गायक नरेन्द्र रावलले ल्याए ‘पैसाका रुख छन की’ (भिडियोसहित)

धनगढी । सुदूरपश्चिमका चर्चित लोक, देउडा गायक तथा सञ्चारकर्मी नरेन्द्र रावलले ‘पैसाका रुख छन की’ बोलको मौलिक देउडा दोहोरी गीतको भिडियो ल्याएका छन् । रावलले सोमबार आफ्नो युट्युब च्यानलमामार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रदेशीका कथा, व्यथाहरुको चित्रण गरिएको उक्त देउडा गीतमा गायक नरेन्द्र रावल, भुवनप्रसाद दाहाल र गायिका पवित्रा भण्डारीको स्वर रहेको छ । गायक रावलको आफ्नै शब्द संगीतमा रहेको उक्त देउडा गीतको भिडियोमा दिपक रावल र चर्चित मोडेल झरना बोहराको अभिनय रहेको छ ।

सुरेन्द्र संगमले निर्देशन,अमीत विकले छायांकन तथा सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियो सुदूरपश्चिका ओलीगाउँ, दोधारा–चाँदनी, टीकापुर पार्क, घोडाघोडी ताल, कर्णाली पुल जस्ता पर्यटकीय स्थलमा छायांकन गरिएको छ ।

‘यो गीतको अडियो २०५९ सालमा रेकर्ड गरिएको थियो’ रावलले भने, ‘त्यो समयमा क्यासेट चल्थे, त्यो बेला धेरै चलेको गीत हो, त्यसकारण अहिले भिडियो छायांकन गरि दर्शक माँझ ल्याएको हुँ ।’ यो गीतको भिडियोले दर्शकको माया पाउने उनको विश्वास छ ।

हरेक देउडा गीत संगीतमा आफ्नै मौलिकता र नयाँ पनको झल्को देखिने गीत ल्याउने गरेका रावलले यसअघि ‘फूलिजा शान्तका फूल’, ‘सिरानीमा आँसु, ‘धन्य पीरतिका खेल’, ‘अपूरा सैना’ लगायत दर्जन बढी गीती क्यासेटहरु बजारमा सार्वजनिक गरि सकेका छन् ।

त्यस्तै ‘सुदूरपश्चिम मेरा ढकमक्क फूली’, ‘गौड्या भेट’ उनका लोकप्रिय गीत हुन् । ‘गौड्या भेट’ गीतमा रावलले २०६५ सालमा उत्कृष्ट अवार्ड समेत जितेका थिए ।

प्रतिक्रिया