छिमेकी सम्बन्धमा सन्तुलन कायम राख्न सुझाव

प्रधानमन्त्रीको चीन भ्रमणबारे सर्बदलीय बैठक

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सुझाव दिएका हुन् ।प्रधानमन्त्री दाहाल नेतृत्वको टोली भदौ ३०मा न्यूयोर्क र त्यतैबाट असोज ५ मा चीन भ्रमणमा जाँदै छ ।

आइतबार बिहान प्रधानमन्त्री दाहालले आफ्नो न्यूयोर्क र चीन भ्रमणका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरू, संसद्मा प्रतिनिधित्व गर्ने दलहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए ।

त्यस्तै, चीन भ्रमणमा हुँदा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउन समेत दलहरूले सुझाव दिएका छन् । बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको बताए ।

‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ,’ उनले भने, ‘त्यस क्रममा अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघमा र चीन भ्रमणका बेलासमेत ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको छ ।’

बैठकले दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए ।

उनले आफूले भने गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट सिकेर आउन सुझाव दिएको बताए । ‘गरिबी निवारणको सवालमा चीनले जुन सफलता हासिल गरेको छ, त्यसबाट हामीले थुप्रै सिक्न सकिने कुराहरू छन्, हामीले उनीहरूबाट सहयोग र सहकार्य प्राप्त गर्न सक्छौं,’ बैठकपछि अध्यक्ष राउतले भने, ‘हामीले प्रधानमन्त्रीजीलाई त्यस्तो वातावरण बनाउन पहल गर्न सुझाव दिएका छौं ।’

प्रधानमन्त्री दाहाल यही ३० भदौमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् भने महासभापछि त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक दलहरू सहमत भएको सन्देश दिने गरी आफूले काम गर्ने बताए ।

भ्रमणको पूर्व सन्ध्यामा एजेन्डाबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा उठेका एजेन्डालाई सरकारले गम्भीर रूपमा लिएको बताए । प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘बैठकमा आएको सल्लाह र सुझावलाई सरकारले महत्त्वपूर्ण रूपमा लिएको छु । आसन्न भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक तह तप्कामा सहमत भएको सन्देश सबैमा दिन चाहन्छु ।’

बैठकमा पूर्व प्रधानमन्त्रीहरुसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी थिए ।

यस्तै, बैठकमा रास्वपाको तर्फबाट लिखित रूपमा ७ वटा लिखित सुझाव दिएको उपसभापति डिपी अर्यालले बताए ।

उनले भने, ‘नक्साको विषयमा पनि हामीले चासोका साथ जानकारी गराएका छौँ। जनताले थाहा पाउने गरी आफ्नो देशको धारणा राख्न भनेका छौँ। नाका खुलाउनेबारे पनि ध्यानाकर्षण गराएका छौँ ।’ सो पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।

बैठकमा पार्टीको तर्फबाट सहभागी भएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताए । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाकाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्युको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छौँ । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।

मुख प्रतिपक्षी नेकपा एमालेले नेपालसँगको सम्बन्धलाई लिएर उत्तरी छिमेकी चीनले अनेक आशंका गर्न थालेको बताए । सर्वदलीय बैठकमा एमालेको तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले चीनले नेपाललाई आशंकाको नजरले हेर्न थालेको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोजमा हुन लागेको अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा एमालेको तर्फबाट बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेपछि आफूले विश्वास बटुलेर आउन सुझाव दिएको पनि सञ्चारकर्मीहरुलाई बताएका छन् । नेपालसँगको सम्बन्ध सन्तुलित छिमेकी नीतिको बाटोबाट अन्यत्र लागेको शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने पनि बताएका छन् ।

‘प्रधानमन्त्रीले आशन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ। पछिल्लो समय नेपाल–चीन सम्बन्धमा विश्वासको संकट देखिएको छ। चिनियाँ मित्रहरुको मनमा नेपाल कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको भन्ने शंका देखिएको छ’, उनले भने, ‘नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर जान खोजेको हो कि भन्ने परेको छ ।’

उनले चीनमा नेपालप्रति बढेको अविश्वासलाई चिर्ने काम प्रधानमन्त्रीले असोज पहिलो साताको भ्रमणमा गर्नु जरुरी रहेको पनि बताएका छन् । ‘नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा प्रधानमन्त्रीले कुरा राख्नुपर्छ भन्ने मैले आग्रह गर्छु’, उनले भने, ‘उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, तिनको कार्यान्वयनमै केन्द्रित हुनपर्छ भनेका छौँ ।’

ज्ञवालीले उचस्तरीय भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको पनि उल्लेख गरेका छन् । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको टिप्पणी गरे ।

आइतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्रीले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए । उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए ।

उनले भने, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ । दुवै देश हाम्रा छिमेकीले उनीहरुको चाहना सुरक्षित छैन भन्ने अनुभुति गरेका छन् । त्यसलाई उनीहरुले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् । उनीहरुको व्यवहारबाट देखिन्छ । त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरु योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ ।’
परराष्ट्रविद् पाण्डेले सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा अमेरिकी सेना आएको बारे प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका सांसद सुवालले एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनेको तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएको बताए ।

संयुक्त राष्ट्रसंघ महासभामा गएका बेला युक्रेनमा गरेजस्तै युद्धमा फसाउने तर्फ अमेरिकासँग सचेत हुन सुझाव दिएका छन् । यो विषयलाई अमेरिकासँग कुटनीतिक हिसावले राख्न भनेको उनले बताए । अमेरिकाले युक्रेनलाई युरेनियम भएको हतियार पठाउन लागेको दावी गर्दै सांसद सुवालले अमेरिकाको त्यस्तो नीतिलाई सचेत गराउन सुझाव दिएको बताए ।

नेपालले असंलग्न परराष्ट्रनीति भन्ने तर सम्बन्धचाहीँ हतियार उत्पादन र विक्री गर्ने देशको पक्षमा रहने गरेको भन्दै युद्ध गर्ने देशको पक्षमा लाग्न नमिल्ने बताए । उनले भने– ‘असंग्न परराष्ट्रनीति भन्दाभन्दै देश समाप्त हुने स्थिति आउँदैछ, तपाइँले यसमा ख्याल राख्नुपर्छ भनेर प्रधानमन्त्रीलाई भनेको छु । एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भन्नुभयो तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएँ ।’

चीन भ्रमणको बारेमा सुझाव दिँदै चीनले गरेको विकासको अनुभव लिन, चीनले गरेको गरिवी निवारणको अनुभव लिन, उत्पादन क्षेत्रमा गरेको अनुभव लिन,हाम्रा ८० लाख युवालाई विदेशमा सस्तो ज्यामी बन्न पठाउने, अनि यहाँ के उत्पादन हुन्छ ? भन्ने प्रश्न गर्दै चीनको अनुभव लिएर नेपालमा नै उत्पादन बढाउने काम गर्न सुझाव दिएको सांसद सुवालले बताए ।

चीनका राजदूतले नेपालको हितका लागि, विकासका लागि सुझाव दिएको तर त्यसलाई उछालेर चीनले हस्तक्षेप गर्यो, राजदूतलाई स्पष्टिकरण लिने भन्न मिल्छ भनेर आफूले कुरा राखेको उनले बताए ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, रास्वपाका उपसभापति डोलप्रसाद आर्याल, पूर्वपरराष्ट्रमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी र रमेशनाथ पाण्डेलगायत सहभागी थिए ।

प्रतिक्रिया