काठमाडौं । कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; त्यस्तो लेखोटलाई प्रज्ञा नेपाली बृहत् शब्दकोशले अभिलेखको रुपमा परिभाषित गरेको छ । अभिलेख तथा अभिलेखन कुनै पनि व्यक्ति, संस्था, कार्यालय, देश सबैका लागि चाहिने महत्वपूर्ण सम्पत्ति हो । इतिहासका विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रमाणका लागि पनि पुराना दस्तावेजहरुलाई अभिलेखीकरण गर्न अत्यन्तै जरुरी छ । नेपालमा अभिलेखीकरणमा ध्यान नदिँदा हाम्रा धेरै पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका थुप्रै सम्पत्ति, सामाग्रीहरु लोप भएर गइसकेका छन् । सरकारी क्षेत्रमा हेर्ने हो भने नेपालमा मुख्यगरी २००७ सालपछिको समयमा पृथक रुपको अभिलेख तथा अभिलेखनको परम्पराको सुरुवात भएको देखिन्छ ।
विधिवत् रुपमा भने २०२४ साल ताका राष्ट्रिय अभिलेखालयको स्थापना भएपश्चात् यसले मूर्तरुप लिएको पाइन्छ । यसरी सरकारीसँगै पछिल्लो समय नेपालमा पनि संस्थागत तथा व्यक्तिगत रुपमा अभिलेखन कार्य भइरहेको देखिन्छ । यसमध्ये व्यक्तिगत रुपमा विगत १३ वर्षदेखि अभिलेख तथा अभिलेखीकरणको कार्य गरिरहेका एक व्यक्ति हुन्ः अनुसन्धानकर्मी सिताराम बडाल । बडालले आफ्नो अभिलेखमा नेपाली गीत संगीतसँगै चलचित्र, कला, साहित्य, इतिहास, संस्कृति, जीवनशैली लगायतका विविध विधाअन्तर्गत रहेर तिनीहरुसँग सम्बन्धित पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, पुस्तक, डायरी, समाचार, लेख आदिलाई समेटेका छन् । यी सम्पूर्ण अभिलेखलाई डिजिटल माध्यममा राखिएको छ । उनी भन्छन्, ‘मेरो अभिलेखमा हालसम्म सबै विधाका गरी ८ टिबीभन्दा बढी सामग्री संकलन भएका छन् । ती सामग्रीहरु अहिलेको पुस्ताका लागि मात्र नभई आगामी पुस्ताका लागि पनि महत्वपूर्ण सम्पत्तिको रुपमा जम्मा भएका छन् जस्तो लाग्छ ।’
‘अभिलेखन र अनुसन्धान एक अर्काका परिपूरक हुन् । अनुसन्धानकै कामहरु गर्दै जाँदा अभिलेख बन्दै गयो । त्यसलाई उचित व्यवस्थापन गर्दै नयाँ सामग्री थप्दै जाँदा यो काम आजको अवस्थामा आइपुगेको हो,’ सिताराम भन्छन् । आफ्नो महत्वपूर्ण अभिलेखमा सितारामले भारतीय गायिका आशा भोसले, धु्रपद गायक पण्डित उदय भवालकर, गायिका सञ्जीवनी, म्युजिक डिरेक्टर सन्तनु मोइत्रादेखि नेपालका राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशी, स्व.रानुदेवी अधिकारी, स्व. हरिप्रसाद रिमाल, स्व. भेँडीखर्के साइँला, सीपि लोहनी, सुनिता रेग्मी, एलपी जोशी, स्व.पीएल श्रेष्ठ, भृगुराम श्रेष्ठदेखि नेपालका २५० भन्दा बढी संगीतकर्मी, चलचित्रकर्मी, इतिहासविद्, रंगकर्मी, कवि, कलाकार, विशेषज्ञ, शिक्षाविद्, भाषाविद्, बुद्धिजीवी, व्यवसायी, खोज अनुसन्धानकर्मी, साहित्यकार, प्रेरणादायी व्यक्तित्वको भिडियो अन्तर्वार्तालाई समेत समेटेका छन् । उनको अभिलेखमा दिनहुँ सामग्रीहरु थपिँदैछन् ।
उनी भन्छन्, ‘व्यवस्थापन नै अभिलेख तथा अभिलेखन कार्यको सबैभन्दा बढी ध्यान दिनुपर्ने पाटो हो । हालसम्म मैले व्यक्तिगत रुपमा नै लगानी गरेर यस काम गरिरहेको छु ।’ बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश नेपालका विविध भाषा, चाडपर्व, जीवनशैली, रहनसहन, भाषा, संस्कार, संस्कृति, गीतसंगीत, वेषभूषा आदिको खोज, अध्ययन, अनुसन्धान र अभिलेखनकै काममा आगामी दिन समर्पित गर्ने चाहना राख्ने बडाल अंग्रेजी साहित्यमा स्नातकोत्तर हुन् ।
आफूले अभिलेख गरेका सामग्रीलाई नै आधार मानेर आगामी दिनमा प्राज्ञिक काममा नै जीवन समर्पित गर्ने उनको योजना छ । बडाल भन्छन्, ‘मैले अभिलेखमा जम्मा गरेका सामग्रीहरु देश तथा विदेशका सबैका लागि अध्ययन सामग्री बनुन् भन्ने चाहना छ । खोज, अनुसन्धान तथा अभिलेखनको काम गर्दा मैले धेरै संघर्ष गरेको छु । अरुले मेरो जस्तो दुःख नपाउन् ।’
उनी थप्छन्, ‘नेपालमा अझै पनि अभिलेख तथा अभिलेखन कार्य र यसको महत्वको बारेमा धेरैले बुझ्नै बाँकी छ । यिनै कार्यलाई उचित ध्यान नदिँदा हामीले सधैं अरुकै भर पर्नुपर्ने अवस्था आयो । अरुबाट आउँदा ती कुराहरु फरक रुपमा पनि प्रस्तुत भए । जसले हामीलाई नै अहित गरेको छ र कालान्तरमा अझै गर्नेछ ।’ अमेरिका र क्यानडाका विश्वविद्यालयबाट शोध कार्यका लागि नेपाल आएकाहरुले आफ्नो कामप्रति विशेष चासो राखेता पनि नेपालमा भने त्यस्तो चासो नपाइएको उनको भनाई छ ।
बडाल भन्छन्, ‘कतिले अभिलेख तथा अभिलेखनसम्बन्धी कार्यलाई गाह्रो कामको रुपमा व्याख्या गरे पनि मैले यसमा आफूलाई समर्पित गर्दै सहज रुपमा लिएको छु ।’ राष्ट्रियस्तरका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका बडाल अभिलेखनका साथै फोटोग्राफी तथा भिडियोग्राफीमा समेत विशेष रुचि राख्दछन् ।
प्रतिक्रिया