म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

गलेश्वर । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसँग ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाटले बताए ।

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजंगलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।

प्रतिक्रिया