मिलन नेवारको सहकार्यमा लक्ष्मण श्रीले ल्याए ‘म तिम्रै डल्ले हो’

काठमाडौं । गायक तथा मोडल लक्ष्मण श्रीले गायिका मिलन नेवारको सहकार्यमा ‘म तिम्रै डल्ले हो’ नामक नयाँ गीतको भिडियो ल्याएका छन् । एकनारायण भण्डारीको शब्द रचना रहेको उक्त गीतमा आशिष अविरलले संगीत दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार भेटघाटसँगै गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका मिलन र गायक लक्ष्मणकाे युगल आवाज रहेको गीतमा एकले अर्कोलाई माया प्रेमका भाव प्रकट गरेका छन् ।

त्यस्तै, डान्सिङ बिटमा तयार भएको गीतको भिडियोमा ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका छन् भने पवन सुश्लीङले छायांकन गरेका हुन् ।

सोही भिडियोमा निर्देशन गरेका सरोज अधिकारी, मोडल आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकालको नृत्य रहेको छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा यसभन्दा अघि पनि दर्जनौँ गीतमा आवाज दिनुका साथै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेको जानकारी दिँदै गायक लक्ष्मणले यस पट केही फरक एवं पृथक गीत र भिडियो ल्याएको बताए ।

साथै, गीतको भिडियोलाई नृत्यमा सुहाउने मोडल सरोज अधिकारी, आश्मा विश्वकर्मा र स्मारिका ढकाललाई छनोट गरेको उनले सुनाए । उक्त भिडियोले बजारमा राम्रै चर्चा पाउने पनि गायक लक्ष्मणले विश्वास व्यक्त गरे ।

उनले भने, ‘यस पटकको गीत र भिडियो दुवैमा केही फरक र पृथक विषयवस्तु समावेश छन्, विगतमा पनि म आफैले आवाज दिएका गीत र भिडियोहरुले बजारमा राम्रै चर्चा पाएका थिए, अहिलेको गीतले पनि राम्रै सफलता प्राप्त गर्छ भन्नेमा विश्वास लिएको छु ।’ गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

आफूले यही गीत संगीतमार्फत विभिन्न क्षेत्रमा समाजसेवा गरेको समेत गायक लक्ष्मणले जानकारी दिए । त्यसै गरी भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार ऋषी धमलाले देशमा अहिलेको मौलाउँदो भ्रष्टाचार र राजनीतिक दलमा भइरहेको विभिन्न गतिविधिका विषयमा पनि कलाकारले आवाज उठाउनुपर्ने बताए ।

गायक लक्ष्मण श्रीले अहिले ल्याएको गीत र भिडियो माया प्रेमको भावनामा ओतपोत भए पनि हाल देशमा भइरहेको भ्रष्टाचारका विषयमा पनि गीतमार्फत नै आवाज उठाउन धमलाले आग्रह गरे ।

त्यसैगरी एपी १ टेलिभिजनमा ‘तमसोमा ज्योतिर्गमय’ का सञ्चालक टिकाराम यात्रीले कलाकार राज्यको अंग भन्दै आफूले गीत संगीत मन पराउने बताए । साथै, कुनै पनि कलाकारले अहिलेको अवस्थालाई मात्र मध्यनजर गरेर गीत सिर्जना गर्ने र म्युजिक भिडियो बजारमा ल्याउन नहुने बताए ।

कलाकार सधैँ एकैनास टिकिरहन सक्नुपर्ने भन्दै विगतदेखि भविष्यलाई पनि हेरेर अघि बढ्न उनले सुझाव दिए । ‘कलाकारहरु राज्यको एक अभिन्न अंग हो, तपाईँहरु सधैँ एकैनास टिकिरहन आवश्यक छ’, पत्रकार यात्रीले भने, ‘क्षणिकलाई मात्र हेर्नु हुँदैन, भविष्यलाई पनि मध्यनजर गरेर अघि बढ्नुस् ।’

प्रतिक्रिया