म कुमाइँ, म दमाइँ

प्राडा बद्रीविशाल पोखरेल

कुमाइ, कुमाइ हो दमाइँ दमाइँ हो र हुँदोरहेछ । तर, यसलाई अभिधाका अर्थमा मात्र लिँदा समस्या हुन्छ । यसलाई लक्षणाका रूपमा यहाँ चर्चा गरिएको छ । दमाइँ नै पनि कुमाइँको नसनातामा जोडियो भने त्यसले उत्पात प्रगति गर्ने मौका पाउँदोरहेछ । नत्र घनश्याम खतिवडा थरि इमानदार तथा सिद्धान्तनिष्ठ नेता पछि पारिन्छन् । तिनले क्षमता अनुसारको कुनै काम पाउँदैनन् । सुनसरीलगायत जिल्लामा अमुक नेता र नेतीले एक होइन अनेक पद र प्रतिष्ठा पाउँछन् ।

आफू कुमाइँ भएको भए दिव्य बाह्र वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा माथिल्लो तहमा राज गर्न पाइने रहेछ । कुमाइँ भएको भए उपल्ला तहका अनेक शुभलाभ प्राप्त गर्न सजिलो हुने रहेछ । कुमाइँका घरको कारिन्दा मात्र भए पनि आफ्नो निक्कै भलो हुनेरहेछ । त्रिविको रजिस्ट्रार भएर भोज र मोज गरिसकेको भोलिपल्ट जसो कोशी प्रदेशको योजना आयोगको उपाध्यक्ष जस्तो लुँड्याउने स्थान र मान पनि पाइने रहेछ ।

अरूलाई के भनौँ र कसैलाई किन गाली गरुँ ? आफैँले आफूलाई अहिले सराप्दैछु, गाली गर्दैछु । थुक्क लाटा चाकरी गर्नै जानिनस् । कुन कुल र घरानमा जन्मिनुपर्ने थियो, त्यो पनि तैले जानिनस्, बेकुफ । कुमाईसित गोरु बेचेको साइनोमा परेको भए तैँले स्वर्ण अवसर पाउने रहिछन् । यस्तैमा इटहरीका पुराना कांग्रेसी नेता तथा बौद्धिक व्यक्तित्वहरू कृष्ण अधिकारी र ध्रुवराज घिमिरेले पनि आफ्नै पार्टीका सरम लाग्दा उदाहरण दिँदै बिपी कोइरालाबाहेक कोइराला परिवारभित्र गोरु बेचेको साइनामा पर्ने जोसुकैले जेसुकै भ्याए र पाए । नातागोता इष्टमित्र घर र घरानाका सबैलाई खान र दिन जुनसुकै पार्टीका पनि लाग्दा रहेछन्, तिनले दुःखेसो पोखे ।

कुमाईको नाताका छेउछाउ पर्ने सबै उच्च, उन्नत र अब्बल । तर तिनका नातामा नपर्ने सबै नीच, निकृष्ट र कमसल । अहिले देश नै हल्लिरहेको अवस्थामा हसुर्न दिने र लिने यो कस्तो बेसरम तरिका हो ? के विभिन्न विषय र विधाका अर्थशास्त्री, वरिष्ठ र विशिष्ट व्यक्ति अरू कोही नै छैनन् र थिएनन ? योजना आयोगको उपाध्यक्ष बन्न योग्य धेरै थिए । यो लेखक दर्जनाँैको नाम दिनसक्छ तर तिनीहरू कुमाइका आफन्त र आसेपासेमा परेनन् ।

सहज अवस्थामा भए यी कांग्रेस र कम्युनिस्टहरूले देश त सतचूर्ण पार्ने रहेछन् । अहिले देवराज घिमिरे सभामुख हुनुहुन्छ । उहाँलाई नै एक अत्यन्त चलाख मात्र होइन त्यो भन्दा माथिका अत्यन्त अहंकारी र घमण्डले चूर खरेल थरि ओकिलले झण्डै प्रतिनिधिसभाको निर्वाचनमा चिप्ल्याए । घिमिरे बेलैमा सतर्क भएर गोप्यरूपमा माथिल्लै तहमा कुरा पु¥याउँदा आफ्नै क्षेत्रबाट प्रतिनिधिसभामा विजय हासिल गर्न सफल भए । कुमाइँको घुमाइ बुझिनसक्नु पो रहेछ त ।

फेरि यो सबलाई भनेको होइन नि । कुमाइ, कुमाइ हो दमाइँ दमाइँ हो र हुँदोरहेछ । तर यसलाई अभिधाका अर्थमा मात्र लिँदा समस्या हुन्छ । यसलाई लक्षणाका रूपमा यहाँ चर्चा गरिएको छ । दमाइँ नै पनि कुमाइँको नसनातामा जोडियो भने त्यसले उत्पात प्रगति गर्ने मौका पाउँदो रहेछ । नत्र घनश्याम खतिवडा थरि इमारदार तथा सिद्धान्तनिष्ठ नेता पछि पारिन्छन् । तिनले क्षमता अनुसारको कुनै काम पाउँदैनन् । सुनसरीलगायत जिल्लामा अमुक नेता र नेतीले एक होइन अनेक पद र प्रतिष्ठा पाउँछन् ।

रामप्रसाद चौलागाईं बालक कालदेखि सम्पूर्ण परिवारसहित आन्दोलनमा अझै होमिएका छन् उनी भुईँ तहदेखि पार्टी काम गर्दै अनुभव हासिल गरेका सशक्त युवा हुन् तर तिरष्कृत छन् । उपल्ला तहका नेताले जानेको भए इटहरी र धरान दुवै नगरमा स्थानीय तहको निर्वाचनमा राम्रै जित हासिल हुन्थ्यो । बढी जान्ने हुँदा हार्नुप¥यो ।

कामले काम सिकिन्छ । उमेर, अनुभव र योग्यताबाट मात्र वास्तविक ज्ञान पलाउँछ । चार कक्षा मात्र पढेकालाई १० कक्षामा लगेर राखियो भने त्यो असफल र अनुत्तीर्ण हुन्छ । घर परिवार र पतिका कारण पनि कतिपय कार्यकर्ता र नेता गुमनाम र बदनाम भएका छन् । जनताबाट एक भोट पनि बढाउन नसक्नेलाई चुल्ठो र टुपी समातेर प्रदेशसभा सदस्य र पार्टी केन्द्रीय सदस्य बनाइन्छ ।

एउटै मान्छे पार्टी अध्यक्ष, नगर इन्चार्ज, क्याम्पस सञ्चालक समिति अध्यक्ष र प्रदेश सभा सदस्य हुन्छन्, दिइन्छन् तर मिथिला, अमला श्रेष्ठ र सिर्जना नेपालीहरू सदा उपेक्षित हुन्छन् । एमाले र ओली मुर्दावाद भनेर सडक तताएर एमाले प्रवेश गरेको भए अहिले प्रदेश सभाको सदस्य भइने रहेछ मिथिला शर्मा भन्छिन् । तर भण्डारी र गौतमहरू सदा प्रोत्साहित हुन्छन् र तिनको नाम सिफारिस गर्ने भण्डारी र भट्टराई थरि पार्टी अध्यक्षकै वरिपरि छन् । इमानदार, अनुभवी र क्षमतावान् भए पनि तिनीहरू झापाली कुमाइमा परेनन् भने उपेक्षित हुन्छन् र ताप्लेजुङसित तिनको कुनै नसनाता पनि परेन भने ती सधैँ कथित नेताका पछुवा मात्र हुन्छन् ।

आफूले खाए पाए, सबैले पाए भन्न नसकिने कस्तो संस्कार पाएँछु मैले । म मेरै स्व.पिता पं.घनश्याम पोखरेल र स्व.आमा हरिमायालाई सम्झिरहेको छु । तपाईंहरूले आफ्ना सन्ततिलाई आफैँले आफूलाई ठग्ने कस्तो विद्या र संस्कार सिकाउनुभएछ, भन्दैछु । कुभिण्डे र उभिण्डे पोखरेल परेको भए पोखरेल नेताले काखी च्याप्थे पनि होलान् । के गर्नु सुभिन्डे पोखरेल हुनु नै ठूलो समस्या भयो । प्रदीप नेपाल थरि थर, गोत्र र प्रवर थरि अतिसंकीर्ण बाहुन पनि हुन सकिएन ।

प्रकृतिले अति र अतिचारको विरोध नै गर्छ, गरेको छ । दिउँसै रात पार्न खोजेपछि सूर्यलाई खपीनसक्नु जलन हुन्छ र टन्टलापुर भएर लाग्ने गर्छ । सूर्यको काम नै अन्धकारलाई खोजीखोजी नाश गर्नु हो र गर्नै पर्छ । अति भए पनि टिमटिमे बत्ती बालेर हुँदैन । राँको नै बाल्नुपर्छ र दिउँसै रात पार्नेलाई भष्म खरानी पार्नुपर्छ । असाध्य रोगसित पनि लड्ने सामथ्र्य मानिसलाई प्रकृतिले पनि दिएको हुन्छ । रोगसित लड्ने सामथ्र्य जिजीविषासित नै हुन्छ ।

त्यसैले एक्लै भए पनि अतिका विरुद्ध जे जस्तो आइपरे पनि यो लेखक लडिरहनेछ । यो कुनै चुनौती होइन, सम्झेदेखि चुनौती पनि हो । यो लेखकलाई मूलतः मेरो र हाम्रो स्वाधीन, स्वतन्त्र र अखण्ड देश चाहिन्छ । देश र जनता र जनसरोकारका लागि विचार व्यवहारको संगम पार्टी चाहिन्छ तर आफन्त पोस्ने पार्टी र नेता किमार्थ चाहिन्न । विकृति ग्र्रस्त नेता र राजनीतिका कारण तमाम देशवासीलाई देशप्रति नै विरक्तिको भावना जाग्दैछ । यो ज्यादै खराब अवस्था हो यो अवस्थालाई एमाले भन्ने पार्टीले अझ मलजल गर्ने हो र ? बिस्टा थोरै भए पनि गन्हाउँछ कमरेड, आफन्तका निम्ति हुरुक्क हुने नेताले आफ्नै सन्तति भए के सम्म गर्दा हुन् भन्ने भय व्याप्त देखिन्छ ।

जननेता मदन भण्डारीबाट इमान हुने कुरा सिकियो । जबजले यस्तै भन्यो । तर जबज नै नबुझ्ने र बढी बुझ्नेहरू यस लेखकको आलोचना गरिरहन्छन्, तिनले जबजमा उल्लेख गरिएको प्राज्ञिक स्वतन्त्रताको उल्टो व्याख्या गरिरहन्छन् । नेपाल बुद्धिजीवी परिषद्लाई मदनले पार्टी र नेतृत्वको समालोचक संस्था हो भन्नुभएको थियो तर प्रगतिशील खालका प्राज्ञिक तथा बौद्धिक संस्थाका धेरैजसो मान्छे जेजे बराजु उसैउसै स्वाहा मात्र मन पराउँछन् र एकोहोरो आँखा चिम्लेर आरती गानमा मस्त छन् । बरु यही लेखलाई सराप्न बेर छैन । चाकरीमै अभ्यस्त बुद्धि र प्रज्ञाहरू बेलैदेखि चाचुमा अभ्यस्त हुन सिक्दै हुनुहुन्छ र यसैका माध्यमबाट जो हात सोसाथ गर्नुछ । यो लेखकलाई कसैको अनावश्यक चाकरी गर्नु छैन ।

मदन भण्डारी फाउन्डेसन कोसी प्रदेशको दोस्रो सम्मेलन यही जेठ ६ गते इटहरीस्थित तालतलैयामा सम्पन्न भयो । यसको उद्घाटन गर्दै यसमा केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र पाण्डेले प्राज्ञिक सम्बोधन गरे । जबज जप्ने तर त्यसअनुसार फिटिक्क काम नगर्ने भन्दै उनले सारगर्भित विचार व्यक्त गर्नुभयो । बुद्धिजीवी लेखक र स्रष्टा र अझ सांस्कृतिक क्षेत्रका मानिसलाई दुई पैसेझैँ ठान्ने कुसंस्कार व्याप्त छ । तीन कार्यकाल राजसा महासंघको केन्द्रीय अध्यक्ष तथा सांस्कृतिक प्रमुख भएका खगेन्द्र राईहरू सदा चाकरीमा निर्लिप्त हुँदैनन् र हुन सक्तैनन् । अति प्रशंसा र अति निन्दाबाट बच्नुपर्छ भन्ने राईले पढेको माक्र्सवादी शिक्षा नै उनलाई घाँडो भएको होला ।

माकुने कालपछि एमाले पार्टी अब क्रमशः मात्रात्मक हुँदै गुणात्मक परिवर्तन होला भन्ने यस लेखकलाई लागेको थियो अझै आशा मरेको छैन तर आशा निक्कै कम हुन थाल्यो । एक किसिम चरम निराशा फैलिएको छ । यो लेख पढेर पोल लगाउनेहरूलाई एउटा होमवर्क भने हुने नै छ । सूर्यतिर फर्किएर जोसुकैले थुकोस् उसकै टाउकामा थुक पर्नेछ । यति बुद्धि पनि हेला र कतिपय नेतामा । चन्द्रमामा दाग हुन्छ भन्ने त स्पष्टै छ तर यतिबिघ्न धब्बा होला भन्ने अनुमान थिएन । एउटा समान्य बुद्धिजीवी र जनता नै भए चरम निराशाको स्थिति उत्पन्न भएको छ तर समष्टिमा हेर्दा चरम निराश नै हुनुपर्ने अवस्थाचाहिँ होइन तर नेताहरूले अख्तियार गरेको बाटोचाहिँ देशलाई नै भड्कालातिर तान्ने खालको देखिन्छ । पूर्व राजा महेन्द्रले आफ्ना निजा बहिनी ज्वाइँलाई जग्गा जमिनसितको मुद्दा हराएका प्रधानन्यायाधीशलाई उल्टो पुरस्कृत गरेका थिए । गुन त सबैको सम्झनुपर्छ र लिनुपर्छ । बैगुन आफ्नै भए पनि दुत्कार्नुपर्छ । आफ्नै त हो भनेर क्षयरोगलाई माया गर्नु हुँदैन । सत्ता र सरकारको मादले यस्ता कुरा सम्झाउँदैन । पानी पकाएर बाक्लो हुन्न मान्छे फकाएर आफ्नो हुन्न । यति कुरा पनि थाहा नपाउने नेता नेता हुँदैन । परोपदेशे पाण्डित्यम् अरूलाई अर्तीबुद्धि दिन सजिलै हुन्छ आफ्नो अर्ती आर्फैँ लिन निक्कै गाह्रो हुन्छ ।

प्रतिक्रिया