युवालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउँछौँ : मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले युवाहरुलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।

आइतबार युवालय नामक संस्थाको आयोजनामा धनगढीमा सञ्चालित प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

‘अहिले प्रदेश सरकार नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा छ, नीति कार्यक्रम यूवालाई पहिलो प्राथमिकतामा राखेर ल्याउने छ,त्यही किसिमले बजेट विनियोजन गरिने छ’, उनले भने ‘किन भने युवाहरुलाई देश निर्माणमा अगाडि बढाउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार विश्वस्त छ ।’

कार्यक्रममा बोल्दै मन्त्री साउदले युवाहरुलाई राहदानी नभएर रोजगारी दिनुपर्ने बताए । उनले भने, ‘युवाहरुले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ, अहिलेको भोली भन्ने कुरा हुँदैन तर यहाँको स्रोत साधनलाई सही ढंगबाट सदुपयोग गर्न सक्याैँ भने रोजगारीको सिर्जना यहीँ गर्न सकिन्छ ।’

‘हामीसँग अथाह पर्यटकीय क्षेत्र छन्,पर्याप्त जडिबुटी छन्’, उनले भने, ‘यसलाई प्रदेश सरकारले सही ढंगबाट सदुपयोग गर्ने हो भने प्रदेश भित्र रोजगारीको व्यवस्था गर्न सकिन्छ,हामी त्यो नीति कार्यक्रम र बजेटको व्यवस्था गर्ने तयारीमा छौँ ।’

तत्कालिन राज्य सत्ताका नीतिका कारण सुदूरपश्चिम प्रदेश पछाडि पारिएको बताउँदै उनले भने, ‘बिगतका राज्यसत्ताले बनाएका ऐन कनून, नियमले पछाडि पारिएको क्षेत्र हो ।’ त्यस्तै कार्यक्रममा बोल्दै युवा प्रतिनिधि निर्मला टेरले युवालाई सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘युवालाई रोजगारी सिर्जना गर्न व्यवहारिक सीपको आवश्यक छ, कृषि क्षेत्रमा लागेका युवालाई तालिमको व्यवस्था गरिनु पर्छ, युवालाई उद्यमी बनाउनु पर्छ ।’ त्यस्तै छुवाछूत, बालबिबाह जस्ता समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै समाज कल्याण परिषदका कोषाध्यक्ष बिनय लामाले देशको विकास समृद्धिको कुरा गर्दा समाजमा रहेको सामाजिक असमावेशिकरणलाई पनि ध्यान दिनुपर्ने बताए । लामाले युवालाई विदेश पलायनबाट रोक्न सके विकास सम्भव हुने र युवा नीति समय सापेक्ष बनाउनु पर्नेमा जोड दिए ।

युवालयका अध्यक्ष सन्तोष महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाबाट युवाहरुको सहभागिता रहेको छ । सोमबारसम्म सञ्चालन हुने महोत्सवमा युवाका मुद्धा कसरी उजागर गर्ने, युवा विदेशिनु पर्ने समस्या समाधान कसरी गर्नेलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया