बाल स्वास्थ्यमा नेपालको फट्को : २५ वर्षमा ७८ प्रतिशतले घट्यो बाल मृत्युदर

काठमाडौँ । नेपालमा पछिल्लो २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै ५ वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ देखि सन् २०२३ सम्म ७८ प्रतिशतले घटेको पाइएको हो । ‘बाल स्वास्थ्य कार्यक्रमले नै सन् १९९६ देखि सन् २०२३ सम्ममा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ जना प्रतिहजार जीवित जन्मबाट २६ जनाभन्दा बढीमा घटाउन सफल भयो,’ गौतमले भने, ‘यो सरकारको ठुलो सफलता हो । अब हामी दिगो विकास लक्ष्यले तय गरेअनुसार मृत्युदर घटाउँदै छौँ ।’

सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि ५ वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य छ । यस्तै, बाल स्वास्थ्य कार्यक्रमले नै शिशु मृत्युदर पनि घटेको छ । सन् १९९६ मा ७८ जना प्रतिहजार जीवित जन्म रहने गरेकामा सन् २०२३ मा त्यो घटेर २३ जनामा पुगेको छ । यस्तै, नवजात शिशु मृत्युदरमा पनि कमी आएको छ । नवजात शिशु मृत्युदर ५० जना प्रतिहजार जीवित जन्मबाट १६ जनाभन्दा बढी घटाउन सफल भएको गौतमले जानकारी दिए ।

नेपालमा पहिलो पटक सन् १९७७ मा बाल बचाउ कार्यक्रमका रूपमा राष्ट्रिय खोप कार्यक्रम सुरु गरिएको थियो । हाल जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई विभिन्न ९ प्रकारका खोप कार्यक्रम सञ्चालित छन् । खोप कार्यक्रमले विभिन्न रोगको नियन्त्रण र रोकथाममा महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

गौतमका अनुसार बाल्यावस्थामा हुने रोगको रोकथाम र नियन्त्रण गरेर बाल मृत्युदर घटाउने यात्राको सुरुआत सन् १९८३ देखि झाडापखाला र सन् १९८७ देखि श्वासप्रश्वास रोगमा केन्द्रित गरिएको थियो । नेपालमा सन् १९९७ देखि समुदायमा आधारित बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम महोत्तरीबाट परीक्षणका रूपमा सुरु गरी सन् १९९९ बाट राष्ट्रिय स्तरमा विस्तार गरिएको थियो ।

उक्त कार्यक्रमले नवजात शिशुको मृत्युदरमा प्रगति हासिल गर्न नसकिएपछि सन् २००९ देखि समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रम लागू गरिएको गौतमले जानकारी दिए । सन् २०१६ मा स्वास्थ्य संस्थामा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम प्याकेज र निःशुल्क नवजात शिशु हेरचाह कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया