२ सय ५० श्ययाको हुँदै निजामती अस्पताल

काठमाडौं । निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधि पौडेलले चाँडै नै २ सय ५० श्यया सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने जानकारी दिए । अस्पतालमा हाल १ सय ३२ श्यया सञ्चालन रहेको छ ।  ‘सबै संरचना तयार भइसकेको छ । नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई २ सय ५० श्ययामा सञ्चालन गर्नेछौँ’, उनले भने, ‘अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ ।’ एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने उनले जानकारी दिए । 

उनका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ । एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल रोगको परीक्षण हुन्छ । उक्त एमआरआई उपकरणबाट शरीरको साना–साना नशा, सानो रगत नली बन्द हुने, मुटुको एमाआइआई , पित्तनली भएका साना पत्थरी, हड्डी खिइएको जस्ता कुराका पत्ता लाग्नेछ । 

निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उनको भनाइ रहेको छ । अस्पतालका निर्देशक डा. पौडेलले एमआरआईमा हेलियस ग्याँस भरेपछि सञ्चालन गरिने बताए । २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिनाअघि मात्र ल्याइएको छ । 

यसैगरी अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरणसमेत ल्याउन थालेको छ । यसैगरी अस्पतालले ब्याचलर अफ नर्सी एन्ड क्रिटिकल केयर विषयसमेत अध्ययन गराउने भएको छ । कार्यकारी निर्देशक डा.पौडेलले यही जेठको अन्तिम सातादेखि २० जनालाई उक्त विषय अस्पतालमा अध्यापन गराइने जानकारी दिए । 

यसैगरी सरकारले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निजामति अस्पताललाई विशिष्टीकृत चिकित्सासहितको सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्दै सात वटै प्रदेशमा विस्तार गरिने उल्लेख छ । 

‘यहाँ आएका बिरामीलाई अन्त्य उपचार गर्न जान नपरोस् भनेर अस्पताललाई विशिष्टीकृत बनाउन थालिएको हो’, उनले भने, ‘सबै किसिमको उपचार हुन्छ । अस्पताललाई रिफरल सेन्टरको रूपमा विकास गरिनेछ ।’ सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार श्यया पुर्याइने लक्ष्य लिइएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पतालमा ०६५ जेठ १६ गतेबाट सञ्चालन आएको हो ।

प्रतिक्रिया