गायनदेखि उद्घोषणसम्म राजेशको पहिचान

काठमाडौं । गायनबाट सांगीतिक क्षेत्रमा उदाएका राजेश बर्देवाले कलाकारितासँगै उद्घोषणमा समेत पहिचान बनाउन सफल भएका छन् । समधुर आवाजसँगै देशमा हुने विभिन्न सांगीतिक कार्यक्रम सञ्चालनको भूमिकामा समेत उनी देखिने गर्दछन् ।

गायनमा पहिचान बनाएका राजेशले पछिल्लो समय धेरै गीतमा संगीत संयोजन गरेका छन् । स्टेज कार्यक्रममा प्रस्तुतिका लागि पनि अब्बल मानिने गायक राजेश नेपाली गीत संगीतको क्षेत्रमा कैयौँ कलाकारमध्ये एक प्रतिभासाली गायक हुन् । तीन दर्जन बढी लोकदोहोरी गीतमा आवाज दिएका उनी अन्य विधाका गीतमा समेत आवाज दिन आफू सक्षम रहेको बताउँछन् ।

‘तिमी चाहिन्छ’, ‘गितार बजाइदेउ’, ‘माया जालमा पार्यो मायाले’, ‘फल मिठो,’ ‘मत सानु विरानो गाँउको हो,’ ‘डोको चोयाको’, सुन मेरा फ्यान्स,’ ‘आज पानी नपरे हुन्थ्यो,’ ‘आयो दशैँ तिहार’, ‘कान्छीलाइ पट्यायो झिल्केले,’ ‘नाच मुइया घुम्ती निर सिसाको ऐना’, ‘आइफोन सेभेन’ बोलका यी गीतमा गायक बर्देवाले आवाज दिएका छन् ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा जन्मिएका राजेश सञ्चारकर्मीका रुपमा समेत चिनिन्छन् । काठमाडौंलाई कर्मथलो बनाएर बसेका उनी हालसम्म वैदेशिक सांगीतिक कार्यक्रमको लागि संयुक्त अरब इमिरेट्स (युएई) मलेसिया र सिंगापुरसम्म पुगेको सुनाए ।

हालसम्म आफूले विभिन्न विधाबाट झण्डै आधा दर्जन अवार्ड हात पारिसकेको राजेशले बताए । सानैदेखि गीत संगीतमा लागेका उनले विद्यालयमा अध्ययनका क्रममा प्रायः प्रथम स्थान हासिल गरेको उनले सुनाए । उनी विद्यालयमै हुने सांस्कृतिक कार्यक्रममा भाग लिँदै आएको र बेलाबेलामा पुरस्कारसमेत पाएको उनले जनाए ।

त्यतिबेला अहिलेको जस्तो प्राविधिक रुपमा युट्युबलगायत विभिन्न स्रोतसाधनको पहुँच थिएन । तर, संघर्ष गर्दै यो स्थानसम्म आउन आफू सफल भएको राजेश बताउँछन् । ‘मेरो बाल्यकाल बागलुङमै बित्यो, सानैदेखि गीत संगीतको नशाले छोइसकेको थियो’, उनले भने, ‘त्यो समय अहिलेजस्तो प्राविधिक स्रोतसाधनको पनि कमी, गीत गुनगुनाउन रेडियो र टेलिभिजनको सहारा लिनुपर्ने हुन्थ्यो ।’

अहिले कतिपय चर्चा कमाएका लोकदोहोरी कलाकार बागलुङमै जन्मिए पनि उनीहरु गीत संगीतमा भविष्य खोज्न राजधानी काठमाडौं आएर बसेकाले त्यो समय ती कलाकारसँग प्रत्यक्ष भेटेर सल्लाह–सुझाव र केही सिक्ने मौकाबाट पछि परेको तितो अनुभव रहेको राजेशले सुनाए ।

उनले भने, ‘हाम्रै बागलुङमा जन्मिएर अहिले बजारमा राम्रै चर्चा कमाउनुभएका धेरै दाइ दिदी हुनुहुन्छ, उहाँहरुले गाएका गीत रेडियो र टेलिभिजनमा त सुनिन्थ्यो तर उहाँहरुसँग प्रत्यक्ष भेटेर सल्लाह–सुझाव लिने र सिक्ने मौका मिल्दैन थियो, तर रेडियो र टेलिभिजनमा उहाँहरुले नै गाएका गीत सुनेर म आफै पनि गुनगुनाउने गर्दथेँ ।’ संघर्षबाटै सफलता प्राप्त हुनेमा आफ्नै संघर्षको फलबाट सफलता पाएको उनले बताए ।

एक पटक भेट भएका व्यक्तिसँग फेरि–फेरि पनि भेटेर मित्रता राख्ने कलाकारको रुपमा राजेश परिचित छन् । उनलाई नजिकबाट चिन्नेहरुले पनि राजेश लगनशील र मिजासिलो भएको बताउँछन् । लोकदोहोरी गायिका पूर्णकला बिसीले राजेश गाउँमा संघर्षसँगै खारिएर यो स्थानमा आएको बताइन् ।

उनले सरल, इमानदार, सांगीतिक र उद्घोषणमा अब्बल व्यक्तित्वको रुपमा आफूले राजेशलाई चिनेको सुनाइन् । आफूले पनि राजेशसँग केही गीतमा सहकार्य गरेको सुनाउँदै पूर्णकलाले राजेश मिलनसार व्यक्ति भएको बताइन् । उनले भनिन्, ‘मैले पनि उहाँसँग केही गीतमा सहकार्य गरेकी छु । राजेशमा सहने शक्ति पनि छ र इमानदारिता छ, गायनसँगै उद्घोषण उहाँमा पहिचान छ ।’

अर्का गायक राजु परियारले पनि राजेशको खुलेर तारिफ गर्छन् । राजेशमा यी सबै प्रतिभा हुनु उनको संघर्षको फलसँगै भगवान्को देन भएको समेत गायक राजु बताउँछन् । ‘राजेश भाईको आफ्नै संघर्ष र प्रतीभा त छ नै, तर यी सबै प्रतिभा हुनुमा भगवानको नाम पनि जोडिन्छ’, गायक राजुले भने, ‘भगवानले भन्नुहुन्छ नि ! तैँले आँट मैले पुर्याउँछु, राजेश भाइले आँट्नुभयो र भगवानले पुर्याउनुभयो ।’

यता राजेशले नेपाली गीत संगीतको तथ्य बिगारेर मौलिकतामाथि प्रहार गर्नेको लागि आफूविरोधी रहेको बताए । पछिल्लो समय बजारमा आएका केही गीतले मौलिकताको हनन् गरेकोमा आफूलाई खल्लो महसुस् भएको उनले बताए ।

‘गीत संगीतमा लागेका सबै कलाकार एकै प्रकारका हुँदैनन्, तर केही कलाकारले बाटो बिराए भने सबैलाई एकै नजरले हेर्न पनि भएन’, राजेशले भने, ‘चामलमा बियाँ त भइहाल्छ, सांगीतिक क्षेत्रमा केही विकृति भएको पनि चामलमा बियाँजस्तै हो ।’ गायक बर्देवाले कतिपय छाडा प्रवृत्तिका गीतलाई आफू आबद्ध टेलिभिजन र रेडियोमार्फत खबरदारी गरेको पनि बताए ।

प्रतिक्रिया