असफलताको भोगाइले स्पेनमा सफल भएका अक्कल

मुुगुु । मान्छेलाई अनेकौँ किसिमका अप्ठ्यारा, सुख, दुःख आइपर्छन् । तर पनि मान्छे विभिन्न किसिमले जिउने गर्छन् । कोहीले सुखका साथ जीवन बिताएका हुन्छन्, त कसैले दुखै दुःखमा जीवन बिताएका हुन्छन् । सुखमा मात्तिने र दुःखमा आत्तिने मान्छेले जिवनमा प्रगती गर्छ कठीन हुन्छ । जीवन संघर्ष हो, संर्घष गर्नुपर्छ अनि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्छे मात्र यो संसारमा सफल भएका छन् र त्यस्तै सफल व्यक्तिका रूपमा परिचित छन् । छायानाथ रारा नगरपालिका–१३ थार्प गाउँका ४४ वर्षीय पूर्व राष्ट्रिय धावक अक्कल बोहोरा ।

२०३४ सालमा बुबा महेलाल बोहोरा र आमा गोरी बोहोराको कोखबाट दोस्रो सन्तानको रूपमा जन्मिएका छ भाइ र पाँच बहिनीमध्येका एक भाइ हुन्, अक्कल । दुःखले अर्काको घरदेखि सुखले स्पेनसम्म पुर्यायो उनलाई । अक्कल अहिले स्पेनमा बस्दै आएका छन् । ‘मैले जीवनमा भोगेका दुःखलाई अुसरण गर्दै संर्घष गरेरै आज स्पेनमा बस्न पाएको हुँ’ बोहोराले भने । सानै उमेरमा अर्काको घर बसेर हुर्के पढेर पाएको दुःखका दिन अहिले पनि सम्झिन्छन् उनी । ‘सोच्छु, पहिला यति दुःख नपाएको भए सायद अहिले स्पेनमा बस्न पाउँदिनथेँ की !’ उनले भने, ‘जति अर्काका घरमा बस्दा पीडा भयो, त्यति नै खुसी मिलेको छ अहिले ।’ छ भाइ, पाँच बहिनी गरी ११ जनाको परिवार, आमाबुबा बेरोजगारीसँगै घरधन्दा चलाउन धौधौ भयो उनलाई । छ वर्षको उमेरमा पनि विद्यालय जान पाएनन उनले । त्यसैबीच एक जनाले बुबालाई तपाईंको छोरालाई म पढाइदिन्छु भनेर सुनाएछन् । उनले भने, ‘बुबा घरमा आएर छोराछोरी धेरै छन्, पढाउन सक्ने अवस्था छैन । एक जना सरले म तपाईँको छोरालाई पढाइदिन्छु भन्नुभए छ । तँ बाठोटाठो छस्, जा राम्रोसँग पढ्नू, ठूलो मान्छे बन्नू भनेर सरको साथमा बुबाले मलाई काठमाडौं पठाउनुभयो ।’

छ वर्षको उमेरमा काठमाडौं त गए तर भनेजस्तो पढ्न पाएनन् अक्कलले । पढ्न भन्दै गएको घरमा बालश्रम गर्न बाध्य भए उनी । हरेक समस्याले पिरोल्दै गए । पढ्न नपाएको पीडा एकातिर थियो र अर्को पीडा घरायसी रूपमा बिहानदेखि बेलुकासम्म कामको बोझ र पीडै पीडाले पिरोल्दै गयो ।

केही महिनापछि अब घर जार्नुपर्छ भन्ने सोच आयो उनलाई, तर कसरी जाने ? निर्णय गर्न सकेनन् । उति बेला अहिलेको जस्तो विकास भएको थिएन । काठमाडौंदेखि मुगु आउन सक्ने सामर्थ नभएको बोहोराले सुनाए । ‘काठमाडौं गएपछि पहिलो पटक रेडियो देख्न र सुन्न पाइयो, त्यही रेडियोकै माध्यमबाट घर पुग्न सहज भयो,’ बोहोराले भने, ‘एक दिन रेडियो सुन्दै थिए, हराएका कोही हुनुहुन्छ भने प्रहरीलाई खबर गर्नुहोला भन्ने सुने । त्यसपछि त्यो घर छाडेर खोज्दै प्रहरीकहाँ पुगे ।’ प्रहरीकहाँ गएपछि उनलाई घर कहाँ हो ? कताबाट आएको हो भनेर प्रहरीले सोधेछन् ।

साँचो बताएर साहुको घरमा बस्छु, मेरो घर मुगु हो भने प्रहरीले फेरि त्यही घरमा पु¥याइदेला भनेर झुट बोलेछा् उनले । बुबासँग आएको, बुबा कता हराउनुभयो भनेर प्रहरीलाई झेट बोलेको उनले सुनाए । उनको कुरा सुनेपछि प्रहरीले उनलाई मुगुसम्म ल्याउनका लागि सहयोग गरे र उनी घर पुगे । घरमा आउँदा पनि सुख पाइएन, पुरानै पीडाले सतायो । यताका मान्छे धन कमाउन भारत जान्छन् भन्ने थाहा थियो । धन कमाउन भन्दै भारततिर लागे उनी पनि ।

भारतमा गएपछि । कहिले भारी बोक्ने, ग्यास सिलिन्डर घरसम्म पु¥याइदिने, मजदुरी गर्ने, दाउरा बोक्नेजस्ता काम गरे उनले । ‘अनेक दुःख खेप्दै उनी एकदिन भारतीय मेजरको घरसम्म पुगेँ’, उनले भने । त्यसपछि तिनै मेजरको घरमा बस्दै काम गर्दै आए र कराँते खेल्ने अवसर पनि त्यहीँ पाए । भारतमा मेजरको घरमा बस्दाबस्दै इन्डियन आर्मीमा भर्ना भए । ‘१३ महिनाजति काम गरे पछि मलाई फरक अनुभूति यो । म नेपाली हुँ, शिर कहिल्यै झुकाउँदिनँ भन्ने लाग्यो’ उनले भने, ‘अर्काको देश, अर्काको झण्डा र अर्काको देशको राष्ट्रिय गान गाउँदा के म नेपाली हुँ कि भारतीय ? अर्को देशमा यस्तो दुःख गर्नुभन्दा नेपालमा गएर सके गरौँला, नसके यस्तै जागिर खाउँला भन्ने सोच गर्दै नेपाल फर्किएँ ।’

अनेक दुःख खेप्दै नेपाल प्रहरीमा भर्ना भएका बोहोराले भने, ‘प्रहरीको जागरी खाँदै गर्दा २०५७ सालमा सशस्त्र प्रहरीको स्थापाना भयो । केही प्रहरी साथी त्यस संस्थामा गए । त्यसभित्र म पनि परेछु । पछि कमाण्डो तालिम गर्नुपर्ने भयो । त्यसका लागि भारत जार्नुपर्ने भयो । कमाण्डो तालिम गर्न बलियो मान्छे नभए त सकिँदैन,’ उनले भने । कमाण्डो तालिमका ४५ हजारमध्ये आफू एक सफल कमाण्डर भएको बोहोराले सुनाए । कमाण्डो तालिमपछि काठमाडौं आएको र कमाण्डो तालिम गरेका सबैलाई विशेष मान्छेको सुरक्षार्थ खटाइएको उनले बताए ।

देशमा जनयुद्ध चर्किएकै बेला उनी जागिर खान पुगे । कमाण्डो तालिम गरेकाले विशेष ठूलै मान्छेको सुरक्षामा खटिएका थिए उनी । बिहान ४ बजे दौडने गर्थे । अब दौडबाट केही प्रगति गर्नुपर्छ भन्ने सोच विचारका साथ बिहान बिहान दौडन थालेको बाहोराले बताए । बिहान सधैँ दौडिन जाँदै गर्दा राष्ट्रिय खेलाडी भेटिने, स्थानीय भेटिने र सबैले हेलाको दृष्टिले हेर्ने गर्थे उनलाई । ‘जुम्ली, मुगुलीले के प्रगति गर्न सक्छ ? त्यसै नौटंकी मात्र गर्दै छ भन्ने, म सुन्थेँ । तर, उहाँहरूकै हेपाहा प्रवृत्तिले र आफ्नो संघर्षले यो म्याराथनमा सफल भएँ ।

बोहोराले भने, ‘त्यसपछि पहिलो पटक विश्व साइकल यात्री पुष्कर शाहसँग भेट भयो उनको पनि धेरै हात छ मलाई यो स्थानमा ल्याइपु¥याउनमा । उनले पनि केही सिकाएको बोहोराले बताए । एक सय रुपैयाँले म विश्व यात्रा गर्दै छु भन्ने कुरा सुनेँ र मैले मनमनै अठोट गरेँ अब केही गर्नुपर्छ । पहिलादेखि नै मनमा कसरी ठूलो मान्छे बन्ने होला ! कसरी समाज सेवा गर्ने कामको अवसर मिल्ला भन्ने थियो । ‘एक दिन दौडिँदै गर्दा एक जना क्याम्पस पढ्ने साथीले आफ्नो क्याप्पसबाट दौड प्रतियोगितामा भाग लिइदिन आग्रह गरे । म त सशस्त्र प्रहरी हुँँ, कसरी यो सम्भव हुन्छ भनेँ । त्यसपछि साथीले क्याम्पसमा भर्ना भएको परिचयप्रत्र बनाइदिन्छु, दौडमा भाग लिइ दिनुहोला भनेपछि उनी बिएड तेस्रो वर्षको परिचयपत्र बनाएर दौडमा भाग लिए र प्रथम पनि भए । प्रथम भएसँगै जताततै समाचार आएछ ।

निम्स क्याम्पसले दौड प्रतियोगिताको पदक हात पा¥यो भन्ने समाचरा आयो । सशस्त्र प्रहरी महानिरीक्षकले पनि थाहा पाएछन् र एक जना हवल्दारको कानबाट बोहोराले सुनेछन्, तपाईँले संगठनबाट गेम नखेलेर किन यस्तो गर्नुभयो भने र महानिरीक्षकले भेट्न बोलाउनु भएको सुनाएछन् । उनलाई डर लाग्यो, गलती त गरीन भन्ने । ‘डरै डरका बीच बोहोरा आइजिपीसम्म पुगे । आइजिपीले अबदेखि हाम्रो क्लबबाट मात्रै खेल खेल्ने निर्देशन दिनुभयो म फर्किएँ ।’ त्यसलगत्तै सिंगापुरमा विश्व म्याराथन भयो । त्यसमा विश्वभरका खेलाडीले भाग लिएका थिए । त्यस म्याराथनमा ३७औँ स्थानमा आउन सफल भए उनी । त्यसपछि म्याराथनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तमा सहभागी हुने अवसर पाए र सफल हुँदै यो स्थानमा पुगेको बोहोराले बताए ।

कसलाई आफ्नो देशको माया लाग्दैन र बाध्यताले धेरै युवा विदेशिन बाध्य भएका बोहोराको अनुभव छ । ‘धेरै अन्तर्राष्ट्रियस्तरका म्याराथनमा भाग लिएर नेपालको नाम उचाँे राखेँ तर खेल क्षेत्रपछि मेरो जीवन के त ?’ उनी आफै भित्र प्रश्न खोज्छज् । काठमाडौं म्याराथन भयो, विश्वभरका खेलाडी नेपाल आए । त्यही म्याराथनमा पहिलो भएँ र त्यसपछि फ्रान्स जाने अवसर पाएँ उनले ।

युरोपका देशहरूमा शान्ति सुरक्षा अन्य देशको तुलानामा बलियो छ । ‘लुटपाट, मारपिट हुँदैन भन्ने थाहा थियो । त्यसैले खेल क्षेत्रपछि मेरो जीवनलाई कुन मोडमा लैजाने त्यो मेरो हातमा भरपर्छ भन्ने लाग्यो । नेपाल जाऊँ, हाम्रो देशको हालत ठिन छैन् । खेल क्षेत्रपछि खेलाडीको सम्मान हुँदैन,’ उनले भने, ‘त्यसैले फ्रान्स गएकै मौकामा म त्यतै बसेँ ।’ फ्रानसको सडकमा उनले धेरै दिन भोकै बिताउ । त्यही रहदाँ एसएसपी गोविन्द वलीसँग भेट भयो र उनैसँग स्पेन आएको बोहोरोले बताए ।

नेपाल जति सानो छ, त्यति नै सुन्दर छ । नेपाल अन्य देशको तुलनामा पर्यटकीय हिसाबले अगाडि छ । तर प्रचार प्रसार नहुँदा नेपाल कहाँ छ, यहाँ के छन ? भन्नेबारे कसैलाई जानकारी नभकाले नेपाल पछि परेको उनको बुझाइ छ । ‘हामीले नेपाल र रारालाई विश्वमा प्रचार प्रसार गर्न नसक्दा हामी ओझेलमा छौँ । त्यसैले म स्पेनमा बस्छु तर नेपालको याद, नेपालमा बिताएका पल मेरा लागि अविष्मरणीय छन,’ बोहोराले भने । देशमा पनि नेपालको सबैभन्दा ठूलो ताल राराको प्रचार प्रसार गरे केही पर्यटकले राराका बारेमा थाहा पाउँछन् र रारा जाने पर्यटक बढ्छन् भन्ने हिसाबले स्पेनमा बसे पनि राराका बारेमा जानकारीसहितको पिजा, कोकुन लगायत मासुको व्यापार गर्दै रारा, नेपाल र नेपालीका बारे प्रचार प्रसार गर्दै आएको बोहोराले बताए ।

यस्तो प्रचार प्रसार गरेमा नेपालमा रारा ताल पनि छ त्यहाँ विश्वमा नै नपाइने तीन प्रकारका असला जातका माछा पाइन्छ भन्ने सन्देश विश्वभर थाहा हुने उनको बुझाइ छ । रारा तथा नेपालमा आउने पर्यटक विस्तारै बढ्ने र नेपालको आन्तरिक राजस्वमा पनि वृद्धि हुने भएकाले विदेशमा बस्ने नेपालीलाई नेपालका बारेका प्रचार प्रसार गर्न आफूले आग्रह गर्दै आएको र आफूले पनि प्रचार प्रसार गर्दै आएको बोहोराले सुनाए ।

जब मान्छेले जीवन के हो, कसरी जिउनुपर्छ भन्ने थाहा पाउँछ, त्यो मान्छे सफल भएर समाजमा पनि केही परिवर्तन गर्न प्रेरित गराउँछ । त्यस्तै, जीवनमा अनेकथरीका दुःख भोग्दै आज यो स्थानमा आए पनि कसैलाई देख्दा त्यो स्थानमा आफू हुँदाको अवस्था सम्झिने बोहोराले सुनाए । जीवनमा धेरै दुःख पाए पनि अर्काको घरमा बस्दा आफू बिरामी हुँदाको क्षणलाई सम्झिँदै विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्ने गरेको बोहोराले बताए ।

उनले भने, ‘आजसम्म आफूले मुगुलगायत जिल्ला बाहिरका भूकम्प पीडित, बाढीपीडित, मृगौला पीडित, क्यानसर जस्ता दिर्ग रोगी बेसाहार विपन्न दलित गरिबहरुलाई पनि सहयोग गर्दै आएको जानकारी दिए । उनले व्यक्तिगत रुपमा १ करोड ५० लाख रुपैयाँसम्म सहयोग गरेको सुनाए । यति बेला एक महिनाको लागि आफनो जन्मथलो नेपाल आएको र यो समयमा पनि समाजमा केही उदाहरणीय काम गर्नुपर्छ भन्ने लागेर आफ्नै जन्मथलो छायाँनाथ रारा नगरपालिका–१० र ११ को लागि आर्यघाट निमार्ण र वडा नं १३ र १४ मा धर्मशाला निमार्ण, वडा नं १४ मै दुुईवटा खानेपानी धारा निमार्ण, ओखल निमार्ण जस्ता कार्यमा १५ लाख रुपैयाँ बराबरको लगानी गरेको बोहोराले बताए ।

यसै बिच छायाँनाथ रारा नगरपालिका–१४ हिर्मोदय माध्यामिक बिद्यालय बाममा खाली समयको बिद्यार्थीका लागि सदुुपयोग होस भन्ने उदेश्यका साथ एक जना शिक्षकलाई ब्यक्तिगत तबल दिने गरी व्यवस्थापन गरेकोे बोहोराले जानकारी दिए । ‘हामीले आफैँ केही गर्न सक्छौँ, अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाज विकास गर्न सिकाइ होस् भन्ने हिसाबले यो कार्यको थालनी गरेको हुँ,’ उनले भने, ‘यसमा सबै स्थानीय गाउँलेले मलाई साथ दिएका छन् ।’

प्रतिक्रिया