संघीयता असफल भए देश असफल हुन्छ : मन्त्री धामी

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले संघीयता असफल भए देश असफल हुने बताएका छन् । शनिबार धनगढीमा आयोजित कैलाली उद्योग वाणिज्य संघको ४९औँ साधारण सभामा बोल्दै मन्त्री धामीले यस्तो बताएका हुन् ।

‘संघीयता हामीले कार्यान्वयन गर्नुपर्छ’, मन्त्री धामीले भने, ‘संघीयता फेल हुनु भनेको यो देश फेल हुनु हो,संविधानको मूल मर्म र भावनामा उल्लेख गरिएको छ, संघीयता फेल भयो भने यो संविधान पनि फेल हुन्छ ।’

संघीयतामाथि विभिन्न प्रश्न गरेर राजनीतिक दललाई आलोचित गरेर उन्मुक्ति नमिल्ने भन्दैदै उनले नीति बनाउने ठाउँमा कस्ता मान्छेहरु पठाएका छौँ, नीति कार्यान्वयन गर्ने प्रशासनिक संरचना कस्तो छ भन्ने पनि बुझ्नुपर्ने बताए । सबैले एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै मन्त्री धामीले नयाँ व्यवस्था भएका कारण सबै सिक्ने प्रकृयामा रहेको बताए ।

त्यस्तै मन्त्री धामीले सुदूरपश्चिम प्रदेशमा उद्योगमैत्री वातावरण बनाउने बताए । उनले भने, ‘हामीले नीति तथा कार्यक्रममा सुदूरपश्चिममा उद्योगमैत्री वातावरण बनाउने भनेका छौँ, सुदूरपश्चिममा लगानी गर्न आउने लगानीकर्तालाई सम्मान गर्छौँ ।’

औद्योगिक क्षेत्रमा प्रदेश सरकार सहयोगका लागि तयार रहेको उनको भनाइ थियो । कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले सञ्चालन गरेको कार्यक्रम संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा संघका पदाधिकारी ,सदस्य, उद्योगी,व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया