रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलिलाई तोकियो पेशी

काठमाडौं । कैलालीको टिकापुर हत्या काण्डका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले आइतबार सर्वोच्चमा दिएको रिट मंगलबार (आज) दर्ता भएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले बताए ।

उनका अनुसार आइतबार ढिलाइ भएको कारण रिट दर्ता नभएको र आज दर्ता भएकाले भोलि (बुधबार) का लागि पेशी तोकिएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसको अवसरमा जेल जीवन बिताइरहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका छन् ।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी श्रीमती शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया