नेपालको सानदार विजयी सुरुवात

काभा महिला भलिबल

काठमाडौं । घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेका छन् । समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा ओपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरुवातमा प्रतिस्पर्धा भएपनि नेपालले ८–७ बाट अग्रता लिदै पहिलो सेट सहजै २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।


दोस्रो सेटमा भने नेपालले २५–१९ को प्रतिस्पर्धात्मक जित निकाल्यो । दोस्रो सेटमा पनि नेपालले सुरुवातदेखिको अग्रतालाई कायम राख्दै जित निकाल्न सफल भइन् । तेस्रो सेटमा किर्गिस्तानले एक समय अग्रता लिएपनि नेपालले खेलमा फर्कदै २५–११ को सोझो सेटमा जित निकाल्न सफल भयो । ४–६ ले पछि रहेको नेपालले लगातार ११ अंक जोड्दै खेललाई १५–६ को स्थितिमा ल्याएर जिततर्फ अघि बढेको थियो ।


यस जितसँगै नेपालले समूह ‘ए’ मा ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छ । सोमबार नै उज्वेकिस्तान र भारतले पनि विजयी सुरुवात गरिसकेको छ । उज्वेकिस्तानले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतिक्रिया