पर्सा । नेपाल–भारतको सीमावर्ती पर्सा जिल्लाको जानकिटोला–२ जगरनाथपुर गाउँपालिकामा मंगलबार श्री विष्णु सहस्त्रनाम महायज्ञको कलश यात्रा भएको छ । उक्त कलश यात्राको शुभारम्भ प्रमुख अतिथी जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले यज्ञशालास्थलको रिबन काटेर गरेका थिए ।
कलश यात्रामा १ हजार १ सय ५१ कन्याहरूले भाग लिएका थिए । उक्त महायज्ञमा जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले १० लाख नगद १ लाखको फ्रुटी र २५ हजारको प्रसादी स्वरूप ११ लाख २५ हजार चन्दा सहयोग गरेका छन् । बाजा गाजा, र घोडदौरको साथमा गरिएको कलश यात्रा जानकीटोला यज्ञस्थलबाट भिखमपुर, पिपरा हँुदै लक्ष्मीपुर, जमुनिया, गढहिया, पाण्डेपुर, दसौता गाउँको परिक्रमा गर्दै रैनीझैनी मन्दिरको नजिक उत्तरबाहिनी ओरिया नदीमा पुगी जल भरेर पुनः यज्ञस्थलमा आएको थियो ।
उक्त कलश यात्रामा नेपाल भारतका हजारौँको संख्यामा भक्तजनको सहभागिता रहेको थियोे । कलश यात्रामा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन यादव, वडा अध्यक्ष नेपाली कुशवहा, महायज्ञका पुजारी प्रवचनकर्ता पंडित उपेन्द्र परासर, हरिद्वारका प्रवचनकर्ता पंडित पवन भरद्वाज, सशस्त्र का डिएसपी प्रमोद खडका, इप्रका जगरनाथपुरका सई वीरेन्द्र साहलगायत स्थानीयको उल्लेखनीय जनसहभागिता रहेको थियो ।
उक्त महायज्ञमा हिन्दू, मुस्लिम र दलितहरूको सहयोग रहेको र यज्ञस्थलमा दलितहरूसहित ८५ जनाले चौका बस्ने गरेको आयोजक समितिले जनाएको छ । भारत तथा नेपालका पण्डित तथा साधु महात्माले प्रवचनको माध्यमद्वारा ज्ञानको सन्देश दिने आयोजक समितिले जनाएको छ । महायज्ञमा विभिन्न किसिमका मनोरञ्जनका लागि मौतकुवा, झुलवा र पसलहरू राखिएको छ । साथै नेपाल–भारतका गायकहरूको पनि व्यवस्था गरिएको छ ।
उक्त महायज्ञ मंगलबारदेखि ११ दिनसम्म चल्ने महायज्ञका अध्यक्ष पूर्व गाविस मुखिया कृष्णमोहन यादवले जानकारी दिएका छन् । धर्मको रक्षा र प्रचारप्रसार हुनुका साथै महायज्ञबाट विभिन्न ज्ञान प्राप्ति हुने बताए । नेपाल र छिमेकी देश भारतमा शान्ति छाओस् भन्ने उद्देश्यले जानकीटोलमा पहिलोचोटी महायज्ञ गरिएको आयोजक समितिले जनाएको छ ।
पर्सा
प्रतिक्रिया