एरेञ्जमा विश्वासको लगन

काठमाडौं । कुनै पनि गीतमा एरेञ्ज (संगीत संयोजन) गर्ने व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । संगीत तथा एरेञ्जविना कुनै पनि गीत बजारमा आउँदैन र त्यसको सांगीतिक स्वाद पनि गतिलो हुँदैन । पर्दा अगाडि आउने सर्जकको जतिको मिहिनेत हुन्छ, पर्दा पछाडि बस्नेको पनि संगीतमा त्यतिकै मिहिनेतले मात्रै एउटा सुन्दर रचनाका गीत दर्शकमाझ आइपुग्छ ।

पछिल्लो समय नेपाली सांगीतिक बजारमा त्यही गीत संगीतमा मौलिकताको हननदेखि उच्छृंखललगायत पारिवारिक वातावरणमा सुन्न र भिडियो हेर्नसमेत नसकिने खालका गीति भिडियो आउने गर्दछन् । तीमध्ये केही कलाकारले आफ्नो चर्चा र व्यवसायको लागि नेपाली गीत संगीतको मर्म र मौलिकता लादेको पाइन्छ ।

केही अग्रज कलाकारले भने समयानुसारको परिवर्तन भए पनि आफ्नो क्षेत्रको मौलिकतालाई जोगाइराख्नुपर्ने बताउँछन् । यस्तै, पर्दा पछाडि रहेर सुन्दर सिर्जना गरिरहेका आफैँमा गायकसमेत रहेका एवं करिब हजारभन्दा बढी गीतमा संगीत संयोजन गरेका विश्वास नेपाल यही क्षेत्रमा लामो समयदेखि व्यवसायिकरुपमा क्रियाशील भएर अगाडि बढिरहेका छन् ।

उनले एरेञ्ज गरेका गीत धेरै चर्चित गायक गायिकाले गाएका छन् भने बजारमा पनि उस्तै चर्चा कमाएका छन् । नेपाली गीत संगीतको आफ्नो छुट्टै पहिचान हुने भएकाले यसलाई कसैले पनि व्यक्तिगत स्वार्थको लागि मौलिकता र गीत संगीतलाई हेलचेक्र्याइ गरी लाद्न नहुने एरेञ्जर विश्वास बताउँछन् । कुनै पनि कलाकारले गीत संगीतको मर्म बुझेर आफूलाई मर्यादित राख्नुपर्ने उनको भनाइ छ ।

‘गीत संगीतको आफ्नै गति हुन्छ, कलाकारले यसको मर्म बुझ्नुपर्छ’, विश्वासले भने, ‘तर मुठ्ठिभरका केही व्यक्तिले मौलिकताको हकमा अघि बढेको गीत संगीतलाई लादे, हनन गरे ।’ उनी आफैँ पनि गायक हुन् भने संगीतसमेत गर्छन् । सुरुमा भारतको लखनउस्थित भारत खण्डे संगीत युनिभर्सिटीमा दुई वर्ष संगीत सिकेको विश्वास बताउँछन् ।

बुवा डिलबहादुर नेपाली र आमा ललिता नेपालीको कोखबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–७ भुजुंगेमा जन्मिएका विश्वासलाई सानैदेखि गीत संगीतमा विशेष रुचि थियो । उनले घर परिवारमा नै सांगीतिक माहोल भएको र दिदीसमेत कलाकार भएको सुनाउँदै सबैभन्दा पहिला आमा प्रेरणाको स्रोत भन्दै त्यसैले यसक्षेत्रमा प्रवेश गर्न सहज भएको स्मरण गरे ।

उनले भने, ‘मेरो सानैदेखि गीत संगीतमा रुचि थियो, मेरो घर परिवारमा नै सांगीतिक माहोल थियो, दिदीहरु कलाकार हुनुहुन्थ्यो, सबैभन्दा पहिला त मलाई जन्मदिने मेरी आमाको प्रेरणा र हौसला थियो, त्यसैले पनि यस क्षेत्रमा प्रवेश गर्न सहज भयो ।’ विश्सासले बुवा र आमा दुवै जना स्वर्गवास भइसकेको दुखेसो सुनाए ।

आफ्नो बाल्यकाल हाँसेर खेलेरै बित्ने गरेको स्मरण गर्दै ७ कक्षा पढ्दादेखि नै विद्यालयबाटै जिल्लास्तरीय प्रतियोगितामा भाग लिएर प्रथम र द्वितीय स्थान हासिल गरेको सुनाउँदै उनले शिक्षक र अग्रजले भविष्यमा कलाकार बन्छस् भनेर हौसला दिने गरेको बताए ।

कलाकारितामा भविष्य खोज्दै २०६२ सालमा जिल्लाबाट राजधानी काठमाडौं प्रवेश गरेर सांगीतिक क्षेत्रमा ‘कोशी कर्णाली’ गीतबाट आफ्नो करिअर अघि बढाएको गायक विश्वासले सुनाए । राजधानी छिरेर दोहोरी साँझमा १२ वर्षसम्म काम गरेको अनुभव सुनाउँदै उनले दोहोरी साँझले धेरै कलाकारलाई काठमाडौंमा टिकाएको र दोहोरी साँझलाई मन्दिर सरह मान्ने बताए ।

आफूले गीतमा एरेञ्ज गरेपछि लोकदोहोरी च्याम्पियनमा ब्याकराउण्ड म्युजिक स्कोरिङ गर्ने अवसर प्राप्त गरेको समेत उनको भनाइ छ । बिस्तारै संघर्ष गर्दै आफ्नो अनुभव बटुलेपछि २०७२ सालदेखि पहिलो दशैं विशेष गीत ‘साउदी छौकी कतार’ मा एरेञ्जको सुरुवात गरेर त्यहीँबाट निरन्तरता दिएको उनी बताउँछन् ।

एरेञ्जर विश्वासले भने, ‘मैले यसैमा भविष्य देखेर संघर्ष गरेँ, लोकदोहोरी, आधुनिक, तिज, दशैंलगायतका गीतमा एरेञ्ज गरेको छु । एक–एक गरेर गिन्ती त गरेको छैन, अनुमानित हजारभन्दा बढी नै छन्, देशका धेरै चर्चित गायक गायिकाले गाएका गीतमा एरेञ्ज गरेको छु ।’ आफूले एरेञ्ज गरेर चर्चित गायक गायिकाले गाएका धेरै गीतले चर्चा कमाएको समेत उनले जिकिर गरे ।

आफूले एरेञ्ज गरेका ‘बागलुङ बजार आउन मायालु,’ ‘सारी फरर,’ ‘नैना रेशम,’ भान्छा चलेन,’ ‘भन साइली,’ ‘मञ्जरी,’ ‘सरर भागौँला,’ हेर यो मुटुमा चिरा पर्या छ,’ ‘जन्त जाम्ला,’ खै त हाँसेको,’ चट्ट कलम रेलीमै,’ ‘छैन त मै राम्री छैन’ लगायत थुप्रै गीत चर्चामा रहन सफल भएको विश्वासले जिकिर गरे । गीतमा एरेञ्ज गरेरै केही म्युजिक अवार्डहरु पनि प्राप्त गर्न आफू सफल भएको उनको भनाइ छ ।

आगामी दिनमा गीत संगीतमा थप केही नयाँपन ल्याउन कोशिस गर्ने योजना एरेञ्जर विश्वासले बताए । गीत संगीत धमिल्याउनेलाई बहिस्कार गर्नुपर्ने उनले बताए । ‘नेपाली गीत संगीतलाई धमिल्याउनेलाई बहिस्कार गर्नुपर्छ, नेपाली गीत संगीतमा मौलिकतालाई ध्यान दिन जरुरी छ’, उनले भने ।

अरुको देखासिकी गरेर कलाकारितामा अघि बढ्न नसकिने भन्दै उनले आफ्नै दक्षताले विधामा छ सोही विधा रोज्न सबैलाई आग्रह गरे । एरेञ्जर विश्वासले भने, ‘केही सिकेर आउनुहोस्, आफ्नो दक्षतामा जे विधा छ त्यही विधा रोज्नुहोस्, अरुको देखासिकी गरेर नआउनुहोस्, आफ्नो दक्षतानुसार संघर्ष गर्दै गएमा एक दिन अवश्य सफल भइन्छ ।’

प्रतिक्रिया