संघको अध्यक्षमा राजेन्द्र

काठमाडौं । राष्ट्रिय लोक सांस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत माघ ९ गते सम्पन्न पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमतिलाई असार १ गते काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बिच निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेसँगै पदभार ग्रहण गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा गायक तथा गीतकार राजेन्द्रकुमार कार्कीसहित सम्पूर्ण पदाधीकारी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्षमा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रमतर्फ संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठनतर्फ गायक कृष्ण काफ्ले, महासचिवमा संगीतकार योगेन्द्र उपाध्याय, सचिवमा सञ्चारकर्मी कमला जोशी, कोषाध्यक्षमा कलाकर्मी सरिता जिरेल, सहसचिवमा ध्वनी सम्पादक मनोज परियार र सदस्यमा नम्रता खरेल, दिपेन्द्र सोनाम, शोभा जिसी, राजन खरेल, आइटी एक्सपर्ट डेविल सिंह राजपुत निर्वाचित भएका छन् ।

नयाँ निर्वाचित कार्यसमितिले नेपाली लोकसंस्कृति तथा मौलिक कलाको जगेर्ना गर्नको लागि विभिन्न व्यक्ति, समुदाय एवं संस्थासँग सहकार्य गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताएका छन् । यस्तै नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि संस्थाका गतिविधिलाई बृहत बनाउँदै लगिने नवनिर्वाचित महासचिव उपाध्यायले जनाएका छन् ।

कार्यक्रममा संगीतकार शंकर थापा ‘स्माइल’ र संगीतकार तथा गायक रमेश पाठकलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । यस्तै नवनिर्वाचित कार्यसमितिले चलचित्र निर्देशक डा.घनश्याम खतिवडा, चलचित्र निर्देशक माधवराज खरेल, सञ्चारकर्मी विष्णु सुवेदी र संगीतकार राजेन्द्र बजगाईलगायतलाई सल्लाहकारमा नियुक्ति गरेको छ ।

प्रतिक्रिया