न कला चेतनाको झिल्कालाई सम्हाल्दै कलामोहले तय गरेको तीन दशकभन्दा लामो कलायात्राबाट प्राप्त सिर्जनात्मक स्पष्टता र त्यसैको दृष्टिमा खोजिने कला भविष्यको डबलीमा उभिएर ‘स्व’ को उत्खनन् र त्यसको अनन्त आयामलाई नियालेर भेट्टाउन मेरो सिर्जनामा द्रष्टा र दृश्यको सम्मिलनबाट स्वयम्को दृष्टि पाउन कलामा निरन्तर होस्पूर्वक यात्रा गर्ने प्रण गर्दै यात्रामा फुलाइएका विभिन्न फूलहरू सँङ्गालेर फुलाइएको एक थान बुकी चढाउँदै छु । खासमा संसारिक घर्षणदेखि आत्मप्रवाह त्यही बुकी हो ।

(कलाकार उमेश श्रेष्ठको एकल कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा चलिरहेको छ । तीन दशकदेखि कलाक्षेत्रमा सक्रिय श्रेष्ठले प्रकृति, संस्कृति, जनजीवन, सामाजिक तथा सीमान्त समुदायका विषयलाई कलात्मक रुपमा क्यानभासमा चित्रण गर्दै आएका छन् । उनका कलामा नेपाली समाजको यथार्थ चित्र उधिनिएको पाइन्छ । यस पटकको प्रदर्शनीमा उनले आफ्ना यायावर यात्राका कलात्मक बान्कीलाई निकै आकर्षक रुपमा उतारेका छन् ।)

प्रतिक्रिया