काठमाडौं । नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान गर्न समेत सकेको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा समेत छानिएको छ । ‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोटमा परेको यो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका छन् ।
राई जातिको कथालाई चलचित्रमा उतारेको निर्देशक सुब्बाले बताए । उनले भने, ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’ चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको जसमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई उभिन्ने कोशिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।
सोही महोत्सवमा सौरभ राईले निर्देशन गरेको चलचित्र ‘गुराँस’ समेत छनोटमा परेको छ । चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो प्रदर्शनी (प्रिमियर) भएको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गरेका हुन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’ को शीर्ष भूमिका निर्वाह गरेका छ भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा छन् । अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताए ।
उनले भने, ‘हाम्रो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनुनै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो । अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन् । यो गौरवको विषय हो ।’ उनले निजी पहलमा प्राप्त भइरहेको उपलब्धिमा सरोकारवाला निकायले सहायता गर्नुपर्नेमा जोड दिए । निरञ्जन भेटवालले निर्देशन गरेको लघुचलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनोट भएको छ । यो एसियाली लघुचलचित्र विधामा छानिएको हो । दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ ।
प्रतिक्रिया