कोरोना महामारीमा अनलाइन कक्षा लिएका विद्यार्थीलाई मेडिकल काउन्सिलको मान्यता

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।

काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो ।

काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट ६ महिना अनलाइनमार्फत लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिए ।

उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले ६ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एक सय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए । उनका अनुसार काउन्सिलले विदेशी कलेजमा पढे पनि अनिवार्य तालिमको व्यवस्था गरेको छ । यसअघि कोरोना महामारीको समयमा लामो समयसम्म घरमा बसेर विदेशका शिक्षण संस्थामा पढेका विद्यार्थीलाई मान्यता नदिएपछि काउन्सिलमा दर्ता हुन पाएका थिएनन् ।

‘केही विद्यार्थी कोभिड–१९ सुरु हुनासाथ कक्षा सञ्चालन भएपछि त्यो विद्यार्थी विदेशमा बस्न पाएन र नेपालमा आएर अनलाइनमार्फत कक्षा लिनुपर्यो’, काउन्सिलका अध्यक्ष प्रा डा भूसालले भने, ‘त्यसरी नेपाल आएर अनलाइनमा ६ महिना कक्षा लिएकालाई मान्यता दिने र ६ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएको छ भने एक सय शय्याभन्दा माथिका अस्पतालमा गएर विषयगत तालिम लिने व्यवस्था गरेको छौँ, त्यसपछि विद्यार्थीलाई काउन्सिलमा दर्ताका लागि सहभागी गराउँनेछौँ ।’– रासस

प्रतिक्रिया