महोत्तरी । महोत्तरीको गौशालामा विष सेवनको क्रममा मृत्यु भएको भनिएकी आरती देवीलाई श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान उमेश साहलाई आइतबार बिहान पक्राउ गरेको छ ।
मलहनिया पोखरी बस्ने उमेशले आत्महत्या दुरूत्साहन गरेको बताउदै परिवारसहितको मिलोमतोमा आफ्नी छोरीलाई आत्महत्याको नाममा हत्या गरेको मृतकका बुबा वली साहले बताए । ‘अनुहार राम्रो भएन भन्दै मेरी छोरीलाई ज्वाइले दैनिक कुटपिट गरिरहन्थे,’ उनले भने, ‘सबै मिलेर हत्या गरेको नै हामीलाई आशंका छ ।’
ज्वाइँ र छोरीको विवाद निकै बढेपछी केही दिन अगाडि वली छोरीको घरमा आएका थिए । वलीको अगाडि नै छोरीलाई कुटपिट गरेको पनि स्थानीय प्रत्यक्षदर्शीले बताए । स्थानीय निरन्जन साहका अनुसार उनीहरुबीच लामो समयदेखि नै झगडा हुँदै आएको थियो । ‘झगडाको वास्तविक कारण थाहा नभए पनि झगडा भइरहन्थ्यो,’ उनले भने ।
मृतक आरतीदेविले श्रीमानको दिएको यातनाको बिषयमा पटक–पटक हारगुहारसमेत गरेकी थिइन् । स्थानीय पत्रकारसमेत रहेका निरन्जन साहले भने, ‘उनले झगडा मिलाइदिन र यातनाबाट मुक्त बनाइदिन हामीसगँ दर्जनौँपटक अनुरोध पनि गरेकी थिइन् ।
गत मंसिरमा आरतीदेवी बहिनीको विवाहमा जनकपुरस्थित बेलामा गएकी थिइन् । घरमा बस्दा श्रीमान र सासुको यातना भोगिरहेकी आरती २ महिनाजति माइतमा नै बसिन् ।
घर फर्केपछि यही विषयलाई लिएर श्रीमान र सासुले यातना दिन सुरु गरेको उनले टेलिफोनमार्फत आफ्नो भाइ र बुबालाई सुनाउदै आएकी माइतीपक्षको भनाइ छ ।
भाइ गोविन्द साहका अनुसार दिदी आरतीलाई सवैभन्दा बढी यातना सासु र नन्दले पनि दिने गरेका थिए । घटना भएको दुई दिन अगाडि आरतीकी नन्द आशा कुमारी साह घरवाट आएकी थिइन् । उनी आएकै समयमा विष खुवाएर आफ्नी छोरीको हत्या गरेको आरतीका हजुरबुबा बुझाउन साहले बताए ।
मृतक आरतीको शवलाई बर्दिबासस्थित इलाका प्रहरीले मुचुल्का गरेको छ । उता गौशाला इलाका प्रहरी कार्यालयले भने घटना वादविवादवाट सुरु भए पनि अन्य विषयमा भने अनुसन्धान भइरहेको जनाएको छ ।
मृतकका जेठाजु विनोद साहले घरझगडा भए पनि माइत पक्षले आरोप लगाएजस्तो नभएको जिकीर गरे । ‘उनीहरुको झगडा हुन्थ्यो । तर, आरोप लगाएजस्तो भने हैन,’ उनले भने । उपचारको लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा ल्याइपु¥याएका आरती साहको उपचारको क्रममा नै मृत्यु भएको थियो । ‘आरतीलाई ल्याउँदा उनको श्वास चले पनि ब्लड प्रेसर शून्य थियो,’ उपचारमा सग्लन चिकित्सक डा. सन्तोष यादवले भने , ‘ल्याउनेबित्तिकै उपचार सुरु गरेको र उपचार सुरु गरेको १५ मिनेटभित्र नै उनको मृत्यु भयो ।
मृतक आरतीले मुसा मार्ने विष सेवन गरेको हुनसक्ने उनको अनुमान छ । ‘पोष्टमार्टमपछि थप कुरा खुल्ला । तर, हामीले ज्यानको निलडामको विषयमा खासै याद गरेनौँ,’ उनले भने । आरतीलाई उनकै श्रीमान उमेश साहले अस्पताल ल्याएको पनि अस्पताल प्रशासनले जनाएको छ । ‘उनका श्रीमान उपचारकै क्रममा पनि निकै आत्तिएका थिए । उनी रोइरहेका थिए, चिच्याउदै थिए,’ अस्पतालका व्यवस्थापक शम्भुप्रसाद साहले भने । मृतक आरतीका तीन वर्षकी छोरी र ९ वर्षीय छोरा छन् । मृतकका श्रीमानलाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया