काठमाडौँ । आइतबार हुने भनिएको त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट बैठक) प्रधानमन्त्री केपी शर्मा ओलीका कारण स्थगित भएको छ । त्रिविका अनुसार विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीको व्यस्तताका कारण सिनेट बैठक स्थगित गरिएको हो ।
यसअघि त्रिविले असार २० गतेका लागि सिनेट बैठक तय गरे पनि प्रधानमन्त्रीले सो दिन उपलब्ध नहुने जनाएपछि २२ गते आइतबारका लागि सारिएको थियो । विशेष गरी आगामी आर्थिक वर्षका लागि त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गर्ने कार्यसूचीसहित आइतबार बैठक राखिएको थियो । आइतबार पनि प्रधानमन्त्रीले कार्यव्यस्तता देखाउँदै बैठक स्थगित गरेसँगै अब अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।
गत मंसिर २७ मा बसेको त्रिविको साधारणसभा (सिनेट) बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका थिए । ओलीले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने बताउँदै भनेका थिए, ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन । अलिकति शैलीमा तलमाथि पर्ला, त्यो आफ्नो ठाउँमा छ, तर हस्तक्षेप होइन ।’
तर, उनै ओलीको निर्देशनका कारण त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) आइतबार पारित हुन सकेन । योजना परिषद् हुँदै कार्यकारी परिषद्बाट पारित भएको बजेट सिनेटबाट पारित नभएसम्म लागू हुँदैन । प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै १५ चैतदेखि त्रिविको उपकुलपति पद रिक्त छ ।
२८ चैतमा बरालको राजीनामा स्वीकृत गरेर विश्वविद्यालयकै रेक्टर प्राडा खड्क केसीलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको थियो । हाल केसीकै नेतृत्वमा नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थियो । तर, ओलीले त्यसलाई स्वीकार्न सकेका छैनन् । स्रोतका अनुसार अब नयाँ उपकुलपति नियुक्त भएपछि मात्र त्रिविको सिनेट बस्नेछ र नीति तथा कार्यक्रम र बजेट पनि सोही सिनेटबाट पारित हुनेछ ।
प्रधानमन्त्री ओलीले सिनेट बैठक स्थगित गर्न निर्देशन दिएपछि कांग्रेस नेता नैनसिंह महरले यस्ता कदम प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको बताएका छन् । उनले भने, ‘१५ चैतदेखि त्रिविको उपकुलपति पद रिक्त छ । यस बेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय होइन ।’
सुटुक्क उपकुलपति नियुक्तिको तयारी
कार्यवाहक उपकुलपति केसीको कार्यकाल आगामी साउन २ गते पूरा हुँदै छ । उपकुलपति रिक्त भएमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । त्रिवि ऐनमा उपकुलपति रिक्त भएको ९० दिनभित्र नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री ओलीले गत जेठ ६ मा सहकुलपतिसमेत रहेका शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।
समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले छन् । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहे पनि स्रोतका अनुसार उक्त समितिले ३ जनाको नाम प्रधानमन्त्री ओलीसमक्ष सुटुक्क पुर्याइसकेको छ । प्रक्रियागत रूपमा १२ मध्येबाट ५ र ५ बाट ३ जनाको नाम छनोट गरी प्रधानमन्त्रीसमक्ष सिफरिस गर्नुपर्ने भए पनि प्रक्रिया पछि पूरा गर्दै गर्ने गरी ३ जनाको नाम छनोट समितिले प्रधानमन्त्रीसमक्ष पुर्याइसकेको स्रोतको दाबी छ ।
ती ३ जना को–को हुन् भन्ने यकिन नभए पनि प्रा.डा. दीपक अर्याल, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्क केसी, प्रा.डा. उपेन्द्र कोइरालामध्येबाट १ जनालाई कुलपति बनाउने तयारी छ । असार मसान्तभित्र त्रिविले उपकुलपति पाउने शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।
प्रतिक्रिया