एक मुठ्ठी माटोको सुवास

० धेरै वटा लघुकथाले वर्तमान समय र समाजका विविध पात्र र प्रवृत्तिलाई चोटिलो प्रहार गरेका छन् । सरल लाग्ने लघुकथाहरूले पनि लक्षणा अथवा अभिधा अर्थमा राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध जोडदार कटाक्ष पनि गरेका छन्

० सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्यचेत, मानवीय संवेदना, चरित्रगत आचरण, स्वार्थी मनोवृत्तिलाई भुजूले आफ्ना लघुकथामा सुक्ष्म ढङ्गले केलाएका छन् । सामाजिक आडम्बर, द्वैध राजनीतिक चरित्र आदिमाथि पनि उनले लघुकथा लेखेका छन्

रत्न प्रजापति

खरायोझैँ छिटो दौडेर छिटै थाक्नु र विश्राम खोज्नुभन्दा कछुवाझैँ बिस्तारै तर निरन्तर दौडेर गन्तव्यमा पुग्नु बढी अर्थपूर्ण हुन्छ । एउटा प्रचलित बालकथामा खरायो र कछुवाको दौडको बाजी पर्छ । खरायो छिटो दौडेर कुछवाभन्दा धेरै अगाडि पुग्छ र थकाई मार्न बस्छ । थकाइले ऊ भुसुक्कै निदाउँछ । उता कछुवा बिस्तारै दौडिन्छ र निरन्तर दौडिरहन्छ । कहीँ थकाइ नमारी उसले खरायोले भन्दा पहिला दौड पूरा गर्छ र बाजी मार्छ ।

बिस्तारै दौडने कछुवाजस्तै थोरै लेख्ने तर लेख्न नछोड्ने लेखकमध्येका एक हुन् सुरेन्द्रलाल भुजू । कति यस्ता लेखक छन्, जो कुनै समय लेखनमा निकै सक्रिय भए पनि पछिल्लो समय लेखनबाट पूर्णरूपमा विश्राम लिएका छन् । तर भुजूले त्यसरी आक्रामक भएर लेखेनन् र लेखनबाट थाकेर विश्राम पनि खोजेनन् । व्यावसायिक कारणले केही समय सक्रिय लेखनबाट थोरै ओझेल परे पनि लेखनलाई निरन्तरता दिइरहे र पछिल्लो समय पुनः कविता र लघुकथा लेखनमा सक्रिय भएका छन् । यही सक्रियता र लेखनमा निरन्तरताको परिणाम हो उनको पछिल्लो प्रकाशित लघुकथासङ्ग्रह ‘एक मुठ्ठी माटो’ । यो लघुकथासङ्ग्रहलाई साहित्य, कला र सङ्गीत क्षेत्रका अग्रज तथा अनुज स्रष्टाबीच संवाद र सहकार्य होस् भन्ने हेतुले स्थापित सिर्जना अभियान समाज भक्तपुरले प्रकाशन गरेको छ ।

‘एक मुठ्ठी माटो’ लघुकथासङ्ग्रहमा विविध विषय र सन्दर्भका ४२ वटा लघुकथा सङ्गृहीत छन् । मूलतः सामाजिक विषयवस्तुमा लेखिएका लघुकथाले हामी बाँचेको समाजको पात्र, चरित्र, विकृति, विसङ्गति र प्रवृत्तिलाई उजागर गरेका छन् । केही लघुकथा सामाजिक र राजनीतिक व्यङ्ग्यचेतका दृष्टिकोणले निकै तिक्खर छन् । पाठकको मनमा च्वास्स पार्ने वा झट्का हान्ने सामथ्र्य उनका धेरै वटा लघुकथामा छन् । लघुकथाहरूमा सुन्दर बिम्बको प्रयोग भएको छैन, तर सामान्य भनाइले नै गहन विषयतर्फ इंगित गर्न भने भुजूका लघुकथाहरू सक्षम देखिन्छन् ।

लोग्नेस्वास्नीबिचको मायाप्रेम, मित्रता र नातबिचको भिन्नता, जातीय विभेदप्रतिको असन्तुष्टि र विद्रोह, राष्ट्रियताको अवमूल्यनप्रति चिन्ता, नैतिक मूल्यमा आएको स्खलन, समयसँगै परिवर्तनको आवश्यकता, मूल्यहीन राजनीति र नैतिकविहीन नेताप्रति कटाक्ष, बेकारीले विकृतिलाई जन्म दिन्छ भन्ने यथार्थबोध, महिला सशक्तिकरण, जैविक अर्थात् दैहिक आवश्यकताले खोज्ने नयाँ सम्बन्ध, माटोको माया, संस्कारमा सुधार र परिवर्तनको आवश्यकता, यौनहिंसाप्रति उग्र–विद्रोह र बदलाको भाव, कुनै पनि घटना वा विषयवस्तुलाई हेर्ने फरक दृष्टिकोण, नारीलाई विभेद नारीले नै गर्छन् र जीवन आस्था र विश्वासमै अडेको हुन्छ भन्ने जस्ता यथार्थवादी भाव र विचार भुजूका लघुकथामा आएका छन् । लघुकथाकार भुजूले कुनै पनि विषयवस्तुलाई नयाँ अथवा फरक दृष्टिकोणले हेर्न खोज्छन् भन्ने एउटा प्रमाणको जोडदार लघुकथा हो ‘भाइरल’ । सीताको अग्निपरीक्षाका बारेमा आममान्छेको भन्दा फरक दृष्टिकोण आएको छ यो लघुकथामा ।

‘उथलपुथल’ लघुकथा साँच्चै नै उथलपुथल पार्ने खालको छ । यसमा बाध्यता र संयोग दुवैको मेल पनि छ । तर घटनाक्रमले जुन मोड लिएको छ, त्यो अकल्पनीय नै छ, जसले पाठकको मनमा पनि उथलपुथल ल्याइदिन्छ । असझमदारी र अविश्वासले अप्रिय परिणाम निम्त्याउँछ भन्ने भाव (‘भुसको आगो’), आधुनिक पुस्तामा बढ्दै गएको एउटा गलत पूवत्तिप्रति सचेत रहन प्रेरित गर्ने सन्देशमूलक (‘अटोग्राफ’), नारी सशक्तिकरणको आवश्यकता औँल्याउने (‘अपराजिता निर्णय’), अति आधुनिक हुन खोज्नु र संस्कारविपरीत जान खोज्नु जीवनका लागि घातक हुन्छ (‘लिभिङ टुगेदर’), वैदेशिक रोजगारीले सामाजिक पीडा बढाएको (‘लाश कसको’), महिला सशक्तिकरणले सामाजिक सोच, धारणा र व्यवहारमा परिवर्तन ल्याउँछ (‘विनिताको सफलता’) भन्ने भाव र सन्देश बोकेका लघुकथाले पाठकलाई पठनको भरपुर आनन्द दिनेछन् ।

जातीय विभेद अन्त्य गर्न शैक्षिक र आर्थिक विकास जरुरी छ भन्ने सन्देश बोकेको ‘जातको कुरा’, पर्यावरणीय कथा भइकन् पनि वर्तमान विकृत राजनीतिलाई कडा प्रहार गर्न सफल प्रतीकात्मक लघुकथा ‘रुखहरूको प्रायश्चित’, कलामा समर्पित कलाकारको पीडा र वेदनालाई व्यक्त गरिएको ‘कलाकार’ जस्ता लघुकथाले सामाजिक परिवर्तनका लागि प्रेरणा पनि प्रदान गर्नेछन् ।

भुजूका लघुकथा सरल, सौम्य र शालीन छन् । तीब्र असन्तुष्टि, आक्रोश र उग्र–विद्रोह नभए पनि व्यक्तिका असन्तुष्टि, चित्त दुखाई, आक्रोश र विद्रोहको भाव भने उनका लघुकथामा अवश्य भेटिन्छन् । सामाजिक तथा राजनीतिक बेथितिप्रति शालीन र सौम्य ढङ्गले असन्तुष्टि, आक्रोश र विद्रोह पोखिएका छन् । भुजूका लघुकथाहरूको मुख्य विशेषताको रूपमा आएको छ मानवीय संवेदना पक्ष । उनका लघुकथा पठनबाट पाठक स्वयंलाई पनि निकै भावुक र संवेदनशील बनाउने सामथ्र्य भुजूका लघुकथामा छन् । राष्ट्रप्रेम अर्को बलियो पक्षको रूपमा आएको छ भुजूका लघुकथामा । ‘एक मुठ्ठी माटो’ र ‘माटोको माया’ जस्ता लघुकथामा राष्ट्रप्रेम झल्किएको पाइन्छ ।

हामी बाँचेको समाजको अनुहारका सबै पाटालाई देखाउने प्रयत्न लघुकथाकार भुजूले गरेका छन् । हाम्रा भोगाइ, हाम्रा अनुभव र हाम्रा अनुभूतिलाई नै आफ्ना लघुकथामा उतारेका छन् भुजूले आफ्ना लघुकथामा । सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्यचेत, मानवीय संवेदना, चरित्रगत आचरण, स्वार्थी मनोवृत्तिलाई भुजूले आफ्ना लघुकथामा सुक्ष्म ढङ्गले केलाएका छन् । सामाजिक आडम्बर, द्वैध राजनीतिक चरित्र आदिमाथि पनि भुजूले लघुकथा लेखेका छन् ।
लघुकथा सिद्धान्ततः चोटिला हुनपर्ने मान्यता छ, जसले च्वास्स आगोले झैं पोल्छन् र मस्तिष्कलाई सन्न बनाउँछन् । ‘एक मुठ्ठी माटो’ लघुकथासङ्ग्रहभित्रका सबै लघुकथाहरू चोटिला छैनन्, तर प्रभावशाली छन् र सन्देशमूलक छन् । धेरै वटा लघुकथाले वर्तमान समय र समाजका विविध पात्र र प्रवृत्तिलाई चोटिलो प्रहार गरेका छन् । सरल लाग्ने लघुकथाहरूले पनि लक्षणा अथवा अभिधा अर्थमा राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध जोडदार कटाक्ष पनि गरेका छन् ।

सङ्ग्रहभित्र सबै लघुकथा उत्तिकै सशक्त छन् भन्न सकिन्न । तर केही लघुकथा भने साँच्चै सशक्त छन् । कथानक, भाव, प्रस्तुति र संवेदनाका दृष्टिकोणले केही लघुकथाहरू पाठकको मस्तिष्कलाई सन्न पार्ने खालका छन् । ‘सबैभन्दा ग¥हौँ वस्तु’ पाठकको मनमा सन्न पार्ने लघुकथा हो । आफ्नै छोराको लाश बोक्नुपरेको एउटा विवश बाबुको पीडा पोखिएको छ यो लघुकथामा । वास्तवमा संसारमा अरू सबै चिजभन्दा आफ्नै छोराको लाश सबैभन्दा ग¥हौँ लाग्छ एउटा दुःखी र पीडित बाबुलाई । छोरा गुम्दाको पीडा अथवा जीवनको सहारा टुट्दाको पीडा यो लघुकथामा निकै मार्मिक ढङ्गले पोखिएको छ । पाठकको मन–मस्तिष्कलाई सन्न पार्नेछ यो कथाले । आखिर किन सबैभन्दा ग¥हौँ लाग्छ आफ्नो छोराको लाश ? यो प्रश्नको जवाफ पाठकले आफ्नै ढङ्गले खोज्न सक्छन् ।

भुजूले गम्भीर चिन्तन गरेर लघुकथा लेखेका छैनन् । कल्पनाको उडान भरेर पनि लेखेका छैनन् । स्वैरकाल्पनिक पनि छैनन् भुजूका लघुकथा । बिहान उठ्नासाथ सुन्दर सँझ्याबाट देखिने हाम्रै टोल र समाजमा दैनन्दिनको सामाजिक व्यवहारका क्रममा भोगिने भोगाइ, अनुभव र अनुभूतिलाई नै लघुकथाको विषयवस्तु बनाएर लेखेका छन् । विषयवस्तुको खोजीमा कतै एकान्तवासको आवश्यकता परेको छैन उनलाई । समाजभित्र हामीले दैनन्दिन भोगेका हाम्रा भोगाइ, अनुभव र अनुभूतिलाई नै आफ्नो मौलिक लेखनशिल्पद्वारा लघुकथामा उतारेका छन् । त्यसैले उनका हरेक लघुकथा हाम्रै जीवनसँग मेल खाएझैँ लाग्छन् र उनका लघुकथाहरू पाठकलाई आफ्नै जीवनसँग पनि मेल खाएझैँ लाग्छन् । अनि ती लघुकथामा आफ्नै भोगाइ, अनुभव र अनुभूतिको महसुस पनि हुन्छ । साँच्चै भन्ने हो भने भुजूका लघुकथाहरूमा आफ्नै माटोको मिठो सुवास पाइन्छ । त्यो सुवासले मनलाई आनन्द दिन्छ ।

समकालीन चेतसहित सामाजिक परिवर्तनको गुञ्जाइस पनि छन् भुजूका लघुकथामा । वर्तमान समाजलाई हेर्ने फरक दृष्टिकोण र परिवर्तनका लागि चेतनाको प्रवाहले गर्दा भुजूका हरेक लघुकथा सामान्य भइकन पनि ओजपूर्ण बनेका छन् । भुजूको लघुकथा लेखनमा थोरै स्थानीयपन पनि छ र स्थानीय विषयवस्तुकै बहुलता पनि ।

समग्रमा ‘एक मुठ्ठी माटो’ लघुकथासङ्ग्रह पठनीय छ र मननीय पनि । लघुकथाहरूमा विषयवस्तुको पुनरावृत्ति, भाषिक त्रुटि, शब्द र शीर्षक चयनमा देखिएको कमजोरी आदिलाई सुधार्दै जाने हो भने भुजूको लघुकथा लेखन अझै सशक्त हुँदै जानेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया