काठमाडौं । लेखक तथा कलाकार खगेन्द्र लामिछानेद्वारा लिखित पुस्तक ‘पानीफोटो’ बजारमा आएको छ । सोमबार राजधानीको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित कार्यक्रममा उक्त पुस्तकको सार्वजनिक गरिएको हो । पुस्तकको अभिनेता नीर शाह, अशोक शर्मा, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र के खनाल, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, ‘पानीफोटो’ का लेखक एवं निर्देशक खगेन्द्र लामिछाने लगायतले संयुक्तरुपमा विमोचन गरे ।
सो कार्यक्रममा लेखक लामिछानेसँग सञ्चारकर्मी एवं लेखक शिवानीसिंह थारुले पुस्तकको विषयवस्तुमा केन्द्रित रहेर संवादसमेत गरेकी थिइन् । थारुले चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देशप्रवाह गर्ने विचार व्यक्त गरिन् । उनले चलचित्रलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी हुने जिकिर गरिन् ।
अग्रज कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत् देखाएको चलचित्रप्रतिको प्रतिबद्धता निकै सराहनीय रहेको विचार व्यक्त गरे । उनले नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकोमा खुसी लागेको बताए । उनले ‘पानीफोटो’ पुस्तक चलचित्र बनाउन सहज छैन भन्ने दस्तावेज रहेको सुनाए । शाहले पुस्तक चलचित्रको पाठ्यक्रममै राख्न योग्य रहेको बताए । शाहले भने, ‘पानीफोटोले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीलाई ग्य्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ ।’ उनले चलचित्र बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो अवश्य पढ्नुपर्नेमा धारणा व्यक्त गरे । सो कार्यक्रममा निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ चलचित्र बन्नु आफैंमा विशेष रहेको बताए ।
उनले चलचित्र सामूहिक उत्पादन हो भन्ने कुरा पुस्तकले उजागर गरेको जिकिर गरे । उनले यसरी डकुमेन्टेसन हुनु चलचित्र क्षेत्रका लागि महत्वपूर्ण योगदान रहेको जिकिर गरे । उनले भने, ‘चलचित्रमा ब्याकग्राउन्डमा रहेर क–कसले के–के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ ।’ पण्डितले यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्ने जनाउँदै चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी बताए ।
लेखक लामिछानेले नेपालीमा आफ्नो माटो सुहाउँदो चलचित्र कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको सुनाए । उनले पानीफोटोमार्फत त्यसको अभाव पूर्ति गर्न पुस्तक लेखेको बताए । उनले चलचित्र निर्माणका क्रममा आफूले केही घटना एवं यात्रालाई नोट गरेको र कोरोनाकालमा त्यसलाई लिपिबद्ध गरेको सुनाए । उनले नेपाली चलचित्र क्षेत्रमा पुस्तकले केही नयाँ चीज दिनेमा आफू विश्वस्त भएको विचार व्यक्त गरे ।
प्रतिक्रिया