मोडलिङदेखि डान्स प्रशिक्षक यमुना

काठमाडौं । कलाकारिता तथा नृत्यमा भविष्य खोज्दै राजधानी काठमाडौं छिर्ने कैयौँ छन् । कलाकै माध्यमबाट समाजको विकास र सभ्यता कहाँ पुगेको छ भन्ने कुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने मापन गर्न सकिन्छ ।

रंगमञ्चमा भविष्य खोजिरहेका युवा रंगकर्मी विभिन्न कलात्मक गतिविधिसँगै करिअरको खोजी र जीविकोपार्जनका लागि संघर्ष गरिरहेका हुन्छन् । तीमध्ये कतिपयले कलाकारिताबाटै स्तरीय जीवनयापन गर्नसक्ने वातावरण बनाउन सफल भएका छन् भने कतिपय सफलताको संघर्षमै दौडिरहेको पाइन्छ ।

यहीबीचमा सफलताको फड्को मारेकी छन् नृत्यांगना यमुना रशाल । उनी यस क्षेत्रमा लागेको छोटो समयमै उत्कृष्ट गाला मोडलिङ प्रतियोगिताको कमर्सियल विजेता बन्न सफल भइन् । यस्तै, व्यवसायिक रुपमा आफ्नै डान्स स्टुडियो सञ्चालन गरेर प्रशिक्षण दिँदै आएकी छन् ।

यमुनाको यो सफलतालाई नजिकबाट चिन्ने केही कलाकारले प्रशंसासमेत गर्ने गरेका छन् । यमुना सानैदेखि नृत्यमा लगाव राख्ने र खारिएर परिपक्व भइसकेको लोकदोहोरी गायक यज्ञ बिक बताउँछन् । नृत्यांगना यमुनाले आफ्नो केही गीतको गीति भिडियोमा पनि अभिनय गरिसकेको गायक यज्ञले जनाए ।

उनले भने, ‘उहाँ (यमुना) नृत्यमा परिपक्व भइसकेको कलाकार हो, उहाँमा राम्रो अनुभव छ । मेरै गीतको केही म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नुभएको छ । उहाँलाई नृत्यमा व्यवसायिक रुपमा पनि मैले चिनेको छु ।’ पर्वतको शलिजामा जन्मिएकी यमुना सानैदेखि नृत्यमा आफूलाई निक्कै रुचि भएको बताउँछिन् ।

बाल्यावस्थामै हिँड्न सक्ने भएपछि रेडियो टेलिभिजनमा बज्ने गीत र भिडियो हेरेर आफू नाच्न थालेको उनले स्मरण गरिन् ।

‘सानैदेखि डान्समा रुचि थियो, जब म खुट्टाले राम्रोसँग हिड्न सक्ने भएँ त्यही समयबाट नाच्न थालेको घरमा बुवाआमाले मलाई सुनाउनुहुन्छ’, ‘यमुनाले भनिन्, ‘बिस्तारै ठूली हुँदै गएपछि विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा पनि सहभागी जनाएर आफ्नो प्रस्तुति दिँदै पुरस्कारसमेत प्राप्त गर्न थालेँ ।’

चार–पाँच वर्षअघिबाट मात्रै व्यवसायिक रुपमा यस क्षेत्रमा सक्रिय यमुनाले हालसम्म आधा दर्जन हाराहारी गीति भिडियोमा अभिनय गरेको जानकारी दिइन् । हाल काठमाडौंको सामाखुसीलाई कर्मथलो बनाएकी नृत्यांगना रशालले सरकारी धारामा ‘स्टेप्पिन डान्स स्टुडियो’ सञ्चालन गरेर अन्य नृत्य सिक्न आउनेलाई प्रशिक्षण दिइरहेको बताइन् । यमुनाले केही म्युजिक अवार्डसमेत हात पारिसकेकी छन् ।

केही महिना अगाडि राजधानीमा सम्पन्न एक समारोहबीच उत्कृष्ट नयाँ मोडलबाट ‘निम्स अवार्ड’ र उत्कृष्ट नेसनल ब्राण्ड म्युजिक अवार्ड’ प्राप्त गर्न आफू सफल भएको उनले बताइन् । उक्त अवार्डले कला क्षेत्रमा अघि बढ्न प्रेरणा मिलेको जनाउँदै यमुनाले विदेशका सांस्कृतिक कार्यक्रममा पनि आफूलाई अवसर आउन थालेको सुनाइन् ।

‘देशभित्र त समय मिलएर जाने गर्छु, तर ह्वात्तै विदेशका कार्यक्रममा जाँदा फेरि डान्स स्टुडियो केही दिनका लागि छाड्नु पर्छ’, उनले भनिन्, ‘अहिले सिक्न आउनेलाई प्रशिक्षण दिन छुटाउन पनि भएन ।’ स्टुडियोलाई अझै गुणस्तरीय बनाएर लैजाने यमुनाले बताइन् ।

प्रतिक्रिया