समाज रुपान्तरणमा रङ्गमञ्चको विशेष मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्ममा रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । उनले नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्नसक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राखिन् ।

उपप्रमुख डङ्गोलले भनिन्, ‘जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यमबाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रङ्गमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ ।’ उनले रङ्गमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभई समाजको ऐना पनि बनिरहेको सुनाइन् । उनले भनिन्, ‘समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रङ्गमञ्चको विशिष्ट भूमिका हुन्छ ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाति एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देशप्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गरे । उनले सामाजिक रुपान्तरणमा कला, साहित्य, संगीत तथा नाटकले दिशाबोध गर्न सक्नुपर्ने विचार व्यक्त गरे ।

नाट्यकर्मी महासङ्घ नेपालका पूर्वअध्यक्ष विजय विस्फोटकले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई संगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिए । महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासघ स्थापना गर्न परेको घटना सुनाए ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभइ सिनेमा क्षेत्रसमेत राजनीतिक भागबण्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमिल हुन पुगेको विचार प्रकट गरे । सिल्क रोड इन्टर नेसनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकारले देशको पहिचानका रुपमा रहेका कला, सस्कृति, पहिचानसँग जोडिएका विषयवस्तुलाई रङ्गमञ्चका माध्यमद्वारा जीवन्त राख्ने कार्यलाई समाजका सबै क्षेत्रबाट सहयोग पु¥याउन जरुरी रहेको धारणा राखे । प्रा.डा रामचन्द्र पोखरेलले रङ्गमञ्च जीवनको पुर्नसिर्जना भएको टिप्पणी गरे । अध्यक्ष राजेन्द्र रिमालले आगामी कार्यकालमा देशभित्र र बाहिरको नाटकसँग सम्बन्धित सङ्घसंस्था र व्यक्तिसँग समन्वय, सम्पर्क र सञ्जाल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए । मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि अग्रमोर्चामा रहेर काम गर्ने कलाकारको संस्थाकारुपमा विस २०६५ मा स्थापना भएको हो । कार्यक्रममा रङ्गमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ठ योगदान पु¥याउने भण्डारी र विस्फोटकलाई सम्मान प्रदान गरियो ।

यसैगरी, महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनले राजेन्द्र रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । ११ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जेवी डिसी, सचिवमा दीपक निरौला, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यमा पुरु लम्साल, दीपक आचार्य, राम केएसी, पुष्पराज अवस्थी र शुसिला लक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

प्रतिक्रिया