स्थानीय तहसम्म ज्ञान र प्रविधि पुर्याउँदै कोइका स्वयंसेवक

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा सञ्चालन गरेका स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक साझेदार संस्थाहरूसँग परामर्श कार्यशाला आयोजना गरेको छ ।

कार्यशालाको प्रारम्भ गर्दै कोइका नेपालका देशीय निर्देशक मुहोन कोङले स्वयंसेवक परिचालन गरिएका संस्थाहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै कोइका स्वयंसेवक कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा ती संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले ज्ञान, सीप र विशेषज्ञताको आदानप्रदानमार्फत साझेदार देशहरूको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउनुका साथै कोरिया र साझेदार मुलुकबीच मित्रता, आपसी समझदारी र सहकार्य प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।

अर्थ मन्त्रालयका उपसचिव अर्जुन ढकालले सन् १९९१ यता कोरिया ‘ओभरसिज भोलिन्टियर्स’ले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।

उनले शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्वयंसेवकहरूले ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्दै परिश्रम, समयपालन र समर्पणजस्ता मूल्य स्थापित गर्न सहयोग गरेकामा कोरिया सरकारप्रति आभार व्यक्त गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले स्थानीय तहसम्म ज्ञान र प्रविधि पुर्याएर कोरियाली स्वयंसेवकहरूले नेपाल र नेपालीलाई ठूलो गुन लगाएको बताए । कार्यशालामा कोइका नेपालले कोरिया ओभरसिज भोलिन्टियर्स कार्यक्रमसहित विभिन्न विकास सहकार्य पहलका बारेमा जानकारी गराएको थियो ।

त्यस अवसरमा कास्कीस्थित गौरीशंकर माध्यमिक विद्यालयमा प्रारम्भिक बालविकास स्वयंसेवकका रूपमा कार्यरत मिह्युन स्युङले बालविकास शिक्षामा आफूले गरिरहेका गतिविधिबारे जानकारी गराए ।

त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिकामा पर्यटन स्वयंसेवकका रूपमा कार्यरत स्युङचुल काङले दक्षिण कोरियाको जेजु क्षेत्रलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको अनुभव प्रस्तुत गर्दै नेपालमा दिगो पर्यटन प्रवद्र्धनका सम्भावनाबारे धारणा राखे ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार सेवा कास्कीका प्रतिनिधिले कोइकाको सहयोगमा सञ्चालित एक परियोजनाको अनुभव साझा गर्दै प्राप्त उपकरणहरूले रक्तदानसम्बन्धी गतिविधिमा सकारात्मक परिवर्तन ल्याएको बताए । उनले स्थानीय संस्थाको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय स्वयंसेवी सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा महेन्द्रकुमार बुढाथोकीले कोइकासँगको लामो सहकार्य र कोरियाली स्वयंसेवकहरूको योगदानको चर्चा गर्दै हाल त्रिभुवन विश्वविद्यालयले कोरियाली भाषा शिक्षाको स्नातक तहको पाठ्यक्रम स्वीकृत गरिसकेको सन्दर्भमा थप स्वयंसेवक परिचालन हुने अपेक्षा व्यक्त गरे ।

कोइका एलुम्नाइ एसोसिएसन अफ नेपाल (कान) का अध्यक्ष नवराज गौतमले कोरियाली संस्कृति, सामाजिक व्यवहार र नेपालसँगका समानताबारे प्रस्तुति दिएका थिए । उनले स्वयंसेवकहरूको ज्ञान र अनुभवको अधिकतम उपयोग गर्न साझेदार संस्थाहरूलाई आग्रह गरे ।

ललितपुरमा शुक्रबार आयोजित कार्यशालामा स्वयंसेवकसँग सम्बन्धित साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालय तथा विभागका अधिकारी, कोइकाका कर्मचारी र ‘कोरिया ओभरसिज भोलेन्टियर्स’’ गरी ४७ जनाको सहभागिता थियो ।

प्रतिक्रिया