मगर चलचित्रका सफल नायक रमेशबाबु

काठमाडौं । रहर हरेक व्यक्तिको फरक–फरक हुन्छ । रहर भएर पनि कतिले आफ्नो चाहना पूरा गर्न सफल हुन्छन् भने कोही अर्कै दिशामा मोडिन्छ । यस्तै भयो रमेशबाबु थापा मगरलाई । सानैदेखि ब्रिटिस लाहुरे बन्न चाहेका रमेशबाबु हाल कलाक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । करिब एक दशकअघि ब्रिटिस लाहुरेको लागि मिहिनेत गरेका रमेशबाबु लाहुरे नभएपछि चलचित्र क्षेत्रमा लागे । हाल मगर चलचित्रको निर्देशनदेखि अभिनयमा व्यस्त उनी १९ वर्षको उमेरमै मगर कथानक चलचित्र ‘म्यारमिन’ बाट आफूलाई नायकको रुपमा परिचित बनाए । उनी अहिले मगर चलचित्रमार्फत मगर भाषा संस्कार र संस्कृतिको संरक्षणमा लागिपर्ने अभियन्तासमेत हुन् । ‘हाम्रो भाषा र संस्कृति भनेको मौलिक पहिचान हो’, अभिनेता रमेशबाबुले भने, ‘आफ्नो मौलिक पहिचानको संरक्षणमा हामी आफैं लाग्नुपर्छ ।’

उनले मगर चलचित्रको माध्यमबाट मगर भाषा संस्कृतिको संरक्षण मात्र नभइ प्रचारप्रसार गरेर मगर युवा–युवतीमा जनचेतना फैलाउने काममा समेत लागेका छन् । उनले संस्कृति रहेमात्र मगरको पहिचान रहने बताए । बुवा कृष्णबहादुर थापामगर र आमा कृष्णकुमारी थापामगरको कोखबाट स्याङ्जाको हरिनास गाउँपालिका–२ गु्र्जामा जन्मिएका रमेशबाबु अध्ययनलाई बिट मार्दै कलाकारितामा होमिएका थिए । आमाले सुखद् जिन्दगीको लागि लाहुरे हुनुपर्छ भन्ने दबाब र बुवाको पढ्नुपर्छ भन्ने मान्यतालाई मतलब नै नराखी पढ्नुभन्दा नाचगानमै रुचि भएकाले उनी मगर चलचित्रको व्यवसायिक सफल नायक मात्र नभइ मगर संस्कृतिमा आधारित चलचित्रमध्येकै सर्वाधिक रुचाइएको र धेरै चलचित्र खेल्ने नायकको रुपमा स्थापित छन् ।

यद्यपि रमेशबाबु काठमाडौं प्रवेश गर्दासम्म पनि मगर चलचित्रको नायक बन्छु भन्ने सोच भने नरहेको बताउँछन् । वैदेशिक रोजगारको लागि सिटिइभिटी पोखरा टेक्निकलबाट कुक र ड्राइभिङ सिकेका रमेशबाबु फ्रि–भिजा र फ्रि–टिकटमा जापानमा रोजगारिको अवसर पाउँदा पनि मगर चलचित्रको मोहले देश छाड्न मनले नमानेको सुनाए । उनी भन्छन्, ‘गर्वको साथ भन्छु म आज यो ठाउँमा छु, जुन मेरै मिहिनेत र संघर्षको प्रतिफल हो ।’ निर्देशक तथा निर्माता सन्तोष पिठाकोटे मगर, बुद्धि गाहा मगर र प्रितम गुरुङ जस्ता सफल निर्माण निर्देशकको रोजाइका नायक बन्न सफल भएको उनको जिकिर छ । स्वदेशमै मगर समुदायका लागि केही गर्नुपर्छ भन्ने मान्यता राखेर व्यवसायिक रुपमा मगर चलचित्रको नायकमात्र नभई मगर चलचित्रका महानायकको रुपमासमेत उनले आफूलाइ स्थापित गराउन सफल भएका छन् ।

पहिलो मगर चलचित्र ‘म्यारमिन’ मार्फत आफ्नो अभिनयबाट सफलता प्राप्त गरेका रमेशबाबुले दोस्रो चलचित्र ‘साली–भेना’ ले अझै उचाइमा पुर्याएको सुनाए । उनी २०७३ सालमा रोधी सिने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट मगर चलचित्रको नायकको अवार्डबाट सम्मानित भएका थिए । त्यसैगरी, अमेरिकामा आयोजित आदिवासी चलचित्र महोत्सव तथा निफ फेस्टिभलमा पनि आफूले अभिनय गरेको ‘मिझार’ मगर चलचित्रमध्येबाट सर्वोत्कृष्ट टप ३ मा पर्न सफल भएको अभिनेता रमेशबाबुले जनाए ।

कुनै समयको एकदमै चर्चित रहेको गीत ‘कानुङ ईम धैइया लांघा’ स्वदेशी तथा विदेशी टिकटकरको रोजाइमा रहेको थियो । उक्त गीत पनि रमेशबाबु अभिनीत चलचित्र ‘माराङ’ मा समावेश गरिएको थियो । नेपालका प्रायः मगर गाउँबस्तीमा चलचित्र प्रदर्शनको लागि जाँदा युवादेखि बुढापाकाले पनि आफूलाई स्याबासी र आशिर्वादसँगै सम्मान गर्ने गरेको उनले सुनाए । साथै, मगर समुदायको भाषा, संस्कार र संस्कृति संरक्षण र प्रवर्धनमा रमेशबाबुले खेलेका छन् । उनले मगर समुदायकै लागि मगर चलचित्र र अभिनयको माध्यमबाट आफ्नो समुदायको भेषभूषा, भाषा, संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।

सधैं यही क्षेत्रमा आफ्नो समुदायको लागि रहने उनको भनाइ छ । त्यसैगरी अब बन्न लागेको चलचित्र ‘झोर्ले’ मगर समुदायको इतिहास र संस्कृतिमा आधारित चलचित्र रहने उनले जानकारी दिए । जसको कथालेखन नायक रमेशबाबु थापाले आफ्नै बायोग्राफीमा गर्दै गरेको र छिट्टै सुटिङमा जाने जानकारी दिए । गायकसमेत रहेका उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्कका पूर्वअध्यक्षसमेत हुन् ।

प्रतिक्रिया