गीति भिडियोमा रमेका गोविन्द

काठमाडौं । गीत संगीतको भिडियोमा पछिल्लो समय अभिनय गर्ने कलाकारको संख्या बढ्दै गइरहेको छ । यस क्षेत्रमा केही व्यक्ति लामो समयसम्म टिकिरहेका हुन्छन् भने केही क्षणिकका लागि मात्रै सीमित भएर अन्य पेशामा पुग्छन् । कति त रहरले यस क्षेत्रमा जोडिएका पनि छन् । तर, गोविन्द विवश (सार्की) भने गीति भिडियोको अभिनयमा जमिरहेका छन् । सानैदेखि यस क्षेत्रमा नृत्य तथा सांगीतिक क्षेत्रमा रुचि भएका उनले विद्यालय तहमै आफ्नो प्रतिभा प्रस्तुत गर्न सफल भएका थिए । उनले विद्यालय स्तरीय प्रतियोगितामा सहभागी भएर नृत्यमा च्याम्पियन हुँदै जिल्लामा समेत प्रायः प्रथम र दोस्रो स्थान हासिल गरेको सुनाए ।

एक दशकअघिबाट गीति भिडियोमा औपचारिकरुपमा प्रवेश गरेका गोविन्दले हालसम्म झण्डै दुई सय हाराहारी गीतका भिडियोमा अभिनय गरिसकेको जानकारी दिए । उनले भने, ‘लामो समय भयो यो क्षेत्रमा म औपचारिकरुपमा लागेर अभिनय गर्न थालेको, लगभग दुई सय हाराहारीका गीतको भिडियोमा अभिनय गरेको छु । प्रायः भिडियोले राम्रै भ्युज पाएको छ ।’

दाङको तुल्सीपुर नगरपालिका–९ मा बुवा जितबहादुर सार्की र आमा बेलमती सार्कीको कोखबाट जन्मिएका गोविन्दले आफूलाई घरपरिवारबाट पनि साथ मिलेको सुनाए । उनले म्युजिक भिडियोमा अभिनयसँगै धेरै गीतका भिडियोमा कोरियोग्राफी गरेकोसमेत बताए । स्वदेशका मेला महोत्सवमा प्रायः गइराख्ने उनले भारतमा समेत पुगेर आफ्नो नृत्य प्रस्तुति दिएको सुनाउँदै यही अभिनयमार्फत दुईवटा म्युजिक भिडियो अवार्ड प्राप्त गर्न सफल भएको जनाए । केही महिनाअघि सम्पन्न भएको स्पर्श म्युजिक भिडियो अवार्ड र अर्को स्टार अवार्ड जित्न सफल भएको गोविन्दले सुनाए । आफू यही गीति भिडियोकै अभिनयलाई निरन्तरता दिँदै जाने उनले बताए । ‘मेरो बाल्यकालको सपना भनेकै यही मोडलिङ क्षेत्रमा लागेर केही गर्छु भन्ने थियो’, गोविन्दले भने, ‘आफ्नो औपचारिकको कर्मलाई थप परिमार्जित गरेर अघि बढ्ने योजनामा छु ।’ अभिनयसँगै गीति भिडियोमा कोरियोग्राफीलाई पनि आत्मसात गर्दै जाने उनको भनाइ छ ।

प्रतिक्रिया