आत्महत्या जोखिममा भएका व्यक्तिको पहिचान गराैं

मिना बुढाथोकी

सल्यान । करिब ६ महिना अघिको कुरा होला सल्यानमा एक पुरुषले आत्महत्या गरे । ३५-३६ वर्षको उमेरमा आत्महत्या गरेको खबरले स्थानीयलाइ झस्कायो । किन यसो गरे होलान, घरपरिवारको विचल्लीहुने भो, कमाइ पनि राम्रै थियो, बरु केही समस्या भएको भए पनि विस्तारै समाधान त हुन्थ्यो होलानि विचराले गलत बाटो रोजे भनेर एक आपसमा कुराकानी हुनथाल्यो ।

आत्महत्या गरेको तेस्रो चौथोदिन पछि फेरी अर्को विषयमा चर्चा हुनथाल्यो, उस्ले त पहिले देखि नै योजना बनाउन थाल्या रहिछ नि, परिवारमा पहिले भन्दाअली फरक व्यवहार गर्ने, एक्लै बस्ने, परिवारसँग कुराकानी पनि कमहुँदै गएको र अनौठो व्यवहार देखाउथ्यो रे । अहिले आएर थाहा भयो यस्तो निर्णय लिनखोजेको रहेछ । त्यो कुरा पहिलानै थाहा पाएर परिवारका सदस्यले मनो परामर्श वा उपचार गराउन सकेको भए यस्तो घटना हुने थिएन कि ? तर पछि पछुताएर मानिसलाइ फर्काएर ल्याउनपनि त सकिदैन । यो घटना त प्रतिनिधिमुलक मात्रै हो अहिलै आत्महत्या, प्रयास र आत्महत्याको सोच आउनेहरुको संख्या बढ्दै गएको छ ।

हाम्रो समाजमा कसैले भन्यो, मलाइ त जिन्दगी देखि वाक्क लागि सक्यो यस्तो जिन्दगीभन्दा त बरु मर्नु बेस यस्तै भयो भने त म मर्छु होला, यस कुरालाइ मानिसले गम्भिरता पूर्वक लिंदैनन बरु त्यसलाइ मजाकको रुपमा लिन्छन् ।

अहँ उहाँले नाटक गर्नू भएको हो । मर्ने मान्छेले यसरी हल्लागर्दै हिड्छ त ? कति पटक भयो म त मर्छु भन्दै घरबाट निस्केको तर फेरी फर्केर आइ हाल्छ । मर्ने मान्छे ले मर्छु भन्दै भन्दैन नि । यसरी आत्महत्याको जोखिममा रहेका व्यक्तिलाइ हाम्रो गाउँघरमा यस्तै प्रकारको शब्दप्रयोग गरेर लाँछना लाउने गरिन्छ । जोखिममा भएका व्यक्तिको पहिचानगर्न नसक्दा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या समेत दिनानुदिन बढ्दै गएको छ ।

जोखिममा भएका व्यक्तिको पहिचान गरि समयमै आवश्यक परामर्श तथा उपचार गर्न सक्यौं भने आत्महत्या रोकथामगर्न सकिन्छ । नेपालको संविधानले बाँच्नपाउने अधिकारको प्रत्याभूत गरेको भएता पनि विभिन्न बाध्यात्मक परिस्थितिबाट उम्कन नसक्दा व्यक्तिले आत्महत्यालाई अन्तिम विकल्पको रूपमा लिइरहेका हुन्छन् ।

आत्महत्या जोखिम भएको कसरी थाहा पाउने ?

कुनै व्यक्तिले विगतमा आफुले आत्महत्याको प्रयास गरेको छ भने त्यो व्यक्ति फेरी पनि जोखिममा हुन सक्छ भनेर बुझ्नु जरुरी हुनछ । परिवारका कुनै सदस्यले आत्महत्या गरेको छ भने, कुनै पनि अभिव्यत्तिबाट आत्महत्या सम्बन्धि व्यवहार देखायो वाबारम्बार आत्महत्याको कुरा गरी रह्यो भने पनि त्यो व्यक्ति आत्महत्याको जोखिममा रहेको हुन्छ । व्यक्तिमा हिनता बोध, आत्मग्लानी, निरासावादी सोच पलायो भने र हालसालमै ठुलो घटना घटेको अवस्थामा परेको व्यक्तिमा पनि आत्महत्याको जोखिम उत्तिकै हुन्छ । यसै गरि मानसिक स्वास्थ्य समस्यामा रहेको, लागु पदार्थ दुव्र्यसन र एक्लोपनका कारणले समेत मानसिमा आत्महत्याको सोच आउने गरेको पाइन्छ । आत्महत्या गर्ने प्रायःव्यक्तिले त्यसको बारेमा कुरा गरेका हुन्छन तर अन्य व्यक्तिले आफ्नो कुनै किसिमको माग पुरा गर्न धम्काएको हो भनेर बुझ्ने गरेको गलतधारण समुदायमा व्याप्त देखिन्छ ।

आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका


आत्महत्याको जोखिममा भएका व्यत्तिको पहिचान भएपछि रोकथामको उपायतर्फ लाग्नु पर्छ । मनोविद तथा मनोचिकित्सकका अनुसार सर्वप्रथम जोखिमका कारणहरुको आंकलन गर्ने, कुनै पनि ब्यक्ति किन आत्महत्या गर्न चाहन्छ सिधै प्रश्न सोध्ने गर्नुपर्छ । आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने प्रयास गर्ने, कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने र प्रसस्त समय दिएर सेवाग्राहीको कुरा ध्यानपुर्वक सुनिदिँदा पनि आत्महत्याको जोखिममा रहेका व्यक्तिलाइ राहत महसुस हुन्छ ।


यस्का साथै सहानुभूति सदभाव प्रकट गर्ने र भावनात्मक सहयोग गर्ने गर्नु पर्दछ । परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग जोखिममा भएका व्यक्तिलाइ जोडिदिने साथै सहयोगको निश्चितता गर्नाले पनि जोखिम भएका व्यक्तिलाई सम्हाल्न सकिन्छ । यदि धेरै जोखिम छ भने त्यस्ता व्यक्तिलाइ कहिलै पनि एक्लो छाड्नु हुँदैन् । त्यस्ता व्यक्तिहरुलाइ आवश्यकता अनुसार मनोचिकित्सक, मनोविद, मनोपरामर्शकर्ता कहाँ पठाउनु पर्दछ । आशा जागाऔँ जीवन बचाऔंः भन्दै मानिसको जीवन अमुल्य छ, यस्को संरक्षणमा पनि उत्तिकै ध्यानदिन आवश्यक छ । विश्व आत्महत्या रोकथामा दिवसको अवसरमा शुभकामना ।

प्रतिक्रिया